उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उत्पादनलाई प्राथमिकता दिँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएको बताएका छन् । छिमेकी मुलुकहरूले नेपाली बजारको मागअनुसार वस्तु उत्पादन गर्न सक्ने भएपनि नेपालमा त्यसको कमी देखिएको उनको भनाइ थियो ।
सिंहदरबारमा महिला उद्यमी महासंघको बागमती प्रदेश कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आयात रोक्न नसकिए पनि स्वदेशमै उत्पादन बढाएर प्रयोग गर्नुपर्ने बताए । उनले भने, “हिन्दु नभए पनि नेपालमा चाहिने जनै चीनबाट आयात हुन्छ । हाम्रा चाडपर्वमा चाहिने अधिकांश वस्तु छिमेकी मुलुकले उत्पादन गर्छन्, त्यसरी नै हामीले पनि उत्पादन बढाउनु पर्छ । रोजगारीका अवसर नेपालमै प्रशस्त छन्, केवल त्यसलाई चिन्नु र उपयोग गर्नुपर्छ ।”
महिला उद्यमीका लागि सरकारले सहुलियतपूर्ण योजना अघि सारेको जानकारी दिँदै उनले कम्पनी वा फर्म दर्ता गर्दा महिलाले शुल्क नतिर्नुपर्ने व्यवस्था, स्टार्टअप कर्जा कार्यक्रम र बजेटमा समावेश विभिन्न प्रोत्साहन योजनाको जानकारी दिए । उनको सुझाव छ, “सबै मन्त्रालयका रेडबुक हेरेर आफ्ना क्षेत्रसँग मिल्ने कार्यक्रम पहिचान गर्नुहोस् र लाभ लिनुहोस् ।”
बिहानको समयमा जिमखानामा व्यायाम गरेर पसिना बगाउनुको साटो खेतमा काम गरे आम्दानी पनि हुने शरीर पनि स्वस्थ हुने मन्त्री भण्डारीको भनाइ थियो ।
कार्यक्रममा महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले सबै प्रदेशमा संगठन विस्तार गरी उद्यमीहरूलाई एकतावद्ध बनाउने अभियान चलाइरहेको जानकारी दिइन्। साना तथा मझौला उद्यमीलाई तालिम र प्रविधि प्रदान गरी आत्मनिर्भर बनाउन महासंघ केन्द्रीत रहेको उल्लेख गर्दै उनले नेपालमै अवसर खोज्नेका लागि सहयोग गरिरहेको बताइन् । उनले भनिन्, “घरेलु, साना र मझौला उद्योगलाई प्रोत्साहन गरे देशको आर्थिक अवस्था बलियो बन्छ । उनीहरुको व्यवसायलाई आर्थिकरुपमा परिणत गर्ने बेला आएको छ । उनीहरुको परिश्रमलाई सम्मान गर्दै राज्यले उदार नीति लिने हो भने युवाहरुलाई पनि देशमै रोक्न सकिनेछ ।”
सरकारले स्थापना गरिरहेका औद्योगिक ग्रामहरू उद्यमीका लागि पायक पर्ने स्थानमा निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले सरकारी परियोजना निर्माणका क्रममा महासंघसँग समन्वय गर्न आग्रह गरिन् ।
यो पनि पढ्नुहोस्
महिला उद्यमी महासंघ: अर्पना प्रधानको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन
प्रकाशित: २९ श्रावण २०८२ १८:०४ बिहीबार





