७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

यस वर्ष कर्णालीमा धान उत्पादन घट्यो

तस्बिर : गाेल्डेन/नागरिक

कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ मा धान उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष प्रदेशभर १ लाख ५८ हजार ५ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ, जुन गत वर्षभन्दा करिब ८ हजार मेट्रिक टन कम हो। यो वर्ष ४२ हजार ५ सय ७३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। औसत उत्पादकत्व ४.६६४ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

समयमै वर्षा नहुनु, प्रतिकूल मौसम र केही स्थानमा रोगकिराको प्रकोपका कारण उत्पादन घटेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। प्रदेशस्तरमा उत्पादन घटे पनि जुम्लामा भने धान उत्पादन २.३ प्रतिशतले बढेको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जुम्लामा ६ हजार १ सय २५ मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो वर्ष २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष खेती क्षेत्र घटेर २ हजार ८८ हेक्टरमा सीमित भए पनि रोग, खडेरी, बाढी र पहिरोको क्षति नहुँदा उत्पादन बढेको हो। यद्यपि, धान काट्ने समयमा कार्तिक ८ र ९ गते परेको वर्षाले १० देखि १५ प्रतिशतसम्म थप उत्पादन हुन सक्ने अधिकारीको भनाइ छ।

जिल्लागत रूपमा सुर्खेतमा १४ हजार ९ सय २१ हेक्टर क्षेत्रफलमा धान खेती भई ६३ हजार १ सय १५.८३ मेट्रिक टन उत्पादन भएको छ। यहाँ उत्पादकत्व ४.२३ मेट्रिक टन प्रतिहेक्टर छ। दैलेखमा ७ हजार ९ सय २५ हेक्टर क्षेत्रफलबाट २७ हजार १ सय २० मेट्रिक टन उत्पादन भएको छ, भने उत्पादकत्व ३.४२ मेट्रिक टन प्रतिहेक्टर रहेको छ।

सल्यानमा ६ हजार १ सय ५८ हेक्टर क्षेत्रफलबाट २९ हजार ५७ मेट्रिक टन उत्पादन भएको छ, जहाँ उत्पादकत्व ४.७ मेट्रिक टन प्रतिहेक्टर छ। रुकुम पश्चिममा ३ हजार ५४ हेक्टर क्षेत्रफलमा धान खेती गरी करिब १३ हजार मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ। जाजरकोटमा ३ हजार ६५ हेक्टर क्षेत्रफलबाट ९ हजार ३ सय ७ मेट्रिक टन उत्पादन भएको छ। कालिकोट, मुगु, हुम्ला र डोल्पामा भने धानको उत्पादकत्व तुलनात्मक रूपमा कम छ।

यसैगरी मुगुमा ५ सय ९३ हेक्टरबाट १ हजार ३७ मेट्रिक टन, हुम्लामा ५ सय ९७ हेक्टरबाट १ हजार २ सय २८ मेट्रिक टन र डोल्पामा २ सय ७९ हेक्टरबाट ६ सय १० मेट्रिक टन धान उत्पादन भएको छ।

मन्त्रालयका अनुसार कर्णालीको कुल ३० लाख २० हजार ९ सय हेक्टर क्षेत्रफलमध्ये ९.५२ प्रतिशत अर्थात् २ लाख ८७ हजार ७ सय ६१ हेक्टर मात्र खेतीयोग्य छ। त्यसमध्ये पनि ६९.७१ प्रतिशत जमिन मात्र कृषि कार्यमा उपयोग भइरहेको छ, बाँकी ३०.२९ प्रतिशत बाँझो छ। प्रयोगमा आएको जमिनमध्ये जम्मा १९.०६ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ। धान उत्पादनमा देखिएको गिरावटले कर्णालीको खाद्यान्न आत्मनिर्भरता झन् कमजोर बनाएको छ।

प्रदेशमा उत्पादन भएको धानले १६ लाख ९४ हजार जनसंख्यालाई आधा वर्ष पनि खान पुग्दैन। कर्णालीको वार्षिक खाद्यान्न उपभोग ३ लाख २० हजार ८ सय ९० मेट्रिक टन छ, भने जनसंख्याको आधारमा आवश्यक खाद्यान्न ३ लाख ४४ हजार ३ सय २४ मेट्रिक टन पर्छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेका अनुसार समयमै वर्षा नहुनु र प्रतिकूल मौसम नै उत्पादन घट्नुको मुख्य कारण हो। 'रोपाइँ क्षेत्र घट्दा त्यसको प्रत्यक्ष असर उत्पादनमा देखिएको छ,' उनले भने।

तथ्याङ्कअनुसार कर्णालीका ३ लाख ५५ हजार २ सय ५५ घरधुरीमध्ये ३ लाख २ हजार ६ सय ४० बढी परिवार पूर्ण रूपमा कृषि पेसामा निर्भर छन्। तर ६९.५ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान पुग्दैन। कर्णालीमा उत्पादन भएको धानले १६ लाख ९४ हजार जनसंख्यालाई आधा वर्ष पनि खान पुग्दैन, प्रदेशको कूल उपभोग्य खाद्यान्न ३ लाख २० हजार ८ सय ९० मेट्रिक टन छ, तर जनसंख्याको आधारमा ३ लाख ४४ हजार ३ सय २४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ।

यो वर्ष कर्णालीमा उत्पादन भएको १ लाख ५८ हजार ५ सय ५८ मेट्रिक टन धानले आधा वर्ष पनि खाद्यान्नको माग धान्न नसक्ने देखिन्छ। यता आर्थिक वर्ष  २०७५/०७६ मा १ लाख ३३ हजार ५ सय ७९ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७७/०७८ सम्म पुग्दा सामान्य वृद्धि भई १ लाख ३७ हजार मेट्रिक टनसम्म उत्पादन भएको तथ्यांकमा उल्लेख छ।

यस्तै २०७८/०७९ मा धान उत्पादन १ लाख २५ हजार मेट्रिक टनमा झरेर फेरि २०७९/०८० र २०८०/०८१ मा उल्लेख्य वृद्धि भएको थियो। उत्पादन बढाउन सिँचाइ विस्तार, प्रविधि प्रयोग र मौसमअनुकूल कृषि नीति आवश्यक रहेको सरोकारवालाहरूको निष्कर्ष छ।

प्रकाशित: ९ पुस २०८२ २०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App