४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

वायुसेवा निगमद्वारा ऋण बापतको ५३ करोड भुक्तानी

नेपाल वायु सेवा निगमले यही असोज मसान्तसम्मको ऋण बापतको ५३ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ। निगमले दुई ‘न्यारोबडी’ जहाजको किस्ता तर्फको पुरै रकम र दुई ‘वाइडबडी’ जहाजको आंशिक गरी शुक्रबार कुल ५३ करोड नौ लाख ५५ हजार २८१  रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका ती जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको रुकम भुक्तानी गरिएको निगमले जनाएको हो।

निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत यही असोज मसान्तसम्ममा आठ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ।

कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो अवधिको ब्याजको ब्याज, हर्जाना र ‘पेनल’ छुट गरिदिन एंव किस्ता सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध गरिएको निगममा प्रवक्ताद्धय सुवास डाँगी र मनोज कुमार साहद्वारा जारी वक्तव्यमा उल्लेख छ।

यसैबीच निगमको काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं सेक्टरको दोस्रो नियमित उडानमा पनि यात्रुहरूको उत्साहजनक आकर्षण देखिएको सो वक्तव्यमा जनाइएको छ।

प्रकाशित: १ कार्तिक २०८२ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App