१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

मनाङको पदयात्रा एकसाताका लागि रोकियो

पाहुना गन्तव्यमा पुग्नै नपाई फर्किनुपर्योः व्यावसायी

<br>

हिमपातले रोकिएको मनाङको बाटो डोजर लगाएर खुलेपछि घर फर्किँदै पाहुनाहरु। तस्बिर सौजन्यः विजय केसी

पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भीषण हिमपातले पदयात्रामा रहेका विदेशी र स्वदेशी पाहुनाको पदयात्रा नै बिथोलिएको छ। हिमपातका कारण पदयात्रा पुरा हुन नसक्दा पदयात्रीहरु गन्तव्यमै पुग्न नपाई फर्केका छन। स्थानीय प्रशासनले अझै एकसातासम्म पदयात्रामा नजान पदयात्रीलाई अनुरोध समेत गरेका छन्।  

सोमबार रातीदेखि परेको हिमपातले हिमाली जिल्ला मनाङ र मुस्ताङको जीवनशैली अस्तव्यस्त बनेको थियो। भारी हिपमातले पदयात्रीहरु बाटोमै रोकिएका थिए। गन्तव्य नजिक पुगेका पदयात्रीहरु पनि अन्तिम समयमा गन्तव्यमा पुग्नै नपाई फर्केको पर्यटन व्यावसायीले बताएका छन। स्थानीय प्रशासनले हिमपात रोकिएको भएपनि हिमपहिरो आउन सक्ने जोखिम रहेको भन्दै अझै एकसातासम्म पदयात्रामा नजान पदयात्रीलाई आग्रह गरेका छन।

अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक पाहुनालाई लिएर मनाङ पुगेका पर्यटन व्यावसायी बिजय केसीका अनुसार मंगलबार अस्तव्यस्त रहेको मनाङ क्षेत्रको यात्रा बुधबार केही सहज बनेको छ। हिमपातले रोकिएको मोटरबाटो डोजर लगाएर सफा गरेपछि सुचारु भएको छ। सडक सुचारु भएसँगै निजी सवारीमा गएका पाहुनाहरु धमाधम फर्केका छन। पैदलै गएका र सार्वजनिक सवारीमा गएका पाहुना पनि ओरालो लागिरहेका छन।  

‘सोमबार रातीदेखि परेको हिमपातले रोकिएको मोटरबाटो डोजर लगाएर हिउँ पन्छाएपछि खुलेको छ। खाङसारसम्मकै बाटो खुलेको छ। पदयात्रा भने अझै पनि खुलेको छैन,’ केसीले भने, ‘हिउँ र पानी पर्न बन्द भएपनि पदयात्रा भने अहिल्यै सम्भव छैन। किनकी माथिल्लो भेगमा परेको हिउँले बाटो ढाकेको छ।’

उनले पदयात्रामा गएका स्वदेशी र विदेशी पाहुना गन्तव्यमै पुग्न नसकि फर्केको बताए। ‘अहिले पनि बाटोमा पाहुना छन। केही माथि (मनाङतिर) उक्लिने पनि छन। माथिबाट ओर्लिने धेरैजना छन। खाङसार भन्दा माथि जान अझै सहज छैन,’ उनले भने, ‘मोटरबाटोको हिउँ मात्र पन्छाइएको हो। पदयात्राको हिउँ पग्लेपछि मात्र हिडडुल सम्भव छ।’ तिलिचोका लागि अझै केहीदिन पदयात्रा सम्भव नभएको उनले बताए।  

केसीले आफैले लिएर गएका पाहुनाको टोली पनि तिलिचो बेसक्याम्पबाट माथि जान नसकेको बताए। उनका अनुसार बेसक्याम्पबाट तिलिचो पुग्न कम्तिमा ५ घण्टा लाग्छ। तर, हिमपातका कारण पाहुना जान सकेनन। उनको अनुमानमा मंगलबारको दिन तिलिचो जान नसक्ने आन्तरिक पाहुनाको संख्या करिब ३५० थियो। त्यस्तै ५० जना विदेशी पनि बेसक्याम्पमै रोकिएका थिए।

