सरकारले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ। मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकको निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिएका हुन्।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले बैठकले नागढुंगा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने सहितका १८ वटा निर्णय सार्वजनिक गरेका हुन्। जसअन्तर्गत सडक विभागले तयार पारेको उक्त निर्देशिकामा नागढुङ्गा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने सम्बन्धमा कार भ्यानहरूले काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ। मिनी बस र ट्रकले काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नु पर्ने छ। यस्तै, बस र ट्रकका लागि काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ भने भारी उपकरणका सवारी साधनले काठमाडौं आउँदा ६०० र जाँदा २५० तिर्नुपर्ने छ।
मोटरसाइकल र डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश गर्न नपाउने आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाले जानकारी दिए।
नागढुंगा(सिस्ने खोला सुरुङ मार्ग सञ्चालनका लागि करिब करिब तयारी अवस्थामा पुगेको छ। केही सामान्यबाहेक सुरुङ मार्गका सबै काम सकिएको छ।
सडक विभाग मातहतको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजन इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्गको काम ९२ प्रतिशत बढी भइसकेको बताएका छन्। उनले भने, ‘आगामी कात्तिक महिनामा ठेकेदारदलाई कामका लागि दिइएको समय सकिन्छ। पुस महिनाबाटै सुरुङ मार्ग सञ्चालनमा आउनेछ।’
ठेकेदार कम्पनीले पनि सबै काम पूरा गरी कात्तिकअघि नै सुरुङ मार्ग सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। अहिले सुरुङ मार्गमा सवारीसाधन परीक्षणको काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सिस्नखोलातर्फ काम भइरहेको छ।
सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट बाहिरिने र बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनलाई थानकोट र नागढुंगामा जाममा बस्नुपर्ने बाध्यता हट्ने छ। सुरुङ मार्ग भएर हिँड्ने सवारी साधनले उक्त दूरी आधा घण्टामै पार गर्ने छन्। साढे दुई किमी बाटो छोटो बनाउने सुरुङ मार्ग हाल बलम्बुदेखि सिस्ने खोलासम्मको दूरी साढे ७ किमी छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि बलम्बुबाट सिस्ने खोलासम्मको दूरी ५ किमी हुनेछ।
२०७६ सालबाट निर्माण सुरु गरिएको सुरुङ मार्ग परियोजनाको म्याद दुई पटक थप भइसकेको छ। सुरुङ मार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ। आयोजनामा १६ अर्ब रुपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ। आयोजनाका अनुसार सुरुङ मार्ग निर्माण सञ्चालनका लागि अहिलेसम्म अन्डर पास, बक्स कल्भर्ट र ओभर पास बनाउने काम भइसकेको छ।
सुरुङ मार्ग प्रवेश गर्ने तीन वटा पुल बनिसकेका छन्। फ्लाइओभर ९ओभर पास० को काम पनि लगभग सकिएको आयोजनाको भनाइ छ। फ्लाइओभर वान वे ९एकतर्फी० छ। काठमाडाैंबाट बाहिरिन सवारीसाधनले मात्र फ्लाइओभर प्रयोग गर्न पाउने छन्। काठमाडौं भित्रिने सवारी साधनले फ्लाइओभर प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।
यात्रुको सुरक्षा पहिलो प्राथमिकतामा
आयोजनाका परामर्शदाता इन्जिनियर कोइरालाका अनुसार सुरुङ मार्गमा बाहिर सडकको भन्दा पृथक् रूपमा यात्रुहरूको सुरक्षा व्यवस्था हुनेछ। बाहिरी सडकमा आपत्कालीन स्थिति आए जताततैबाट यात्रुको उद्धार गर्न सकिन्छ तर सुरुङ मार्गमा त्यस्तो हुँदैन। सुरुङ मार्गमा केही भइहालेको खण्डमा अगाडि र पछाडि जाम हुन्छ। यात्रु भाग्न पाउँदैनन् र उद्धार गर्न पनि कठिनाइ पर्छ। यसकारण सुरुङ मार्गमा वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ अर्थात् रेस्कु टनेल बनाइएको छ, जुन यात्रु तथा सवारीसाधन हिँड्ने टनेलभन्दा ३० मिटरको दूरीमा छ। मुख्य टनेलबाट रेस्कु टनेलमा जान सात वटा गेट बनाइएको कोइरालाले बताए।
उनका अनुसार सुरुङ मार्गमा टेलिफोन बुथ, सिसिटिभी पनि राखिएको छ। टनेलमा कुनै दुर्घटना घटिहाल्यो भने तत्काल उद्धारका लागि कन्ट्रोल रुमको पनि व्यवस्था गरिएको छ। टनेलमा मोबाइल फोन पनि चल्ने व्यवस्था मिलाइने छ। भवितव्य भइहालेमा तत्काल उद्धारमा खटिने गरी टनेलको दुवै साइडमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिने छ।
सुरुङ मार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो। टनेलभित्र सवारीसाधनको चापले गर्दा मानिसलाई अक्सिजनको कमी हुने गर्छ। यसका लागि टनेलभित्र भेन्टिलेसन्स सिस्टम जडान गरी १५ सेटको ‘जेट फ्यान’ राखिएको उनले बताए। जेट फ्यानले गाडीबाट निस्किने हानिकारक ग्यासलाई बाहिर फाल्ने र बाहिरबाट भित्र स्वच्छ हावा प्रसारित गर्छ।
प्रकाशित: २९ श्रावण २०८२ १५:११ बिहीबार





