२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

म्याग्दीको बेनी नगरपालिका-३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थालेको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ।

उमेरले ७२ वर्ष पुगेकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको १५ लाख रूपैयाँसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन हुँदै छ।

यस वर्ष उनको बारीमा १० लाखभन्दा बढीको सुन्तला फलेको छ। कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षको कमाइबाट घर ठडिन्छ। सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उनको पहिलो रोजाइमा घर निर्माण परेको हो। यसअघि उनको कच्ची घर जीर्ण थियो।

श्रीमानकाे निधनपछि जोत्ने हलगोरू र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गरेकी कर्णकुमारीको बगैचा अहिले पहेँलपुर छ। मकै, कोदो, गहुँ जस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्षअघि सुन्तलाका केही थान बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर एक हजार ६ सय रूपैयाँ कमाएकी थिइन्। सुन्तलाबाट एक सय, एक हजार हुँदै १५ लाख रूपैयाँसम्म बुझेकी छन्। अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ।

कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दिनचर्या सुन्तला बगैँचामै बित्ने गरेको छ। “आफ्ना सन्तति जस्तै सुन्तलाकाे स्याहार गर्छु, मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन्, बूढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ”, उनले भनिन्।

गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताउँछिन्।

रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका श्रीमानकाे २०६७ सालमा आतङ्ककारीको आक्रमणबाट निधन भएपछि घरव्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताइन्।

सुन्तलाले दैनिकी सहज बनाएको उनको भनाइ छ। सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाह लगायतका घरायसी खर्चसँगै बचत समेत गरेको कर्णकुमारीले बताइन्।

“आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रूपमा बलियो बनाएको छ”, कर्णकुमारीले भनिन्।

सुन्तलाखेती बूढेसकालको सहारा बनेको छ। घरखर्च चलाउन श्रीमान्, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारी खेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ। उनी मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रूपमा चिनिन्छिन्। सुन्तला खरिदका लागि आएका व्यापारीले समेत कर्णकुमारीको बगैँचा पहिलो रोजाइमा पार्छन्।

प्रकाशित: ९ पुस २०८२ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App