विराटनगर भन्सार कार्यालयले वैशाख महिनामा लक्षको ८८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार वैशाख महिनामा लक्षको ८८ दशमलव ०४ प्रतिशत राजस्व संकलन भएको हो ।
वैशाख महिनाका लागि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ५३ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३ अर्ब ११ करोड रुपैयाँ मात्रै राजश्व असुली भएको हो । चैत महिनामा भने कार्यालयले लक्ष अनुसार राजस्व संकलन गरेको थियो । चैत महिनामा कार्यालयलाई ३ अर्ब ५३ करोड २३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा कार्यालयले ३ अर्ब ५६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
यो लक्ष्यभन्दा थोरै बढी हो । विराटनगर भन्सार कार्यालयले विगत दुई वर्ष देखि लक्ष अनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन । त्यहीकारण चालु आर्थिक वर्ष गतबर्षको भन्दा राजस्व संकलनको लक्षसमेत घटाइएको थियो ।
विराटनगर भन्सार कार्यालयले फागुन महिनामा ३ अर्ब ४ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन लक्षको ९५.६३ प्रतिशत हो । कार्यालयलाई फागुन महिनामा ३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएको थियो । यस्तै माघ महिनामा भने ३ अर्ब २३ करोड ६१ लख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले ३ अर्ब २९ करोड ८६ लाख रुपैयाँ संकलन गरेको थियो । विराटनगर नाकाबाट मुख्यत औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ ।
चालु आर्थिक वर्षको १० महिनामा सबै भन्दा कम कार्तिक महिनामा लक्षको ५५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । कार्तिक महिनामा ३ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । विराटनगर भन्सार कार्यालयले साउन महिनामा ७८.१४ प्रतिशत राजस्व संकलन गरेको थियो ।
साउनका लागि ३ अर्ब ३८ करोड ७ लाख राजस्व संकलनको लक्ष तोकिएकोमा २ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । यस्तै भदौ महिनामा लक्षको ८०.२६ प्रतिशत राजस्व संकलन भएको थियो । उक्त महिनाका लागि ३ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलनका लक्ष तोकिएकोमा २ अर्ब ८० करोड ११ लाख रुपैयाँ संकलन भएको थियो ।
असोज महिनामा ८२.२४ प्रतिशत राजस्व संकलन भएको थियो । उक्त महिनाका लागि ३ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८७ करोड ११ लाख रुपैयाँ संकलन भएको थियो ।
यस्तै मंसिरमा लक्षको ८२.९९ प्रतिशत राजस्व संकलन भएको थियो । उक्त महिनाका लागि ३ अर्ब १४ करोड ३४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकामा २ अर्ब ६० करोड ८७ लाख रुपैयाँ संकलन भएको थियो । पुस महिनामा ९२. ७३ प्रतिशत राजस्व संकलन भएको थियो ।
उक्त महिनाका लागि ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा ३ अर्ब ७४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ३३ अर्ब ८१ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा २८ अर्ब ९४ करोड रुपैयाँ राजश्व असुली गरेको छ ।
जुन लक्ष्यको तुलनामा ८५ दशमलव ५९ प्रतिशत मात्रै हो । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित: ३ जेष्ठ २०८३ २१:१९ आइतबार