‘तिलिचो बेसक्याम्पमा रोकिएका करिब ४ सय जना पाहुना माथि उक्लिन नसकेपछि फर्केका छन। खाङसार र श्रीखर्कमा रोकिएका करिब १५० जना जति पाहुनाको यात्रा पनि बिचैमा रोकियो,’ उनले भने, ‘मौसमले गर्दा पदयात्रीको यात्रा बिथोलिएको छ। सिजनको बेलाको पदयात्रालाई हिमपातले अप्ठेरो पारेको छ। अब हिमपात नहुने हो भने केहीदिनपछि बल्ल सहज बन्छ।’ अहिले परेको हिउँ छिटो गरि पग्लने भएकोले घाम लागेको खण्डमा ३/४ दिनमा पदयात्रा सुरु हुनसक्ने उनको आँकलन छ।  

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले पनि मनाङको अवस्था सहज बन्दै गएपनि पदयात्रा भने अझै एकसाताका लागि सम्भव नभएको बताए। उनका अनुसार अबको एकसातासम्म तिलिचो, थोराङला, लार्केपास लगायतका क्षेत्रका उच्च भेगका पदमार्गमा पदयात्रा गराउन रोक लगाइएको छ। 

‘हिउँ पर्न त रोकिएको छ। तर, जोखिम भने अब झनै बढी हुन्छ। किनभने अहिले परेको हिउँको थुप्रो पग्लँदै जाने क्रममा हिमपहिरोको जोखिम रहन्छ,’ उनले भने, ‘हिमपहिरोको जोखिम रहेकोले उच्चभेगको पदयात्रामा जान नदिनेगरि सूचना जारी गरिएको छ। प्रशासनले सहज अवस्था भएपनि पुन सूचना जारी गरेर पदयात्रा खुला गर्नेछ।’

बाक्लो हिमपातका कारण तिचिलो क्षेत्रमा अहिले होटल पनि बन्द रहेको उनले बताए। होटलका संचालकहरु पनि हिमपातपछि तल झरेकोले अहिले माथि उक्लिने पाहुनाले खान र बस्न समेत नपाउने अवस्था रहेको प्रजिअ पौड्यालले बताए। ‘होटल नै बन्द रहेका छन। त्यही भएर पाहुनाले सेवा पनि पाउँदैनन। हिउँ पग्लन थालेसँगै हिमपहिरोका जोखिम पनि बढेको छ। त्यसैले सबैको सल्लाहमा एकसाताका लागि पदयात्रामा रोक लगाइएको छ,’ उनले भने।  

प्रजिअ पौड्यालका अनुसार अनुसार बुधबार डोजर परिचालन गरेर माथिल्लो भेगका सबै पाहुनालाई सदरमुकाम चामे झारिएको छ। करिब १५ सय जना पाहुना बुधबार नै लम्जुङ झरिसकेको उनको अनुमान छ। ‘डोजर लगाएर हिउँ फालियो। त्यसपछि निजी सवारीमा गएका पर्यटकलाई आफ्नै गाडीमा फर्किन लगाइयो। हिडेर वा सार्वजनिक सवारीमा गएका र बीचमै रोकिएका पाहुनालाई जिल्लास्थित सरकारी कार्यालयका गाडीमा चढाएर चामेसम्म झारियो,’ उनले भने, ‘जिल्लास्थित सरकारी कार्यालयका १० वटा गाडीमा पाहुनालाई चामे झारिएको छ। चामेबाट तल ओर्लिन खासै समस्या छैन।’  

धेरैजसो पाहुना आफ्नै वा रिजर्भ गरेर गाडीमा उक्लेका थिए। ती बाहेक मोटरसाइकलमा जानेहरु पनि फर्केका छन। उनले पनि हिमपातले सिजनको पदयात्रामा दख्खल पुगेको बताए। ‘पाहुनाले पदयात्रा पुरा गर्नै पाएनन। धेरै पाहुना बीचबाटै फर्किनुपरेको छ। पदयात्रा भन्दा सुरक्षा महत्वपूर्ण रहेपछि माथि जाने कुरै रहेन,’ उनले भने।  

अर्को हिमाली जिल्ला मुस्ताङमा भने अवस्था सामान्य रहेको त्यहाँ पुगेका पाहुनाले बताएका छन। ‘डाँडाकाँडा सेताम्य भएका छन। तर, मुस्ताङमा खासै समस्या केही छैन। गाडीहरु पनि चलेका छन,’ पोखराबाट घुमघामका लागि गएका देव क्षेत्रीले भने, ‘पाहुनाको भीडभाड भने उत्तिकै छ। आन्तरिकको पाहुनाको समूह घुमघामका लागि आएकोले भीडभाड भने सर्वत्र छ।’

प्रकाशित: १२ कार्तिक २०८२ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App