सात वटा चिनी उद्योगले संयुक्त वक्तव्य निकालेर अस्विकृत उखुको जात आगामी वर्षदेखि क्रसिङका लागि नलिइने जनाएको छ । उखु किसान र चिनी उद्योग दुवै पक्षलाई घाटा हुने जातका उखुहरु खेती नगर्न किसानहरुलाई उद्योगहरुले संयुक्त अपिल गरेका हुन् ।
सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग लिमिटेड, बाराको मनहर्वा कलैयास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि, रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्टस्ट्रिज प्रालि, महोत्तरी रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि, सर्लाहीको बगदहस्थित महालक्ष्मी सुगर प्रालि, सर्लाहीकै धनकौलस्थित अन्नपूर्ण सुगर एन्ड जेनरल इन्डस्ट्रिज प्रालि र सिराहाको पानवारीस्थित हिमालय सुगर मिल्स लिमिटेडले किसानका लागि संयुक्त वक्तव्य जारी गर्दै रिजेक्टेड जातको उखु नलगाउन अनुरोध गरेका हुन् ।
उद्योगहरुले भोराइटी कस ९२०६, कस ८८२१६, कस ०२३५, कस ९१२६९ (शेरेपन्जाब), बिओ ९१, बिओ १४७, बिओ १३९, बिओ १४१, बिओ १५०, बिओ ११०, कोसे ९२४२३, कोसे ९२२७०, कोप ०२३३, कोप ९३०२, कोप ७२५०, कल्क ८१०२ जातका उखुहरुको खेती नगर्न अग्रिम जानकारी गराएका छन् ।
चिनी उद्योगहरुले यस्ता जातका उखुलाई कमसल प्रजातिको मान्दै किसानहरुलाई खेती नगर्न अपील जारी गरेका हुन् । खेतमा उत्पादन कम हुने, रोग बढी लाग्ने, एउटा खेतमा रोग लागेपछि अरु खेतमा पनि सर्ने तथा चिनी उत्पादन पनि निकै कम हुने भएकाले किसान र चिनी उद्योग दुवै पक्षलाई घाटा हुने जानकारी गराएका हुन् ।
कमसल जातको उखुलाई सिफारिस नगरिएको र सिफारिस नगरिएका जातका उखुहरु लगाएमा आगामी आर्थिक तथा क्रसिङ वर्ष २०८३-०८४ देखि चिनी उद्योगहरुले चिनी खरिद नगर्ने स्पष्ट जानकारी गराएका छन् ।
साथै उद्योगहरुले खेतमा बढी उत्पादन हुने, रोग कम लाग्ने र चिनी पनि बढी दिने जातका उखुको खेती गर्न सिफारिस गरेका छन् ।
उद्योगहरुले उखुका प्रिमियम जातहरु र सामान्य जातहरु पनि सिफारिस गरेका छन् । अग्लो जमिनका लागि कोप ०११८, कल्क १६२०२, कस १७२३१, सिओ ०२३८, सिओ ०२३९, कस १३२३५, को १५०२३, कल्क १४२०१, सिओजे ८५, कस ८८२३० र कोसे ९८२३१ जातका उखुहरु सिफारिस गरेका छन् । यसै गरी होचो जमिनका लागि कल्क ९४१८४, कोप ९३०१, को ९८०१४, युपी ०५१२५ र सामान्य जातमा कस ८२८९ तथा कस ८४३६ जातका उखुहरु उद्योगहरुले सिफारिस गरेका छन् ।
उखु खेती गर्दा टाइकोडर्मा, टिपिएम र कोराजिन अनिवार्य रुपमा प्रयोग गर्न पनि किसानहरुलाई उद्योगहरुले आग्रह गरेका छन् ।
किसानहरुले खोजेको उखुको जातको बिउको पर्याप्त भण्डारण भएकोले आगामि आर्थिक वर्षका लागि चालू आर्थिक वर्षमा खेती गर्न चाहने किसानहरुले नजिकको चिनी उद्योग तथा उखु प्राविधिकहरुलाई सम्पर्क गर्न सक्ने उद्योगहरुले जनाएका छन् ।
उद्योगहरुले सिफारिस गरेका बाहेकको उखुलाई रिजेक्टेड भेराइटीको संज्ञा पनि दिएका छन् । रिजेक्टेड भेराइटीको उखु आगामि आर्थिक वर्षदेखि नलिइने भनी उद्योगहरुले बारम्बार जनाउँदै आएका छन् । अझै पनि पुरानो र परम्परागत जातका उखुहरु किसानहरुले खेती गरिरहेको हुनाले संयुक्त रुपमा सबै चिनी उद्योगले वक्तव्य जारी गरेपछि रिजेक्टेड जातको उखु खेती नहुने विश्वास चिनी उद्योगीहरुको रहेको छ ।
प्रकाशित: २३ माघ २०८२ १९:४९ शुक्रबार





