चितवनमा केराको उत्पादन बढेसँगै बजारमा मूल्य घटेको छ। उत्पादनको मुख्य सिजन र भोटेकोसी–त्रिशूली बाढीलगायतका कारण राजधानी लगायतका ठुला बजारमा सहज रूपमा केरा पठाउँन नसक्दा केराको मूल्यमा गिरावट आएको हो।
चितवनको खैरहनीका किसान इन्द्र सुवेदी एक महिनाअघिको तुलनामा अहिले केराको मूल्य घटेको बताउँछन्। ‘मैले आज प्रतिकोसा पाँच रुपैयाँका दरले चिनी चप्पा जातको २० हजार कोसा बिक्री बिक्री गरेको छु, उनले भने, ‘तर घाटा चाहिँ छैन।’
उनका अनुसार प्रतिकोसा तीन रुपैयाँमा बिक्री गरे पनि किसानलाई फाइदा हुन्छ। यसअघि चितवनका किसानले चिनीचम्पा जातको केरा प्रतिकोसा ९ रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए। ‘यसअघि प्रतिघारी एक हजार रुपैयाँमा बिक्री भइरहेको थियो’, सुवेदीले भने, ‘हिजोआज प्रतिघरी ६ सय रुपैयाँमा बिक्री भएको छ।’ उनका अनुसार प्रतिघरी दुई सय कोसा हाराहारी केरा हुन्छ।
चितवनको रत्ननगर नगरपालिका १२ का किसान शंकर सुवेदी अघिल्लो समयको तुलनामा अहिले बजार केही सुस्त छ। उनका अनुसार मालभोग जातको केरा सकिइसकेको छ भने अहिले जि–नाइन जातको केरा बिक्री भइरहेको छ।
‘ठिकै छ। पहिलाभन्दा कम गएको छ। मालभोग सकियो। अहिले जि–नाइन जातको केरा छ। बजार स्लो छ’, सुवेदीले भने। भोटेकोसी–त्रिशूली बाढीपछि बजारमा असर परेको हुनसक्ने उनको भनाइ छ। ‘यो सिजन उत्पादन बढी हुने पनि हो। यद्यपि बाढीको कारणले पनि मूल्य घटेको हुनसक्छ’, उनले भने, ‘उत्पादन बढी हुने समय भएकाले पनि बजारमा आपूर्ति बढ्दा मूल्यमा असर परेको हुन सक्छ ।’
सुवेदीले ६४ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन्। यस वर्षबाट बाह्रै महिना उत्पादन हुने जिनाइन जातको केरा लगाउने सोच उनको छ। ‘यसअघि मालभोग जातको केरा मात्र लगाउँदै आएको थिए। यस वर्षबाट देशलाई आत्मनिर्भर बनाउने गरी बाह्रै महिना उत्पादन दिने जातको केरा लगाउँदै छु’, उनले भने, ‘यस वर्ष तीन बिघा जमिनमा त्यो जातको केरा खेती गरेको छु।’
चितवनका किसानले मालभोग जातको केरा प्रतिकोसा ६ देखि ७ रुपैयाँ र जि–नाइन ४ देखि ५ रुपैयाँसम्म बिक्री हुने गरेको किसानहरूको भनाइ छ। केही समयअघि मालभोग ११ रुपैयाँ र जि–नाइन ८ रुपैयाँसम्म पनि बिक्री भएको उनीहरूले बताएका छन्।
नेपाल केरा उत्पादन महासंघका अध्यक्ष विष्ण्ॉहरि पन्तका अनुसार अहिले केराको मूल्य केही घटेर प्रतिकोसा करिब ४ रुपैयाँसम्म झरेको छ। उनले उत्पादनको समयअनुसार बजार व्यवस्थापन गर्नुपर्ने बताए। बजारमा मूल्य केही घटेको भए पनि किसानहरू भने हालको मूल्यबाट सन्तुष्ट देखिएको उनले बताए। ‘यसअघि उपभोक्तालाई केही अप्ठेरो पर्यो। फागुन, चैत र वैशाखसम्म बजारमा आपूर्ति कायम राख्ने गरी किसानले उत्पादन योजना बनाएको उनले बताए। ‘केरा उत्पादनमा केही समय कठिनाइ भए पनि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई सहज बनाएको छ’, उनले भने, ‘हामीले केरामा आत्मनिर्भर बनाउँदै छौं। अब बजार मूल्य पनि घट्छ।’
नेपालमा केराको खेती हुने क्षेत्रफल पनि पछिल्ला वर्षमा बढेको छ। पन्तका अनुसार यस वर्ष करिब १५ हजार हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ भने अघिल्लो वर्ष करिब १२ हजार हेक्टरमा खेती भएको थियो। उत्पादनसमेत बढेर करिब ९ लाख मेट्रिक टन पुगेको उनको भनाइ छ। दशैं, तिहार र छठसम्म केराको मूल्यमा ठूलो वृद्धि हुने सम्भावना कम रहेको उनीहरूको अनुमान छ। फागुनतिर भने मूल्य बढ्न सक्ने र जेठ–असारमा पुन: बजारमा प्रभाव पर्ने उनी बताउँछन्। चितवनमा केरा सुपरजोन क्षेत्रमा १ हजार ८५० हेक्टरमा केरा खेती हुँदै आएको छ।
प्रकाशित: ३० भाद्र २०८३ १२:२९ मंगलबार


-600x400.jpg)

-600x400.jpg)
