२६ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

समयमा काम नसकिएपछि एक वर्ष म्याद थप

धुलीखेल -सूर्यविनायक सडक विस्तार योजना

तोकिएको समयमा सडक विस्तारको काम पूरा नभएपछि सरकारले धुलीखेल–सूर्यविनायक सडक विस्तार गर्न ठेकेदार कम्पनीलाई एक वर्ष म्याद थप गरिएको छ।

तोकिएको समयमा काम नहुने र पटक–पटक म्याद थप गर्ने परम्परा नै बनिसकेको छ। तोकिएको समयमा काम पूरा भएका उदाहरण बिरलै मात्र भेटिन्छन्।

तोकिएको समयमा काम नहुनुमा सरकारले ठेकेदारलाई दोषी देखाउने र ठेकेदारले विभिन्न कारण देखाउने गरिएको छ। सूर्यविनायक धुलीखेल सडक विस्तार गर्न सरकारले दिएको समयसीमाभित्र ठेकेदार कम्पनीले आधा मात्र काम गरेपछि सडक विभागले एक वर्ष म्याद थप गरेको हो।

सूर्यविनायक  -धुलीखेल सडक विस्तार आयोजनाका आयोजना प्रमुख विजय महतोका अनुसार सूर्यविनायकदेखि साँगासम्म सडक विस्तार गर्न आगामी  २०८३ फागुन २१ गतेसम्म म्याद थपिएको छ।

यस्तै साँगादेखि धुलीखेलसम्मको सडक विस्तार गर्न आगामी २०८३ माघ २३ गतेसम्म म्याद थप गरिएको छ। यसअघि सूर्यविनायकदेखि धुलीखेलसम्म सडक विस्तार गर्न २०८२ फागुन २१गतेसम्म र साँगादेखि धुलीखेलसम्म सडक विस्तार गर्न २०८२ माघ २२ गतेसम्म म्याद दिइएको थियो।

आयोजना प्रमुख महतोका अनुसार हाल सूर्यविनायक धुलीखेल सडक विस्तारको समग्र प्रगति जम्मा ५५ प्रतिशत मात्र छ। अब थप गरिएको म्यादभित्र काम पूरा हुने महतोको भनाइ छ। उनका अनुसार हाल ठेकेदार कम्पनीले साँगामा अन्डर पास बनाउने काम गरिरहेको छ। ‘ठेकेदारले आगामी असारसम्म सूर्यविनायकदेखि धुलीखेलसम्म एक चरणमा पिच गरिसक्ने प्रतिबद्धता देखाएको छ। त्यसपछि करिब तीन महिना वर्षा हुन्छ’ महतोले भने, ‘वर्षापछि फेरि काम रफ्तारमा अघि बढाउने र थप गरिएको म्यादभित्र काम पूरा गर्ने प्रतिबद्धता ठेकेदारले गरेको छ।’

धुलीखेल - सूर्यविनायक सडक विस्तारको काम तीन वर्ष अघिदेखि सुरु भएको हो। सडक विस्तारको काम पूरा गर्नुपर्ने समय अर्थात् सतप्रतिशत प्रगति हासिल गर्नुपर्ने बेलामा आधा मात्र प्रगति भएको छ। यसैबाट थाहा हुन्छ, काम निकै सुस्त गतिमा चलिरहेको छ।

विभागका एक कर्मचारीका अनुसार ठेकेदार कम्पनीले अहिले जसरी काम गरिरहेको छ त्यसलाई हेर्दा एक वर्षभित्र पनि उक्त खण्डमा काम पूरा नहुने निश्चित छ। अहिले त्यस खण्डमा यात्रा गर्ने यात्रु तथा सवारी धनीले ठूलो सास्ती भोगिरहेका छन्।

स्थानीयवासीले उत्तिकै दुःख पाइरहेका छन्। वरिपरि धुलो उड्ने र ठाउँ–ठाउँमा खाल्टा–खुल्टी भएकाले पनि यात्रुलाई कठिनाइ हुने गरेको छ। एक स्थानीबासीले भने, ‘काठमाडौंसँग जोडिएको सडकको त यस्तो हालत छ भने काठमाडौं बाहिरका अझ दुर्गम ठाउँका सडक निर्माणको हालत कस्तो होला?’

