अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट व्यक्तिगत विवरण माग गरेको हो। इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् २०८३ वैशाख २१ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आफ्नो विवरण बुझाउनुपर्नेछ।
अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। यस्तै, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुनको क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ। उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदक उच्च नैतिक चरित्र भएको र धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अयोग्य नभएको हुनुपर्ने उल्लेख छ।
मन्त्रालयका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन तथा लागूऔषध कारोबार जस्ता फौजदारी कसुरमा सजाय पाएका व्यक्ति यस पदका लागि योग्य हुने छैनन्। यस्तै, प्रचलित कानुन बमोजिम कालो सूचीमा परी फुकुवा भएको तीन वर्ष पूरा नभएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेका र मानसिक सन्तुलन ठीक नभएका व्यक्तिले पनि आवेदन दिन पाउने छैनन्।
आवेदनका साथमा व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभव पुष्टि गर्ने प्रमाणित कागजातहरू बुझाउनुपर्नेछ। साथै, अर्थ मन्त्रालयको वेबसाइटमा उपलब्ध तोकिएको ढाँचाको स्वघोषणा फाराम समेत भर्नुपर्ने सूचनामा उल्लेख छ।
सिफारिस समितिले प्राप्त विवरणका आधारमा कुनै पनि आवेदकलाई संक्षिप्त सूचीमा समावेश गर्ने वा नगर्ने अधिकार सुरक्षित राखेको छ। यदि कसैले झुटा विवरण वा कागजात पेश गरेको पाइएमा त्यस्तो आवेदन रद्द गरी कानुन बमोजिम कारबाही गरिने पनि समितिले स्पष्ट पारेको छ।
प्रकाशित: १५ वैशाख २०८३ १०:२१ मंगलबार




-600x400.jpg)
