इटहरीका एकपछि अर्को सहकारीमा सदस्यहरूको बचत असुरक्षित बन्दै गएका बेला चारओटा सहकारी संस्थालाई कारबाही गर्न नियमनकारी निकायले प्रक्रिया अघि बढाएको छ ।
सञ्चालकको बदनियत पूर्ण व्यवहारले गर्दा सदस्यहरूको बचत असुरक्षित बनेको उजुरीका आधारमा इटहरी क्षेत्रमै सञ्चालित अङ्कुर, सङ्गालो, सूर्यदय र सन्तोषी बचत तथा ऋण सहकारी संस्थालाई कारबाहीको प्रक्रिया अघि बढाएको हो । यी बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरेको भनी उजुरी परेको र त्यसबारे वास्तविकता बुझ्दा समस्या देखिएकाले गर्दा कारबाही प्रक्रिया अघि बढाएको इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकृष्ण पोखरेलले बताए ।
उनका अनुसार सूर्यदय सहकारी संस्थाले सर्वसाधारणको ८५ लाख तिर्नुपर्नेमा अहिलेसम्म ४८ लाख रुपैयाँ फिर्ता गरिसकेता पनि अरु फिर्ता गर्न बाँकी नै छ । यस्तै, सन्तोषी बचत तथा ऋण सहकारी संस्थाले १२ लाख ४६ हजार ८३५ रुपैयाँ रकम फिर्ता गर्नुपर्ने देखिन्छ । सहकारी सञ्चालकले पैसा फिर्ता गर्ने उपमहानगरपालिकासँग सहमति गरेता पनि सबैको फिर्ता गरी सकेको छैन ।
यस्तै, स्वरोजगार कोषबाट ऋण लिएर नतिरेको भनी सर्जक कृषि सहकारी संस्था इटहरी वडा नं. १३ को पनि उजुरी परेको छ । इटहरी वडा नं. २ मा रहेको गीताञ्जली बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालक समेत कोही पनि पत्ता लाग्न नसकेको सहकारी विभागका प्रमुख पोखरेलले नागरिकलाई बताए ।
पछिल्लो समय सहकारीको उद्देश्यबाट विमुख भई सञ्चालकहरुले मनोमानी हिसाबले सहकारीको पुजिलाई सदस्यहरूमा रित नपुगीकन बिना सुरक्षण ऋण लगानी गरी फिर्ता गराउन नसक्दा सहकारीमा आर्थिक विचलन भएर सदस्यहरूले रकम फिर्ता माग्न थालेको उपमहानगरपालिको प्रतिवेदनमा उल्लेख छ ।
इटहरीमा एकातिर सर्वसाधारणको रकम असुरक्षित भएको विषयमा उजुरी दिनेको संख्या बढी रहँदा कतिपय सहकारीले भने ऋण असुलीमा समस्या भएको भनी उजुरी दिने पनि उत्तिकै छन् । यस क्रममा सिटी, चन्द्र सूर्य, कल्पवृक्ष, टेवा, महेश्वर, समृद्धि, अङ्कुर, विन्दावासिनी, चाहना, कुमारी, मातृशिशु, तलेजुलगायतका २० वटा बचत तथा ऋण सहकारी संस्थाले ऋण असुलीमा समस्या भएको उजुरी दिएका छन् । यी सहकारीले ६ करोडभन्दा बढी ऋण असुल गर्न रहेको उपमहानगरपालिकाको रेकर्डमा उल्लेख छ ।
इटहरीमा यसअघि वडा नं. ९ मा सञ्चालित खनार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, सञ्चालक समिति सदस्य, पूर्व अध्यक्षलगायतले वद्नियत राखेर ठूलो रकम चलाएका थिए । साबिक खनार गाविसभर अर्थात अहिलेको इटहरी वडा नं. १०, ११ र १२ मा काम गर्ने अधिकार क्षेत्र भएता पनि वडा नं. ९ मै मुख्य कार्यालय राखेर सर्वसाधारणसँग निक्षेप संकलन गरी निक्षेप फिर्ता नगरेको घटना बाहिरिएपछि त्यसका अध्यक्ष सुदिप तामाङसहित सञ्चालक समितिका केही पदाधिकारीबिरुद्द उजुरी परेर केही समय जेल सजाय भुक्तान गरी अहिले छुटेका छन् । सहकारी संस्थाले ग्राहकको एक करोड ७५ लाख हाराहारी रकम फिर्ता गर्नुपर्नेछ । अध्यक्ष तामाङसहितको टोली यतिबेला बचतकर्ताको रकम फिर्ता गर्न जुटेको उपमहानगरपालिकाले जनायो ।
