२ वैशाख २०८३ बुधबार
image/svg+xml
अर्थ

नेप्सेमा उछालः ४८ अंकले बढ्दा झन्डै १० अर्बको कारोबार

बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ। बुधबारदेखि सुरु भएको वृद्धिको क्रमले यस दिन पनि निरन्तरता पाएको हो।

बिहीबार सेयर बजार ४८.७१ अंक बढेको छ। अघिल्लो दिन ४५.१२ अंक बढेको बजार आजको वृद्धिपछि २८५१ अंकमा पुगेको छ। कारोबार रकम पनि केही बढेको छ। अघिल्लो दिन ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो।

यस दिन ३३८ स्टकका २ करोड ७९ लाख ३१ हजार कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक खरिदबिक्री भएका छन्।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक हरियो भएको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ।

यसैगरी, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।

बिहीबार ८ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य बढेर सर्किट लागेको हो।

यस्तै, हिम स्टार ऊर्जा कम्पनीको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी र हिमालयन रि–इन्स्योरेन्सको साढे ७ प्रतिशतले बढेको छ। अर्कोतर्फ, कारोबारमा आएको एनआईसी एसिया ब्यालेन्स्ड फन्डको एकाइ मूल्य सर्वाधिक ६.७४ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार गर्ने कम्पनीको शीर्ष स्थानमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ। यस कम्पनीको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

त्यसैगरी, रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि-इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: २६ चैत्र २०८२ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App