२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

पोखराका पर्यटन व्यावसायी भन्छन्ः व्यावसायीबाटै पाहुनालाई ‘ह्यारेसमेन्ट’ भयो

पोखरा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई बाटोमै रोकेर विभिन्न प्रलोभन देखाउँदै आफ्नो होटलमा जान दवाव दिने गरेको भन्दै यहाँका पर्यटन व्यावसायीले आपत्ति जनाएका छन्। लेकसाइडकै एकथरी व्यावसायीले पाहुनालाई बलजफ्ती गरेर आफ्नो होटलमा बस्न जानका लागि दवाव दिने गरेको अरु व्यावसायीको आरोप छ।  

केही समय अघि व्यावसायीको यस्तै गुनासो पछि पोखरा भित्रिने मुख्य सडकमा बसेर प्रहरीले अनुगमन समेत गरेको थियो। प्रहरीको कडाईपछि त्यो बेला केही समय रोकिएको जर्बजस्ती पाहुना तान्ने शैली अहिले फेरि दोहोरिएको उनीहरुको भनाई छ। व्यवासायीका अनुसार पोखरा भित्रै संचालन गरिएका कतिपय होटल व्यावसायीले पोखरा भित्रिँदै गरेका पाहुनालाई विभिन्न प्रलोभन देखाउँदै आफ्नो होटलमा जान बाध्य बनाउने गरेका छन्।  

सिद्धार्थ राजमार्ग हुँदै भित्रिने पाहुनालाई पछ्याउँदै छोरेपाटन, पृथ्वी राजमार्ग हुँदै भित्रिने पाहुनाका लागि पृथ्वीचोक र हेम्जा हुँदै भित्रिने पाहुनाका लागि बगर क्षेत्रमा खटिएका ती व्यावसायीले पाहुनालाई विभिन्न प्रलोभनमा पारेर आकर्षण गर्ने, जर्बजस्ती आफ्नो होटलमा जान दवाव दिने, आफुले भनेको नमानेमा धम्काउने समेत गर्दै आएको व्यावसायीको आरोप छ। व्यावसायीको यस्तो दवावमा धेरैजसो आन्तरिक र भारतीय पाहुना पर्ने गरेका छन्।

‘पोखरा भित्रिने पाहुनालाई बजारका चोकचोकमा बसेर एकथरी होटल व्यावसायीले ‘ह्यारेसमेन्ट’ गर्ने गरेका छन्,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘पाहुनालाई आफुखुसी हिडडुल र बसोबास गर्नबाट बञ्चित गरिएको छ। यसअघि पनि यस्तै गुनासो आएपछि प्रहरीले अनुगमन गर्दा केही समय यो समस्या कम भएको थियो। अहिले फेरि त्यस्तै अवस्था दोहोरिएको छ।’ उनका अनुसार पाहुनालाई लोभ्याउने र तान्न जानेमा बजारभित्रैका होटलका संचालक र कर्मचारी नै हुन। 

‘होटल व्यावसायीले नै यो काम गरेका हुन। तर, होटलले गरेको सबै शैली राम्रो मान्न सकिन्न,’ उनले भने, ‘हामी व्यावसायी पनि सुध्रिनुपर्छ। पाहुनालाई जर्बजस्ती गर्ने होईन। पाहुनाको इच्छा अनुसार चल्ने हो।’

व्यावसायीका अनुसार निजी सवारीमा पोखरा भित्रिने पाहुनालाई छोरेपाटन, विरौटाचोक, सिर्जनाचोक, जिरो किमि., जरेवर, हल्लनचोक, राष्ट्रबैंक चोक लगायतका चोकमा पर्खेर बस्ने होटलका कर्मचारी तथा संचालकले पाहुनाको पिछा गर्ने गरेका छन्। मोटरसाइकलमा कुरेर बस्ने उनीहरुले पाहुना सवार सवारी देख्नासाथ पछ्याउने र आफ्नो होटलमा बस्न जानका लागि दवाव दिने गरेका छन्।  

‘गौंडा कुरेर बस्ने व्यावसायीले पाहुना देख्नासाथ अघिल्तिर गएर जर्बजस्ती रोक्न लगाउने र अनेक प्रलोभन देखाउने गरिएको छ। यस्ता गतिविधिले कहिलेकाँही दुर्घटनाको जोखिम पनि हुने गरेको छ,’ उनले भने,‘ शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकलाई विभिन्न प्रलोभन देखाउने, बलजफ्ती गरी त्रसित गराउने गरेका छन्।’ पोखरा आउने  पर्यटकलाई सुरक्षित र स्वेच्छाले होटलमा जाने वातावरण नभएको हुँदा उक्त कार्यलाई निरुत्साहीत गर्न जरुरी रहेको पनि उनले बताए।  

व्यावसायीले लेकसाइडका होटल २४ सै घन्टा चलाउन आवश्यक नरहेकोले समय परिवर्तन गरिदिन आग्रह गर्दै केहीदिन अघि कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा रात्रीकालिन व्यावसायसँग सम्बन्धित रहेर यसअघि जारी गरिएको ४२ बुँदे आचारसंहिता कार्यन्वयन गर्नुपर्ने पनि व्यावसायीले बताएका छन।  

पोखरालाई २०८० चैत्र ४ गते पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयको अवसर पारेर २४ सै घण्टा खुला रहने घोषणा गरिएको थियो। पोखरामा पर्याप्त पाहुना भित्र्याउने उद्देश्य सहित सुरक्षा निकाय र व्यावसायी मिलेर आचारसंहिता जारी गरिएको थियो। त्यो बेला लेकसाइड, ड्यामसाइड लगायतका क्षेत्रमा २४ सै घण्टा व्यावसाय सञ्चालन गर्न दिने सहमति बनेको थियो। उक्त आचारसंहिता पालना हुन नसक्ने व्यावसायको हकमा राती ११ बजे नै व्यावसाय बन्द गर्नेुपर्ने र स्थानीय प्रशासनले अनुगमन गर्ने भनिएपनि अनुगमन हुन नसकेको व्यावसायीको भनाई छ।  

‘सबै खालका पसलले मदिरा बेच्ने, सडकमा अनावश्यक हो–हल्ला गर्ने, रातभरी ठुलो आवाजमा मोटरसाइकल दौडाउने, समाजमा शान्ती सुरक्षा खलल पुर्याउने, पर्यटक तथा स्थानीयबासीलाई त्रसित तथा आतंकित पार्ने काम भएको पनि व्यावसायीको गुनासो छ।  

प्रकाशित: ३ जेष्ठ २०८३ १७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App