१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने

चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने भएको छ। चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको सयुक्त आयोजनामा यही माघ २५ गतेदेखि २९ गतेसम्म डेरी एक्स्पो हुन लागेको आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो। ‘प्रविधिमा डेरी अर्थतन्त्रमा समृद्धि’ भन्ने मुल नाराका साथ चितवनको प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ।

दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानलाई प्रोत्साहन गर्नुको साथै औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि मेशिन, उपकरणको अवलोकनका लागि अवसर प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए।

पाँच दिनसम्म सञ्चालन हुने एक्स्पोले डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासहरूलाई प्रोत्साहित गर्नुका साथै किसान, उद्योगी र व्यापारीलाई एकै ठाउँमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। यसबाट व्यवासायिक सञ्जालको अवसर सिर्जना गर्नुका साथै उपभोक्ताहलाई डेरी उत्पादनको महत्व, फाइदा तथा गुणस्तर सम्बन्धी जानकारी दिइने उनको भनाइ छ। ‘यहाँ डेरी जन्य उद्योगका नयाँ उत्पादनहरू लन्च र ब्राण्डिङ गर्ने अवसर प्रदान हुन्छ। डेरी उद्योगको उत्पादकत्व र कार्यदक्षताको वृद्धि गर्ने हाम्रो लक्ष्य छ,’ बगालेले भने, ‘साना किसान र व्यवसायीलाई उचित मार्गदर्शन सहितको तालिम तथा अनुदानको बारेमा जानाकारी दिनु नै एक्स्पोको उद्देश्य रहन्छ।’  

चितवनमा हुन लागेको यो अन्तर्राष्ट्रिय डेरी एक्स्पो दोस्रो संस्करण हो। गत वर्षको एक्स्पो आयोजना गरेपछि दुग्धजन्य उत्पादनको विविधीकरणमा चितवनमा दैनिक १० हजारभन्दा बढी लिटर दुधको खपत हुन थालेको बगालेले जानकारी दिए। एक्स्पोमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरण, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरी जन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धीका स्टल, पशु औषधी तथा भेटेनेरी सेवा सम्बन्धी स्टल, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टल, बैंक तथा बिमा कम्पनी लगायतका एक सयभन्दा बढी स्टलहरू रहनेछन्।

प्रदर्शनीमा डेरीजन्य उत्पादन, मेशिनरी तथा प्राविधिको प्रदर्शनी, कार्यशाला र तालिम समेत सञ्चालन गरिने चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिए। युवा पुस्तालाई डेरी क्षेत्रमा आकर्षण गर्नका लागि डेरीजन्य उद्यमशीलतामा युवाको सम्लग्नता, अवसर र चुनौती विषयक वक्तृत्वकला प्रतियोगिता, डेरी जन्य उत्पादनको विविधीकरणका लागि सरोकारवाला निकायहरूको प्रयास, उपलब्धि र डेरी क्षेत्रका समस्याको दिगो समाधान सम्बन्धी विज्ञहरूको उपस्थितिमा प्यानल छलफल समेत हुने उनले बताए। प्रदर्शनीमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ।

प्रकाशित: ९ पुस २०८२ १८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App