१६ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

पोखराका होटलः आन्तरिक पाहुनालाई २५ प्रतिशत छुट

पर्यटकीय क्षेत्र लेकसाइड र त्यहाँ संचालित होटल। तस्बिरः नागरिक<br>

नेपाली नयाँवर्षका अवसरमा पोखरा आउने आन्तरिक पाहुनालाई यहाँका होटल व्यावसायीले २५ प्रतिशत छुट दिने भएका छन्। आन्तरिक पाहुनालाई आकर्षिक गर्न होटलले प्रकाशित गरेको दररेटमा छुट दिने घोषणा व्यावसायीले गरेका हुन्।

होटल संघ पोखराले आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न छुटको प्याकेज ल्याएको बताएको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पाहुनालाई पोखरामा तान्नका लागि छुटको प्याकेज ल्याएको र छुट दिएको बताए। ‘पोखरामा आन्तरिक पाहुना बढाउने उद्देश्य अनुसार छुट घोषणा गरेका हौ। छुटले पाहुनाको बसाई अवधि र आगमन संख्या पनि बढाउनेछ,’ उनले भने।  

नेपाली नयाँवर्षको अवसरमा यही चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २१ औं फेवा नववर्ष महोत्सवमा सहभागिता बढाउनका लागि छुट दिएको उनले बताए। 

‘हामीले ‘जाउँ है पोखरा’ अभियान संचालन गरेर पूर्वी क्षेत्रका आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाएका छौ,’ उनले भने, ‘हामीले छुट बाहेक अरु प्याकेज पनि सार्वजनिक गरेका छौ। आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाएका छौ। हाम्रो निम्ता स्वीकार गरेर पाहुना आउनेछन।’  

होटल संघ पोखरामा आवद्ध सदस्य होटलले पाहुनालाई छुट दिनेछन्। पाहुनालाई दिइने छुटले पोखराका होटलमा पाहुना आकर्षित हुने उनले बताए। संघका अनुसार पोखराका करिब ५ सय होटल संघमा आवद्ध छन्। पोखरामा भित्रिने आन्तरिक पाहुनाले सहरभित्र मात्र नभई आसपासका क्षेत्रका होटल क्षेत्रलाई पनि फाइदा दिलाउने उनले बताए।

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई पहिलो रोजाईको पर्यटकीय गन्तव्य बनाउने गरी बोर्डले निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताए।

‘पोखरामा आन्तरिक पाहुनाले यहाँको पर्यटन क्षेत्रका कम्तिमा ५० प्रतिशत योगदान दिएका छन्,’ उनले भने, ‘आन्तरिक पाहुनाले पोखराको पर्यटन क्षेत्रमा ठूलो योगदान दिइका छन्। आन्तरिक पाहुनाकै कारण पोखराको पर्यटन क्षेत्रले राहत महसुस गरेको छ।’  

मध्यपूर्वमा जारी तनावका कारण नेपालको पर्यटन क्षेत्र निकै नै प्रभावित भएको पनि उनले बताए। ‘यो बेला विदेशी पाहुनाको समय हो। तर, मध्यपूर्वको तनावका कारण अहिले सिजनको मुखमा पनि पर्यटन क्षेत्रले सोचेजस्तो गति लिन सकेको छैन। त्यसैले यो बेला आन्तरिक पाहुना नै जरुरी छ,’ उनले भने, ‘जल, जमीन र आकाश सबै क्षेत्रका गतिविधिमा पर्यटकीय पोखराले आफ्नो पहिचान बनाएको छ।’

प्रकाशित: १६ चैत्र २०८२ १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App