४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम : चितवन र मकवानपुरमा एकैपटक साढे सात करोडको प्रस्ताव आह्वान

फाइल तस्बिर

चितवन र मकवानपुरका किसानलाई लक्षित गर्दै ठुलो परिमाणमा कृषि अनुदानका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई चितवनले आर्थिक वर्ष २०८२-०८३ का लागि आज (बिहीबार) सूचना प्रकाशित गर्दै सात करोड ६४ लाख ३९ हजार रुपैयाँ बराबरको कृषि अनुदानका लागि प्रस्ताव आब्हान गरेको हो ।  

चितवन र मकवानपुरमा सञ्चालित तरकारी, धान, केरा, माछा, मौरी जोन तथा उद्यमशिलता कार्यक्रमका लागि प्रस्ताव आब्हान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले जानकारी दिए । यस कार्यालयले चितवनका पाँच र मकवानपुरका दुई वटा जोन हेर्दै आएको छ । यी क्षेत्रमा चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्नका लागि ५० देखि ८५ प्रतिशत अनुदानका  कृषि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आब्हान गरिएको रेग्मीले बताए ।  

कार्यालयले सबैभन्दा बढी यसवर्ष सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतमा अनुदान दिँदैछ । यहाँबाट सञ्चालित सात वटै जोन क्षेत्रमा सिँचाईका कार्यक्रम सञ्चालन गर्नेगरी सूचना आह्वान गरिएको छ । कार्यक्रमले सिँचाइका लागि दुई करोड ७५ लाख २५ हजार रुपैंयाँको बजेटको प्रस्ताव माग गरेको छ । यस बजेटबाट एक सय ५५ वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार गर्ने लक्ष्य राखिएको छ ।  

चितवन र मकवानपुरमा सञ्चालित धान जोनमा दुई करोड ६४ लाख छ हजार, तरकारी जोनमा एक करोड एक लाख ८० हजार, माछा जोनमा ९५ लाख ३८ हजार, मौरी जोनमा ८७ लाख १५ हजार रुपैंया बराबरको कृषि कार्यक्रमका लागि प्रस्ताव माग गरिएको छ । यस्तै कार्यलयले जोन क्षेत्रसहित अन्य क्षेत्रमा पनि उद्यमशिलता कार्यक्रम संचालन गर्न एक करोड ६० लाख, व्यवसायिक प्याज प्रवद्र्धन कार्यक्रमका लागि १८ लाख रुपैयाँको प्रस्ताव आब्हान गरेको छ । यसका लागि ५० प्रतिशत किसानले व्यहोर्नुपर्ने हुन्छ ।  

कार्यालयले तरकारी जोन क्षेत्रमा सिँचाइ सहित प्राङगारिक उन्मुख कृषि प्रवद्र्धन, आलुबाली, उन्नत प्रविधिका लागि गोलभेडाको ग्राफ्टिङ बेर्ना वितरण, जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण, थोपा सिँचाई प्राणली जडान, बेमौसमी तरकारी उत्पादनका लागि स्थायी टनेल निर्माणका लागि प्रस्ताव आह्वान गरेको हो । यी कार्यक्रम सञ्चालन गर्न ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने कार्यालयले जानकारी दिएको छ । यी कार्यक्रम भरतपुर महानगरपालिकाका ४ देखि ९ र ११ देखि २८ नम्बर वडा मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाको १ देखि पाँच नम्बर वडामा लागु हुनेछ ।  

चितवन र मकवानपुरको धान जोन क्षेत्रका लागि कार्यालयले बीउ उत्पादन, ढुवानीका लागि साधन खरिद, पोष्ट हार्भेस्ट क्षती न्यूनीकरण, प्याकेजिङ, लेबलिङ, बजारिकरण सहयोग, धान मिल सञ्चालन, सामुहिक नर्सरी तथा सिकाई केन्द्र सञ्चालन गर्नका लागि प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रम चितवनको रत्ननगर नगरपालिकाको ३ देखि ९ वडा, खैरहनी नगरपालिकाको ९ देखि १३, राप्ती नगरपालिकाको १ देखि ४ र ६, मकवानपुरको हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ६, ७, ८, १२, १६, १७, १८ र मनहरी गाउँपालिकाको ३ देखि ९ वडामा लागु हुनेछन् ।  

केरा सुपरजोन क्षेत्रमा केराको परिकारको विविधिकरण, उन्नत प्रविधिका लागि टिस्यूकल्चर विरुवा वितरण, केराको सकर वितरण, कृषि यान्त्रीकरण, ५ विघाभन्दा बढी केरा खेति गर्ने किसानलाई फार्म हाउस निर्माण, केराको राइपनिङ च्याम्बर निर्माणका लागि किसानलाई प्रस्ताव आह्वान गरेको छ । केरा सुपरजोन क्षेत्र भरतपुर महानगरपालिका १, ५, ८, १७, १९ र २३ देखि २८, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकाको १ र ३ देखि ९ र कालिका नगरपालिकाको १ देखि ८ नम्बर वडालाई तोकिएको छ ।  

यसैगरी गतवर्षदेखि संचालनमा आएको माछा जोनमा माछाका उन्नत प्रविधि प्रर्दशन,माछा झिक्नका लागि प्रयोग हुने महाजाल, नर्सरी, नर्सरीका लागि चरा प्रतिरोधात्मक जालीमा अनुदान, माछाको नर्सरी व्यवस्थापन, कृषि यन्त्रिकरण, माछाको ह्याचरी सुदृढिकरण तथा सञ्चालन, पुरानो पोखरी मर्मतका लागि किसानसँग प्रस्ताव माग गरिएको छ । माछा जोन माडी नगरपालिकामा सञ्चालित छ ।  

मौरी जोनका लागि सुपरसहितको घार वितरण, सुरक्षित प्याकेजिङका लागि सिसाको जार वितरण, कृषि यान्त्रिकरण, महको बजारिकरणमा सहयोग, मह घर स्थापना, मौरी स्थानान्तरण तथा मह संकलनका लागि ढुवानी साधन र मह संकलन घर निर्माणका लागि माग गरिएको कार्यालयले जनाएको छ । यी कार्यक्रम भरतपुरका केही वडा, कालिका, खैरहनी राप्ती रत्ननगर नगरपालिका र मकवानपुरको राक्सिाराङ गाउँपालिकाको केही वडामा सञ्चालित हुनेछ ।  

कार्यालयले यी कार्यक्रममा समावेश हुनका लागि ३५ दिनभित्र कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । यसका लागि सम्बन्धित निकायको कृषि समूह, सहकारी, संस्था, समिति तथा कृषि फर्म दर्ता,नविकरण गरेको प्रमाणपत्र,जग्गा भाडामा भएमा सम्झौता पत्र लगायता कागजपत्र सहित निवेदन पेस गर्न अनुरोध गरिएको छ ।

प्रकाशित: ८ श्रावण २०८२ १७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App