नेपालमा उत्पादित बिजुलीलाई मुलुकको चौतर्फी विकास र समृद्धिसँग जोड्ने लक्ष्यका साथ ‘पावर नेपाल कन्क्लेव २०८३’ सुरु भएको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आयोजनमा ‘विद्युत् खपतबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ’ भन्ने मूल नाराका साथ राजधानीमा केहीबेर अघिदेखि कार्यक्रम सुरु भएको हो।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गरेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको जलविद्युत क्षेत्रलाई उद्योग, यातायात, रोजगारी सिर्जना र आयात प्रतिस्थापनसँग जोडेर नयाँ पुस्ताको समृद्ध भविष्य निर्माण गरिने दृढता व्यक्त गरे।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको मुख्य प्रायोजनमा आयोजित यस विशेष सम्मेलनमा भारत सरकारका पूर्व सचिव तथा लेखक अनिल स्वरुप प्रमुख वक्ताका रूपमा सहभागी छन्।
उनले नेपालको जलविद्युत विकास र छिमेकी मुलुकहरूसँगको ऊर्जा सहकार्यका रणनीतिक आयामहरूबारे आफ्नो अनुभव र कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
सम्मेलनमा नेपाली बिजुलीलाई केवल निर्यातमा मात्र सीमित नगरी स्वदेशभित्रै औद्योगिक खपत बढाएर उत्पादनमुखी अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने विषयमा बहस हुनेछ।
यस ऊर्जा सम्मेलनमा सिटिजन्स बैंक, बुटवल पावर कम्पनी, डेटा वर्ड र ज्योति विकास बैंक लगायतका प्रतिष्ठित संस्थाहरूले विभिन्न विधाका फ्ल्यागबेयररका रूपमा सहकार्य गरेका छन्।
नागरिकन्युजको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा मुलुकका विशिष्ट नीति निर्माता, ऊर्जा उद्यमी र आर्थिक क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।
प्रकाशित: २४ असार २०८३ १५:१२ बुधबार





