२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अर्थ

प्राकृतिक विपद्को असर जीडीपीमा पनि: हरेक वर्ष ६ प्रतिशत क्षति

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्।

पछिल्लो प्राकृतिक विपद्बाट मात्रै मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको उनले बताएका छन्।

शुक्रबार आयोजित राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा बोल्दै भट्टले भूकम्पबाहेकका प्राकृतिक विपद्बाट नेपालले यसअघि हरेक वर्ष जीडीपीको करिब दुई प्रतिशत बराबरको क्षति व्यहोर्दै आएको तथ्यांक रहेको बताए। तर पछिल्लो विपद्ले क्षतिको मात्रा उल्लेख्य रूपमा बढाएको उनको भनाइ छ।

‘हामीले हेर्ने हो भने भूकम्पबाहेकका अरू प्राकृतिक विपद्का कारणले नेपालमा हरेक वर्ष कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत हानि–नोक्सानी भइरहेको छ भन्ने हामीले हेर्ने गथ्र्यौं,’ उनले भने, ‘तर पछिल्लो घटना हेर्दा र अहिलेसम्मको उपलब्ध तथ्यांकले चार सय अर्बको क्षति र नोक्सानी भएको देखाएको छ। यसले ६ प्रतिशत हानि–नोक्सानी भएको देखाउँछ।’

भट्टले प्राकृतिक विपद् तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई वित्तीय साक्षरतासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। वित्तीय सेवा प्रवाह र वित्तीय साक्षरता प्रवद्र्धनका कार्यक्रमलाई वातावरणीय जोखिम तथा जलवायु परिवर्तनका असरसमेत समेटेर लक्षित वर्गसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ।

वित्तीय सेवाका लक्षित ग्राहकमात्र नभई पछाडि परेका क्षेत्र तथा समुदाय र महिला उद्यमीलाई समेत जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबारे वित्तीय जानकारी दिनुपर्ने उनले बताए।

‘वित्तीय साक्षरता प्रवद्र्धन गर्ने अथवा वित्तीय सेवा प्रवाह गर्ने यी सबै कुराहरूको अन्तरसम्बन्ध अब वातावरणीय जोखिम र जलवायु परिवर्तनबाट उत्पन्न दुष्परिणामसँग पनि जोड्नुपर्छ,’ भट्टले भने, ‘वित्तीय सेवाका लक्षित ग्राहक र अझ पछाडि परेका क्षेत्र, समुदाय तथा महिला उद्यमीसम्म पनि यो विषय उत्तिकै जानकारीमूलक ढंगले अगाडि बढाउनुपर्छ।’

प्रकाशित: २ आश्विन २०८३ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App