२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अर्थ

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो।

यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो।

महाभारत  गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले बनाएको ऐन, कानुन र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताए। 

बजेटको उचित कार्यान्वयनसँगै चन्दा, सहयोग नगरेको र सञ्चालन खर्चलाई घटाएर पुँजीगत खर्चलाई बढाउने कुरामा ध्यान दिएर जनप्रतिनिधि एवं कर्मचारीले सामूहिक रूपमा गरेको प्रतिबद्धताअनुसार नियम र कानुनको परिधिमा रहेर काम गरेका कारण निरन्तर रूपमा शून्य बेरुजु पालिका बनाउन सफल भएको उनले बताए। गाउँपालिकाले लगातार तेस्रोपटक ‘शून्य बेरुजु’ कायम गर्न सफल भई देशभरका स्थानीय तहका लागि उदाहरणीय सन्देश दिन सफल भएको छ।

सार्वजनिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको १३ वटा स्थानीय तहमध्ये नगरपालिकातर्फ मण्डनदेउपुर सबैभन्दा कम ० दशमलव ०५ प्रतिशत अर्थात् कुल लेखापरीक्षण रकमको १० लाख ४९ हजार रुपैयाँ बेरुजु रहेको छ।

त्यस्तै गाउँपालिकातर्फ चौँरीदेउराली ० दशमलव १८ प्रतिशत रहेको छ।    

जिल्लाका पनौती नगरपालिका ३ दशमलव ०४ प्रतिशत, नमोबुद्ध १ दशमलव ३८, धुलिखेल ० दशमलव ६८, बनेपा ० दशमलव ७१, पाँचखाल ० दशमलव १, बेथानचोक गाउँपालिका ० दशमलव ५५, तेमाल ० दशमलव ५, खानीखोला ० दशमलव ५८, रोशी ० दशमलव ६२ र भुम्लु गाउँपालिका ० दशमलव ६८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।   

प्रकाशित: ५ जेष्ठ २०८३ १६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App