१७ भाद्र २०८३ बुधबार
image/svg+xml
अर्थ

विदेशी पाहुनालाई सन्देशः ‘विमानस्थल खुलै छन्, हिमाल र पदयात्रा रुटले पर्खिरहेका छन्’

पर्यटन मन्त्री खडकराज पौडेल (गनेस) ले भोटेकोशीको बाढीले नेपालका सीमित पर्यटकीय क्षेत्र मात्र प्रभावित पारेको भन्दै हालै एउटा भिडियो सन्देश जारी गरे। बाढीले सबै नेपाल प्रभावित भएको नभई थोरै क्षेत्र मात्र प्रभावित भएकोले नेपाल भ्रमण नरोक्न मन्त्री पौडेलले विदेशी पाहुनालाई आग्रह पनि गरेका छन्।  

मन्त्री पौडेलले सन्देशमा भनेका छन, ‘नेपालका विमानस्थल संचालनमा छन्, हिमाल र पदयात्रा रुटले पाहुना पर्खिरहेका छन। होटल स्वागत गर्न तयार रहेको र रेस्टुरेन्ट खुला छन्।’ विदेशी पर्यटकलाई नेपाल घुमघाममा आउन अनुरोध गर्दै पौडेलले यो बेला नेपाल आउनु भनेको बिदा मनाउनु मात्र नभई यो यात्रा नेपालका लागि सहयोग पनि रहेको बताएका छन्।  

मन्त्री पौडेलले जसरी नेपालबारे सन्देश प्रवाह गरेर विदेशी पाहुनालाई नेपाल घुमघाममा आमन्त्रीत गरे, त्यही तवरबाट पर्यटन बोर्ड र व्यावसायीले पनि सन्देश प्रवाह गर्न थालेका छन्। सुरु हुन थालेको मुख्य पर्यटकीय सिजनलाई अहिलेको विपत्ले असर परेको व्यावसायीको भनाई छ। विपत्का कारण नेपाल आउने तयारीमा रहेका विदेशी पाहुनाले धमाधम होटल बुकिङ रद्द गर्न थालेको पनि उनीहरु बताउँछन्। सिजनको मुखमा भएको यो क्षतिले सम्पूर्ण नेपालको पर्यटकीय क्षेत्र प्रभावित भएको भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह भएको व्यावसायीको भनाई छ।  

विपतकै त्रासका कारण पर्यटकहरु नेपाल आउन नचाहेकोले उनीहरुको नेपालसम्मको यात्रालाई निरन्तरता दिलाउन सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको व्यावसायी बताउँछन्। त्यही क्रममा मन्त्री पौडेल सहित व्यावसायी र पर्यटन बोर्डले पनि ‘नेपाल खुला रहेको’ सन्देश प्रवाह गर्न थालेका छन्। पर्यटन बोर्डका अनुसार भोटेकोशीको विपत्मा परेर केही विदेशी पाहुना पनि सम्पर्कविहीन छन्। लाङटाङ  क्षेत्रको पर्यटकीय रुट र कैलाश मानसरोवर यात्रामा रहेका विदेशी पाहुना भोटेकोशीको बाढिमा परेर सम्पर्कविहीन भएको पनि बोर्डको भनाई छ।  

सीमित पर्यटकीय क्षेत्र प्रभावित भएपनि नेपालका अरु धेरैतिरका पर्यटकीय गन्तव्य सुरक्षित रहेकोले घुमघाममा कुनै समस्या नरहेको व्यावसायीले बताएका छन्। बाराही हस्पिटालिटी ग्रुपका महाप्रबन्धक राजकुमार केसीका अनुसार विपत्को यो घटनापछि नेपालको यात्रा गर्न सकिने वा नसकिने भनेर धेरै विदेशी पाहुनाले उनीसँग सोधपुछ गरिरहेका छन्। नेपालको यात्रा सुरक्षित भए नभएको, पोखरा, चितवन घुम्न नसकिने वा नसकिने र यात्रामा कुनै समस्या भए नभएको भनेर पाहुनाले सोध्ने गरेको उनले बताए।

‘केही सीमित क्षेत्रमा मात्र असर परेको हो। अहिले पनि नेपाल भ्रमण गर्न सुरक्षित छ। नेपाल यात्रुका लागि अझै पनि स्वागतयोग्य र सुन्दर गन्तव्य हो। हालैका घटनाबाट देशका केही क्षेत्र प्रभावित भएपनि धेरै पर्यटकीय गन्तव्य तथा क्षेत्र सुरक्षित छन् र यात्राका लागि खुला पनि छन्,’ केसीले पनि सामाजिक सञ्जालमार्फत भनेका छन।  

उनले भने, ‘घटना लुकाउन सकिने कुरा भएन। तर, अहिलेका लागि सम्पूर्ण नेपाल असुरक्षित पनि होईन। नेपाल भ्रमण गर्न हिचकिचाउनु पर्ने कुनै आवश्यकता छैन भनेर हामीले सन्देश दिने गरेका छौ।’ नेपाल आउन चाहेका विदेशी पाहुनाले सामाजिक सञ्जाल र फोनमार्फत नेपालको यात्रा सुरक्षाबारे चाँसो व्यक्त गरिरहेको उनले बताए। प्रभावित नभएका क्षेत्रका पर्यटकीय गन्तव्य, होटल, रेस्टुरेन्ट, यातायात सेवा, पदयात्रा मार्ग तथा अन्य पर्यटकीय सुविधाले आगन्तुकलाई निरन्तर सेवा र स्वागत प्रदान गरिरहेको भनेर आफुले सन्देश दिएको उनले बताए।  

