१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

चितवनमा सुन्तलाको उत्पादन १० प्रतिशतले घट्यो

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित माथिल्लो डुँडेकी कुशुम गुरुङले व्यवसायिक रूपमा सुन्तला खेती सुरु गरेको २५ वर्ष बितिसक्यो। सुरुका वर्षमा राम्रो उत्पादन लिने गुरुङले पछिल्ला वर्षमा उत्पादन घट्दै गएको बताइन्।

उनले बताइन्, ‘२०५६ सालदेखि सुन्तला लगाउन सुरु गरेकी थिएँ। २०६५ ताका एउटा बोटबाट सात क्रेटसम्म सुन्तला फल्थ्यो। अहिले तीन क्रेट पनि उत्पादन भएको छैन।’

उनका अहिले ६० पुराना र १५० नयाँ बोट छन्। उनले तीन वर्षदेखि सुन्तलाका विरुवा उत्पादन गरेर बेच्दै पनि आएकी छिन्। उनका अनुसार पुराना बोटमा उत्पादन क्रमशः घट्दै गएको छ। ‘१५ वर्षअघि पनि हामीले डेढ/दुई लाखको सुन्तला बेच्ने गर्थ्यौं, यो वर्ष मैले डेढ लाख रुपैयाँको मात्र सुन्तला बेचेँ,’ उनले भनिन्।

इच्छाकामनामा २०५३ सालदेखि व्यवसायिक रूपमा सुन्तला खेती हुँदै आएको हो। २०६० सालदेखि इच्छाकामनाको तामिन गाउँ सुन्तला खेतीले ढकमक्क बनेको थियो। भूकम्पपछि वार्षिक उत्पादनमा ह्रास आएको किसान बिनोद गुरुङले बताए।

उनले भने, ‘बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या देखिएको छ। एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाका बोटमा यस्तो समस्या बढी देखिन्छ।’

उनका घरपरिवारमा पनि सुन्तलाका बोट मर्ने क्रम जारी रहेको छ। उनले ५०० भन्दा बढी बोट राखेका छन् र वार्षिक करिब सात लाखको सुन्तला बिक्री गर्ने गर्दछन्। ‘अघिल्लो वर्ष दश लाखको सुन्तला बेचेको थिएँ, यस वर्ष सात लाख मात्र भयो,’ २४ वर्षिया गुरुङले बताए। उनी बुवाआमाले सुरु गरेको सुन्तला खेतीलाई व्यवसायीकरण गर्दै आएकी छन् र अहिले रोगले समस्या थपिएको बताउँछिन्।

तामिन गाउँलाई तत्कालीन समयमा जिल्लाको सुन्तला उत्पादनको ‘पकेट क्षेत्र’ घोषणा गरिएको थियो। यसै कारण तामिनलाई धेरैले ‘सुन्तला गाउँ’ भनेर चिन्ने गर्थे। तर अहिले गाउँमा धेरै ठाउँमा मात्र सुन्तलाका बोट फँट्टफुट्ट देखिन्छ।

कृषि विकास कार्यालय चितवनका तथ्यांकले पनि इच्छाकामना गाउँपालिकामा सुन्तलाको उत्पादन घटेको देखाएको छ। कृषि अर्थ विज्ञ निर्मल पौडेलका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भन्दा चालु आर्थिक वर्ष २०८२/८३ मा सुन्तलाको उत्पादन १० प्रतिशतले घटेको छ। अघिल्लो आवमा इच्छाकामनामा १ हजार १२० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा चालु आवमा १ हजार २ मेट्रिक टन मात्र उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

सुन्तलाको प्रवद्र्धनका लागि इच्छाकामना गाउँपालिकाले सुन्तला महोत्सव आयोजना गरे पनि उत्पादनमा कमी देखिएको छ। कृषि अर्थ विज्ञ पौडेलले पुराना बोट, रोग, बगैँचा व्यवस्थापनमा कम चाँसो र जलवायु परिवर्तनका कारण उत्पादन घटेको बताए।

उनले भने, ‘सुन्तला बोटमा फल उम्रन नदिने ‘सिट्रस ग्रिनिङ’ रोग, सिजनमा मल र बोटको हेरचाहमा ढिलाइ र बजार मूल्यमा अस्थिरता पनि समस्या हुन्। रोग नियन्त्रणका लागि समयमै जैविक विषादी प्रयोग गरी पुराना बोट हटाएर नयाँ बिरुवा रोप्न आवश्यक छ।’

इच्छाकामनाको तामिन, बराबर, साठीमुरे, माझगाउँ, नेपेडाँडा, न्याब्दीखोला, कमेरघाट र निबुवाडाँडाका कृषकले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। कार्यालयका तथ्यांकअनुसार सबैभन्दा बढी उत्पादन अहिले माझगाउँमा भएको छ।

यस वर्ष यहाँबाट करिब ९ करोड १० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको अनुमान गरिएको छ। गाउँपालिकामा हाल ११५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेकोमा ९२ हेक्टर मात्रै उत्पादनशील अवस्थामा रहेको छ। यहाँ ४५० भन्दा बढी कृषक सुन्तला खेतीमा संलग्न छन्। व्यापारीले बगैँचामा आएर प्रतिकिलो ७५ देखि ११५ रुपैयाँसम्ममा सुन्तला खरिद गर्ने गर्दछन्।

 

प्रकाशित: १२ माघ २०८२ १८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App