इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै सूचना प्रविधि (आइटी) मा अवसर बढ्दै गएपछि नेपालका कम्पनीहरूले विदेशमा लगानी गर्ने बाटो खुलेको छ। आइटी सेवा निर्यात गरेर अर्बौं रुपैयाँ आम्दानी हुने भएपछि विदेशी लगानी ल्याउन र नेपाली कम्पनीले विदेशमा लगानी गर्न नेपाल राष्ट्र बैंकले सहजीकरण गरेको छ।
आगामी एक दशकमा करिब ३० खर्ब रुपैयाँ अर्थात् वार्षिक तीन खर्ब रुपैयाँको आइटी निर्यात गर्ने लक्ष्य लिएको सरकारले आइटी क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउन नीतिगत सुधार गरेको हो। नेपाली आइटी निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा १० लाख डलर (करिब १४ करोड ३३ लाख रुपैयाँ) सम्म लगानी गर्न अनुमति दिइएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बताए। ‘हाल निर्यात नगरेका कम्पनीहरूलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको छ,’ पौडेलले भने। पछिल्ला केही वर्षमा नेपालको आइटी क्षेत्रले राम्रो मेहनत गरेको उनले बताए।
विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न सहज बनाएको छ। विदेशी लगानीकर्ताले मुनाफा लैजान राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ। यसले विदेशी लगानी बढ्ने अपेक्षा गरिएको छ। पछिल्ला वर्ष नेपालमा सूचना प्रविधि (आइटी) कम्पनी खोल्ने क्रम करिब १० गुणाले बढेको छ।
इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै नेपालमा आइटीमा अवसर बढ्दै गएपछि स्वदेशी तथा विदेशी लगानीमा कम्पनी खुलेका हुन्। दुई वर्षअघिसम्म वैदेशिक लगानीमा ४० वटाजति आइटी कम्पनी खुलेकोमा पछिल्लो एक वर्षमा करिब चार सय कम्पनी खुलेको गभर्नर पौडेलले बताए। दुई वर्षकै अवधिमा आइटी कम्पनी खेल्ने क्रम १० गुणाले वृद्धि भएपछि आइटी निर्यातकर्ता कम्पनीलाई नेपाल राष्ट्र बैंकले पनि सहजीकरण गरेको छ।
नेपाल राष्ट्र बैंकले आइटी क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन गर्न ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ मा संशोधन गर्दै सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपालबाट पठाउन वा भिœयाउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ।
विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरूले विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेपछि यो क्षेत्रमा वैदेशिक लगानी आकर्षित हुने अपेक्षा गरिएको छ। ‘अब युवाहरूलाई अनुरोध छ, ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस्,’ गभर्नर पौडेलले भने, ‘विश्व बजारमा आँखा लगाउनुहोस्। पखेटा फैलाउनुहोस्।’ उनले यस कार्यमा बैंकिङ क्षेत्रले पनि साथ दिने बताए।
हरेक क्षेत्रमा डिजिटलाइजेसन हुँदै गएपछि स्वदेशमा मात्र प्रयोग गर्ने नभएर अर्बौं रुपैयाँको आइटी सेवा विदेश निर्यात हुन थालेको छ। नेपाल उद्योग परिसंघ आइटी काउन्सिलका अनुसार नेपालबाट वार्षिक करिब एक अर्ब डलरको आइटी सेवा निर्यात हुन थालेको छ।
आइटी सेवा कम्पनी मात्र नभएर व्यक्तिगत रूपमा पनि सेवा निर्यात हुन्छ। सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस) ले गरेको एक अध्ययनमा एक वर्षमै करिब ६८ अर्ब रुपैयाँको आइटी औपचारिक रूपमा निर्यात भएको थियो।
अनौपचारिकसहित अहिले दोब्बर बढेको बताइन्छ। आइटी सेवाअन्तर्गत कम्युटर, इन्टरनेट प्रयोग गरेर हुने सूचना प्रविधिसँग सम्बन्धित सेवा बुझिन्छ। कम्युटर तथा इन्टरनेटसँग सम्बन्धित भएर हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, अनलाइन मार्केटिङ लगायत कामहरू आइटी सेवामा पर्छन्।
विभिन्न कम्पनीले संस्थागत तथा व्यक्तिगत रूपमा पनि यो सेवा निर्यात गर्दै आएका छन्। विश्वबजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र सूचना प्रविधि हो। सबै काम इन्टरनेटको सहायतामा अनलाइनमार्फत हुन थालेपछि यसको माग ह्वात्तै बढेको हो। कोभिडपछि धेरैले अनलाइनबाट काम गर्न थालेपछि आइटीको अवसर बढेको हो। कतिपयले नेपालमै बसेर अमेरिका, भारत, चीन, अस्ट्रेलिया, क्यानडा, युरोपमा आइटीको सेवा दिँदै आएका छन्।
आइटीमा सिप भएका युवाले नेपालमा बसेर लाखौं रूपैयाँ आम्दानी गर्न सक्ने सरोकारवालाहरू बताउँछन्। युवाहरूले आइटीबाट लाखौं कमाइ गरिरहेको अर्थमन्त्री रामेश्वर खनालले बताए।
फर्मर प्लानर फोरम नेपालले आयोजना गरेको छलफलमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन्। काठमाडौंमा खुलेका धेरै चियापसलमा धेरै युवाले आइटी क्षेत्रमा ‘रिमोट वर्कर’का रूपमा काम गरिरहेको बताए। ‘कतिपयलाई लाग्छ - यो कस्तो लफंगो रहेछ तर उसले त्यहाँ बसेर विदेशी कम्पनीमा आइटीको काम गरिरहेको हुन्छ,’ उनले भने।
सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य राखेको थियो। यसरी हेर्दा वार्षिक तीन खर्ब रुपैयाँको आइटी निर्यात गर्ने लक्ष्य देखिन्छ। ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षा लगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालन गर्ने घोषणासमेत सरकारले गरेको छ।
डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र इनोभेसनको प्रवद्र्धन, रोजगारीको सिर्जना, डिजिटल सुशासनका लागि सरकारले काम गर्न सुरुआत गरेको छ। विश्व बजारमा हेरक वर्ष आइटीको माग बढ्दै गएको छ। नेपालबाट सयभन्दा बढी कम्पनीले औपचारिक रूपमा आइटी सेवा निर्यात गर्दै आएका छन्। नेपालमा करिब ८० हजार बढीले आइटी क्षेत्रमा काम गर्दै आएका छन्।
प्रकाशित: १६ पुस २०८२ ०८:५३ बुधबार