होटल कौशीका संचालक धर्मराज पन्थीले पनि पछिल्लो घटनाक्रमबाट विदेशी पर्यटक केही तर्सेकोले उनीहरुले नेपाल यात्राबारे सोधखोज गर्न थालेको बताए। ‘यो नेपाल आउने सिजन पनि हो। यहीबेला नेपाल आउने भनेर विदेशी पाहुनाले योजना पनि बनाएका छन्। उनीहरु आउन नपाउँदा दुखि छन। तर, नेपालमा यो बेला विपत् आइपरेको छ,’ पन्थीले भने, ‘बाढीले सीमित क्षेत्रमा मात्र असर परेको हो। अन्यत्रका गन्तव्य सुरक्षित रहेको भनेर हामीले पर्यटकलाई सम्झाउने प्रयास गरिरहेका छौं।’  

पर्यटन बोर्डले पनि सामाजिक सञ्जाल मार्फत देशका केही क्षेत्र प्रभावित भएपनि नेपालको ठूलो भूभागको जनजीवन सामान्य रुपमा सञ्चालन भइरहेको बताएको छ। मानिसहरु आफ्नो दैनिक काममा फर्किरहेको र यात्रा गरिरहेको तथा आगन्तुकलाई स्वागत गरिरहेको पनि बोर्डले बताएको छ।  

‘नेपाल बन्द छैन,’ बोर्डले सन्देशमा भनेको छ, ‘हाम्रा मित्र, आगन्तुक तथा विश्वव्यापी पर्यटन समुदायका लागि तपाईंको नेपाल भ्रमण केवल एउटा यात्रा मात्र होइन। यो ऐक्यबद्धताको एउटा महत्वपूर्ण संकेत हो। तपाईंको भ्रमणले स्थानीय मानिसलाई सहयोग पुर्याउँछ, उनीहरुको जीविकोपार्जनलाई निरन्तरता दिन मद्दत गर्छ र प्रभावित समुदायलाई पुनःउत्थान हुँदै अघि बढ्न आवश्यक साथ र सहयोग प्रदान गर्छ।’  

बोर्डका गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले विश्वभर कुनैपनि समयमा कुनैपनि ठाउँमा बिना अग्रिम जानकारी प्राकृतिक विपत आउने भएकोले यो बेलाको सन्देश महत्वपूर्ण हुने बताउँछन। ‘क्राइसिस’ घन्टी बजाएर आउने होईन, क्राइसिस पछि राज्यले कसरी संचार गरेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ लामिछानले भने, ‘राज्यकै सूचनाका आधारमा विदेशीले सन्देश बुझछ।’ उनले पनि नेपालको केही सीमित क्षेत्रमा मात्र अहिले घटना भएपनि अरुतिर घुमघममा कुनै समस्या नरहेको भन्ने सन्देश प्रवाह गर्न जरुरी रहेको बताए।  

‘लाङटाङ क्षेत्रमा असर परेको हो। तर, अन्नपूर्ण, मनास्लु लगायतका क्षेत्रमा त केही भएको छैन। चितवन, पोखरा काठमाडौ सहजै घुम्न सकिन्छ,’ उनले भने, ‘पोखरा, चितवन सहितका गन्तव्यसम्म पुग्न केही स्थलमार्गमा समस्या भएपनि वैकल्पिक सडक रहेकोले समस्या छैन। ती गन्तव्यमा हवाई मात्र नभई स्थलमार्गबाटै पनि यात्रा गर्न सकिन्छ।’

२०७२ को भूकम्पका बेला नेपालका १४ जिल्ला प्रभावित भएपनि बाँकी जिल्लामा पर्यटकलाई घुमघाममा जान सकिन्छ भनेर सन्देश प्रवाह गरेको उनले बताए।  

‘अहिले पनि निश्चित ठाउँमा मात्र असर परेको हो। मध्य सेप्टेम्बरबाट सिजन पनि सुरु हुने हो। लाङटाङ क्षेत्र मात्र असर परेको हो, नेपालका धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित र घुम्नका लागि उपयुक्त रहेको भन्ने सन्देश प्रवाह गर्न सके सिजनको आगमन केही उकासिन्छ,’ उनले भने, ‘अहिले नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको छ। त्यसलाई सकारत्मक रुपमा परिवर्तन गर्नुपर्छ।’ ु

आधिकारिक रुपमा पर्यटन बोर्डले पनि विदेशी पर्यटकलाई नेपाल घुमेर नेपालको विपत् विरुद्ध लड्नका लागि सहयोग पुग्छ भनेर सन्देश प्रवाह गरेको उनले बताए। ‘यो बेला नेपाल घुम्न आएमा नेपालको अर्थतन्त्रमा सघाउ पुग्छ भनेर सन्देश दिन सकिन्छ। निजी क्षेत्रले मात्र भनेर नपत्याउन सक्छन, तर, यो बेला सरकार र बोर्डले सन्देश दिनुपर्छ र दिएका पनि छन,’ उनले भने, ‘यो बेला अन्तर्राष्ट्रिय भ्लगरलाई पनि ल्याएर सुरक्षित ठाउँमा घुमाउन सकिन्छ। उनीहरुमार्फत सन्देश प्रवाह गर्ने प्रयास बोर्डले गरिरहेको छ।’

प्रकाशित: १७ भाद्र २०८३ १७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App