५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेप्से ६.५१ अंकले घट्दा ३ अर्ब ८ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार परिसूचक (नेप्से) ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा झरेको छ।

अघिल्लो दिन सोमबार पनि सामान्य अंकले घटेको बजारले यस दिन पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचकसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन्। सेन्सेटिभ इण्डेक्स ०.६८ अंक, फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।

बजार घटे पनि कारोबार रकममा भने सोमबारको तुलनामा केही सुधार देखिएको छ।

सोमबार २ अर्ब ४५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३४६ कम्पनीका ७८ लाख १६ हजार कित्ता सेयर कुल ४५ हजार ५१९ पटक किनबेच भएका छन्।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उत्साहजनक वृद्धि देखिएको छ। उक्त बैंकको मूल्य सर्वाधिक १४.२६ प्रतिशतले बढेको हो।

यस्तै, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य करिब साढे ६ प्रतिशतले बढ्दा अन्य कम्पनीहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कममा सीमित रह्यो। सिटि होटलको सेयर मूल्यमा भने आज सबैभन्दा धेरै ६.८४ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमका आधारमा सिटि होटल नै शीर्ष स्थानमा रह्यो । यस कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, साहस ऊर्जाको ९ करोड रुपैयाँभन्दा बढी र आँखु खोला जलविद्युत् कम्पनीको साढे ८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

बजारका १३ उपसमूहमध्ये मंगलबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ।

अर्कोतर्फ, व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले ओरालो लागेको छ। नेप्सेमा देखिएको यो सुस्ततालाई लगानीकर्ताहरूले ‘पर्ख र हेर’ को रणनीतिका रूपमा लिएका छन्।

प्रकाशित: ५ जेष्ठ २०८३ १५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App