२६ आश्विन २०८३ सोमबार
image/svg+xml
खेल

सादाकतको विस्फोटक ब्याटिङमा पाकिस्तान विजयी, श्रीलंका ८२ रनले पराजित

माज सादाकत र साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८२ रनको शानदार जित निकालेको छ। रावलपिण्डीमा गएराति भएको खेलमा पाकिस्तानले ३ विकेटको क्षतिमा २१५ रन बनाएको थियो। जवाफमा श्रीलंका ७ विकेट गुमाएर १३३ रनमा समेटियो।

पाकिस्तानको जितमा सादाकतले ५१ बलमा ९६ रन बनाए। उनले ६ छक्का र ११ चौका प्रहार गरे। शतक नजिक पुगेका उनी अन्तिम बलमा आउट भए। साहिबजादा फरहानले ४४ बलमा ७३ रन जोड्दै पाकिस्तानलाई ठूलो योगफलतर्फ अघि बढाए।

सादाकत र फरहानले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे। त्यसपछि सादाकतले हसन नवाजसँग आक्रामक ब्याटिङ गर्दै अर्को ७२ रनको साझेदारी गरे। पाकिस्तानले अन्तिम १२ ओभरमा मात्रै १५६ रन जोडेको थियो।

श्रीलंकाका बलरले पाकिस्तानको आक्रामक ब्याटिङ रोक्न सकेनन्। फरहानले १५औँ ओभरमा दसुन शनाकाको बलमा क्याच आउट हुनुअघि अर्धशतक पूरा गरेका थिए। सादाकतले भने मध्य र अन्तिम ओभरमा श्रीलंकाका बलरमाथि लगातार आक्रमण गरे।

२१६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले कमजोर सुरुवात गर्‍यो। टोलीले छैटौँ ओभरको समाप्तिमा ३५ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो। ११औँ ओभरसम्म पुग्दा श्रीलंका ६४ रनमा पाँच विकेट गुमाउने अवस्थामा पुगेको थियो। शीर्ष सात ब्याटरमध्ये कसैले पनि ३० रनको आँकडा पार गर्न सकेनन्।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद इमरान र सलमान मिर्जाले श्रीलंकाको ब्याटिङ धराशायी बनाए। इमरानले चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिए। मिर्जाले पनि महत्त्वपूर्ण विकेट निकाल्दै पाकिस्तानको जित सहज बनाए। विकेटकिपर ख्वाजा नफेले इमरानको बलमा दुई उत्कृष्ट क्याच लिए।

श्रीलंकाका चामिन्दु विक्रमसिंघे र महेश थीक्षनाले अन्तिमतिर केही आक्रामक प्रहार गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो।

यस जितसँगै पाकिस्तानले तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आफ्नो पकड बलियो बनाएको छ।

 

प्रकाशित: २६ आश्विन २०८३ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App