बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।
अघिल्ला तीन कारोबार दिनदेखिको घट्दो क्रमलाई निरन्तरता दिँदै नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा सीमित भएको हो।
यससँगै १० कारोबार दिनपछि नेप्से पुनः २८०० विन्दुभन्दा तल झरेको छ। यसअघि गत चैत २४ गते नेप्से २८०० विन्दुभन्दा तल बन्द भएको थियो।
बिहीबार सेन्सेटिभ इन्डेक्स २.९४, फ्लोट इन्डेक्स १.३४ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१६ अंकले घटेका छन्। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
बुधबार ७ अर्ब ८१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार कित्ता शेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँमा कारोबार भएका छन्।
बजार घटेको दिन पनि पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि करिब साढे ९ प्रतिशतले बढेको छ।
अर्कोतर्फ, पछिल्ला दिनमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य भने बिहीबार सर्वाधिक ११.७९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा छ। यस कम्पनीको ३० करोड ४२ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।
त्यस्तै, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको २६–२६ करोड तथा होटल फरेस्ट इनको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटाको परिसूचक घटेको छ भने उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले ओरालो लागेको छ भने वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
प्रकाशित: १० वैशाख २०८३ १६:४४ बिहीबार





