नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै साविककै आकार तथा रंगमा नयाँ विशेषताहरू समेटिएको ५० रुपैयाँको नोट २०८३ साल असोज २ गतेदेखि सर्वसाधारणको प्रयोगका लागि बजारमा ल्याउने जानकारी दिएको हो।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको नयाँ नोटको अग्र भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको मुनि ‘५०’ अंकित गरिएको छ। त्यसैगरी, नोटको तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ।
नोटको सुरक्षाका लागि १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो प्रयोग गरिएको छ। उक्त धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिनुका साथै त्यसमा ‘एनआरबी’ लेखिएको स्पष्ट देख्न सकिन्छ।
त्यस्तै, नोटको पृष्ठ भागको मध्य खण्डमा हिउँ चितुवाको चित्र राखिएको छ। सो चित्रमाथि अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। नोटको तल्लो खण्डमा अंग्रेजी अक्षरमा ‘रुपिज फिफ्टी’ र सिरिज नम्बर ‘२०२५ एडी’ उल्लेख गरिएको छ।

प्रकाशित: २ आश्विन २०८३ ११:१७ शुक्रबार





