नेपालगन्जका ईरिक्सा व्यवसायीले विभिन्न माग राख्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपालगन्जमा बिहीबार ईरिक्सा व्यवसायीले मन्त्री न्यौपानेलाई आफूहरुले भोगेका समस्या समाधानमा सहयोगी बन्न सरकारसँग माग पनि गरे ।
नेपाल ईरिक्सा संघर्ष समितिका अध्यक्ष रियाज अहमद शेषले ज्ञापन पत्र हस्तान्तरण गरे । ज्ञापन पत्रमा ईरिक्सालाई यातायात कार्यालयबाट लगत कट्टा गरी प्रदेश भरका नगरपालिका तथा गाउँपालिकालाई जिम्मा लगाउनुपर्ने, ईरिक्सा चालक अनुमति पत्र यातायात कार्यालयले सहज र सरल तरिकाले उपलब्ध गराउनु पर्नेलगायतका माग राखेका छन् ।
ज्ञापन पत्र बुझेपछि मन्त्री न्यौपानेले ईरिक्सा सम्बन्धी स्थानीय तहले कानुन बनाउनुपर्ने व्यवस्था रहेको बताए ।
‘स्थानीय तहले कानुन बनाउनुपर्ने हो, स्थानीय तहसँग समन्वय गर्छौ, जति सक्दो समस्या समाधान गर्न पहल गर्छु,’ उनले भने । सो क्रममा उपस्थित लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले ईरिक्सा व्यवसायीहरु निकै मर्कामा परेको बताइन् ।
प्रकाशित: १९ भाद्र २०८२ १९:४८ बिहीबार