प्रभावकारी नियमनको अभाव र गलत क्षेत्रमा लगानी जस्ता कारणले सहकारीमा रहेको सदस्यहरूको बचतकर्ताको निक्षेप असुरक्षित हुने क्रममै इटहरी वडा नं. ६ मा सञ्चालित कामक्ष्यदेवी बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड ४५ लाख ५५ हजार १८३ रुपैयाँ निक्षेप फिर्ता गर्न नसकेपछि अध्यक्ष अनिल गौतमसहित केही व्यक्ति कैद सजाय भोगिरहेका छन् । कामक्ष्दवी सहकारी संस्थाले राष्ट्र बैकको नीति विपरीत विना धितो पैसा लगानी गर्दा र अध्यक्ष गौतमले पनि ठुलै रकम आफ्नो अरु व्यवसायमा लगानी गर्दा सर्वसाधारण ठगिएका हुन् । यस्तै, हलेसी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष मनिता तामाङ र लेखा समिति संयोजक केशव खड्काको मिलोमत्तोमा ५० लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ ।
नियमन र अनुगमन नहुँदा इटहरीमा सञ्चालित सहकारी संस्थाले बचतकर्ताको रकम ठगी गर्ने क्रम बढ्दो छ । जसमा इटहरीमै सञ्चालित हलेसी उपभोक्ता बचत तथा ऋण सहकारी संस्था पनि सहकारी ऐन, नियम र पद्धति अनुसार सञ्चालन नभएको उजुरी उपमहानगरपालिकामा परेको जानकारी दिइयो ।
सञ्चालक समितिका पदाधिकारीको मनपरी, फितलो व्यवस्थापनका कारण इटहरीमा सहकारी संस्थाबाट पीडित बन्नेहरू बढ्दै गएकोमा उपमहानगरपालिका क्षेत्राधिकार भित्र पर्ने सबै सहकारीको सूक्ष्म रुपमा निगरानी अघि बढाएको छ । अहिलेसम्म ५० वटा सहकारी संस्थाको अनुगमन गरिएको छ । इटहरी क्षेत्रमा उपमहानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने १२८ वटा सहकारी संस्था छन् । अरु सहकारी संस्था भने प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्छन्। यहाँ झन्डै एक सय ७५ हाराहारी सहकारी संस्था इटहरीमा रहेका छन् ।
त्यसो त इटहरी क्षेत्रमा सहकारी संस्थाको नीति नियममा रहेर सञ्चालन गर्ने सहकारीमध्ये सात वटालाई इटहरी उपमहानगरपालिकाले सम्मान गरी सकेको छ । यसै क्रममा प्रदेशको क्षेत्राधिकार भित्र पर्ने इटहरीकै किसान कल्याण सहकारी संस्थाले पनि सहकारीको नीति नियमभित्र रहेर आर्थिक कारोबार गर्ने संस्थामा पर्छ । यस संस्थाले आर्थिक वर्ष २०८१/८२ मा गरेको कामहरूको समीक्षा गरी आर्थिक वर्ष २०८२/८३ को वार्षिक लक्ष्य हस्तान्तरण गरेको छ ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा कुल २ करोड ४३ लाख नाफा निकालेको र संस्थागत कोषमा १२ करोड ६४ लाख रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । यस्तै, संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल एक अर्ब ६५ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । अघिल्लो वर्ष कुल एक अर्ब ५० करोडको बजेट ल्याएको साकोसले यो वर्ष १५ करोड बढाएर नयाँ बजेट ल्याएको हो । किसान कल्याण सहकारी संस्थाले इटहरीसहित इनरुवा, वराहक्षेत्र, रामधुनी र गढी गाउँपालिकाका ४८ वटा वडाका बासिन्दालाई सेवा दिँदै आएको अध्यक्ष शालिग्राम ढकालले बताए ।
प्रकाशित: २ भाद्र २०८२ १६:४६ सोमबार





