२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

नाडा अटो शोमा ‘उड्ने कार’, प्रधानमन्त्रीले गरे अवलोकन

सवारी साधनको कुम्भमेला मानिने ‘नाडा अटो शो’ को १७ औं संस्करण मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। यस वर्षको प्रदर्शनीको मुख्य आकर्षणको रुपमा रहेको ‘उड्ने कार’ (फ्लाइङ कार) ले सबैको ध्यान तानेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शो को उद्घाटन गर्दै उक्त कारको अवलोकन गरे।

भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, आविष्कार र नयाँ प्रविधिको विकासमा जोड दिए। उनले यस्ता नवीन आविष्कारको सहज उपभोग गर्ने वातावरण बनाउनुपर्ने बताउँदै नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे।

यस पटकको अटो शोमा भविष्यको सवारी मानिएको उड्ने कारसँगै विगतको विरासत बोकेका पुराना ‘भिन्टेज’ कारहरू पनि प्रमुख आकर्षण बनेका छन्। यी पुराना कारहरूले अवलोकनकर्ताको विशेष ध्यान खिचेका छन्।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी छन्। ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शनमा राखेका छन्।

प्रदर्शनीमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै कक्ष रहेका छन्। विशेषगरी इलेक्ट्रिक र हाइब्रिड गाडीहरूलाई प्राथमिकता दिइएको छ।

यो प्रदर्शनी भदौ ८ गतेसम्म चल्नेछ।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक र प्रधानमन्त्रीको सचिवालयबाट

प्रकाशित: ३ भाद्र २०८२ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App