सूर्यविनायक–धुलीखेल सडक विस्तार दुई खण्डमा बाँडिएको छ। पहिलो खण्ड सूर्यविनायकदेखि साँगासम्मको लम्बाइ करिब ७.५ किलोमिटर र दोस्रो खण्ड साँगादेखि धुलीखेल करिब ८.३ किलोमिटर रहेको छ। यी दुई खण्डको ठेक्का लामा कन्ट्रक्सन र बन्दन भगवती जेभी कन्स्ट्रक्सनले लिएको हो। यस खण्डमा पर्ने पुल निर्माणका लागि भने हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीले ठेक्का लिएको छ।

पुल निर्माणको प्रगति पनि उस्तै बिजोग छ। आयोजना प्रमुख महतोको अनुसार उक्त खण्ड विस्तार कार्य समयमा पूरा नहुनुमा प्रमुख चार कारण जिम्मेवार छन्। पहिलो उक्त खण्डमा  सडक विस्तार कति क्षेत्रफलसम्म गर्ने भन्नेमै आयोजनासम्बद्ध अधिकारीहरू टुंगोमा पुग्न समय लाग्यो।

राजमार्ग ऐन २०२१ ले सडक वरिपरि ५०/५० गज क्षेत्र सडकको स्वामित्वभित्र रहने जनाएको छ भने त्यसलाई विस्थापित गर्दै सडक ऐन २०३१ ले सडकको दायाँबायाँ ५०/५० मिटर क्षेत्रफल सडकको स्वामित्वमा रहने उल्लेख गरेको छ।

उक्त सडक २०३१ सालअघि बनेकाले त्यस सडकको सडक दायाँबायाँ ५०/५० गज क्षेत्रफलमा सडक विस्तार गर्ने कि ५०/५० मिटर क्षेत्रफलमा काम गर्ने भन्नेमा टुंगोमा पुग्न समय लाग्यो। ५०/५० गज भनेको ७५/७५ फिट हो। ५०/५० मिटरलाई मापन गरेको भए  ७५/७५  फिटभन्दा धेरै हुने थियो।

हाल उक्त सडकको दायाँबायाँ ७५/७५ फिट क्षेत्रफलमा सडक विस्तार भइरहेको महतोले बताए। उनका अनुसार ७५/७५ फिट क्षेत्रफलमा सडक विस्तार गर्दा अझै सात वटा घर भत्काउनुपर्ने छ। सुरुमा त्यस क्षेत्रमा दुई सय घर भत्काउनुपर्ने थियो। सडकको दायाँबाँया ७५/७५ फिट सडककै स्वामित्वको जग्गा भएकाले त्यस क्षेत्रमा सडक विस्तार गर्दा मुआब्जा दिनु नपरेको महतोले बताए।

महतोका अनुसार दोस्रो कारण समयमा बिजुलीको पोल, खानेपानीको पाइप तथा ढलको व्यवस्थापन नहुँदा पनि काम ढिलो भएको हो। तेस्रो कारण त्यस क्षेत्रमा टिपरहरू राती मात्र चल्नुपर्ने नियम छ। दिउँसो निर्माण सामग्री बोक्ने ट्रक तथा टिपर चल्न नपाउँदा पनि काममा ढिलासुस्ती भएको आयोजनाका कर्मचारीहरूको भनाइ छ।

आयोजना प्रमुख महतोले चौथो कारण औंल्याउँदै भने, ‘यति हुँदाहुँदै पनि ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेन। समयमा काम पूरा नहुनुमा यो पनि अर्को महत्त्वपूर्ण कारण हो’, महतोले भने। हाल सूर्यविनायक–धुलीखेल खण्ड दुई लेनको मात्र छ। विस्तारपछि यो खण्ड ६ लेनको हुने छ। उक्त खण्डको लम्बाइ १५.८ किमि छ।

प्रकाशित: २५ माघ २०८२ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App