नेप्से परिसूचक लगातार चौथो दिन पनि बढेको छ। बुधबार नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.६४ अंक, फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले वृद्धि भएपछि समग्र नेप्सेमा सुधार देखिएको हो।
आज कारोबार रकममा पनि मंगलबारको तुलनामा ८७ करोडले बढेको छ। बुधबार ३२२ स्टकको ९१ हजार ७०५ पटकको कारोबारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
आज झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिभर फल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशतले वृद्धि हुँदा बोटलर्स नेपाल (बालाजु)को शेयरमूल्य भने ३.९४ प्रतिशतले घटेको छ।
आजसम्म कायम शेयरधनीहरुले लाभांश पाउने भएपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँ र शिवम् सिमेन्ट्सको साढे २६ करोड बराबरको कारोबार भयो।
१३ उपसमूहमध्ये बुधबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। वित्त, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको हो।
प्रकाशित: १० मंसिर २०८२ १५:३७ बुधबार





