जेन-जी आन्दोलनको प्रभाव भन्सारको राजस्व संकलनमा देखिएको छ । कार्तिक महिनामा विराटनगर भन्सार कार्यालयको राजस्व ह्वात्तै घटेको छ ।
विराटनगर भन्सार कार्यालयका अनुसार कार्तिक महिनामा लक्ष्यको ५५.६६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । कार्तिक महिनाका लागि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ मात्रै संकलन गरेको छ ।
कार्तिकमा धेरै चाडवाडहरू परेको र विहार विधान सभाको चुनावका कारण चार दिन भन्सारको आयात निर्यात ठप्प भएका कारण केहि प्रभाव परेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले जानकारी दिए ।
साहका अनुसार चाडपर्व र चुनावमात्रै नभई जेन-जी आन्दोलनका कारण नेपाली आयातकर्ताहरूले थप अर्डर नगरेका कारण बन्दरगाहबाट आउने मालसामानमा पनि कमी आएको छ ।
‘तेस्रो मुलुकबाट आयातहुने मालबस्तुको अर्डर दुई तीन महिना पहिलै हुने र अर्डर भएपछि पनि आउन समयलाग्ने हुन्छ । जसका कारण जेन-जी आन्दोलन पछिको असोज महिनाको राजस्व प्रभावित भएको देखिएन । तर, आन्दोलन पछि नयाँ अर्डर नगएका कारण भन्सारबाट हुने आयात प्रभावित हुँदा भन्सारको राजस्व पनि प्रभावित भएको हो ।’
कार्यालयको तथ्यांक अनुसार असोज महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको. ८२.२४ प्रतिशत राजस्व संकलन गरेको देखिन्छ । असोजका लागि ३ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा २ अर्ब ८७ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो । यस्तै भदौ महिनामा लक्ष्यको ८०. २६ प्रतिशत राजस्व संकलन भएको थियो । भदौ महिनाका लागि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा २ अर्ब ८० करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै साउन महिनामा ३ अर्ब ३८ करोड ७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको विराटनगर भन्सार कार्यालयले २ अर्ब ६४ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
जुन लक्ष्यको ७८.१४ प्रतिशत हो । कार्तिकको तुलनामा मंसिर महिनामा राजस्व संकलनमा केहि सुधार आउने अपेक्षा गरिएको सूचना अधिकारी साहले बताए । उनका अनुसार मंसिर महिनाको ५ दिनको राजस्व संकलनका आधारमा हेर्दा मंसिरमा कार्तिकको तुलनामा राजस्व संकलन सुधार हुने संकेत देखिएको छ ।
तर, देशको राजनीतिक अवस्था अनिश्चित रहेकाले अहिलेनै पूर्व अनुमान गर्न पनि गाह्रो हुने साहले बताए । नयाँ सरकार आएपछि सीमानाकाबाट तस्करी मौलाएका कारण भन्सारको राजस्व प्रभावित भयो भन्ने आरोप लागिरहेको विषयमा भने साहले तस्करीको तथ्यांक नहुने भएकाले त्यस विषयमा बिश्लेषण गर्न नसकिने स्पष्ट पारे ।
प्रकाशित: ६ मंसिर २०८२ १८:२१ शनिबार





