पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ। छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो।
नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार घोप्टे भिरको दुई सय ५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो।
यहाँ करिब ५० मिटर माथिबाट भित्तो काटेर सडक थप चार मिटर फराकिलो बनाइएको छ। भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ।
यही चैत १७ देखि २२ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक आवागमन रोकेर काम गरिएको थियो। त्यस क्रममा तीन वटा एक्साभेटर, दुई वटा लोडर, १० वटा टिप्पर र सोही अनुपातमा जनशक्ति परिचालन गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए।
यस्तै, मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।
एकैपटक लामो समय सडक रोक्न गाह्रो हुने भएकाले थप भित्तो काट्ने काम सकिएपछि यहाँ पनि काम गरिने मिश्रको भनाइ छ। समग्रमा यहाँ सडक विस्तारको काम ४१ प्रतिशत सम्पन्न भएको छ। हाल कालोपत्र गर्ने, कालोपत्रको तयारी, नाला बनाउने, पर्खाल लगाउने जस्ता काम भइरहेका उनले बताए।
विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडकको ठेक्का सम्झौता भएको थियो। समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुङ्गा खण्डलाई तीन चरणमा बोलपत्र आह्वान गरिएको हो।
हाल काम भइरहेको क्षेत्र तेस्रो चरणअन्तर्गत पर्दछ। उक्त खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ। यस खण्डमा पर्ने मलेखु, बेनीघाट र मुग्लिनमध्ये दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ।
सात दशमलव दुई किमी सडक चार लेनको हुनेछ। चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्दछ। दरैले उकालो-ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ। ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ।
शर्माजेड आइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्डमा स्तरोन्नतिको काम गरिरहेको छ। सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ।
विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको यो सडक काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको छ।
प्रकाशित: २४ चैत्र २०८२ १६:३० मंगलबार





