नेपालमा जीवन बिमा व्यवसाय विस्तार हुँदै गएको देखिएको छ। पछिल्ला वर्षहरूमा वित्तीय सचेतनाको वृद्धि, बिमा कम्पनीहरूको सेवा विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा जीवन र स्वास्थ्य जोखिमप्रति नागरिकमा बढ्दो जागरणका कारण जीवन बिमा क्षेत्रमा विशेष सुधार देखिएको हो।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले एक करोड १७ लाख ३७ हजार दुई सय ९८ वटा बिमालेख जारी गर्दै एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६२ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा जीवन बिमा कम्पनीहरूले एक खर्ब ५४ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए। एक वर्षको अवधिमा करिब १९ अर्ब ४५ करोड रुपैयाँ थप बिमा शुल्क संकलन हुनु जीवन बिमा व्यवसायको विस्तारको संकेत भएको सरोकारवालाहरू बताउँछन्।
बिमा क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा आर्थिक अनिश्चितता, स्वास्थ्य जोखिम, प्राकृतिक विपद् तथा आकस्मिक घटनाबाट हुन सक्ने क्षतिको जोखिमबारे नागरिकमा चेतना बढ्दै गएको छ। यसले जीवन बिमाप्रति आकर्षण बढाएको छ।
कोभिड–१९ महामारीपछिको अनुभवले पनि धेरै नागरिकलाई जीवन सुरक्षाको महत्त्व बुझाएको देखिन्छ। परिवारको आर्थिक सुरक्षा, बालबालिकाको शिक्षा, भविष्यका लागि बचत तथा आकस्मिक अवस्थाको आर्थिक व्यवस्थापनका लागि जीवन बिमा प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको छ।बिमा कम्पनीहरूले देशका दुर्गम क्षेत्रसम्म शाखा विस्तार गर्नु, अभिकर्ता सञ्जाल बढाउनु, अनलाइन माध्यमबाट बिमा सेवा उपलब्ध गराउनु तथा नयाँ–नयाँ बिमा योजनाहरू ल्याउनु पनि व्यवसाय वृद्धिका महत्त्वपूर्ण कारण मानिएको छ।
नेपाल बिमा प्राधिकरणले समेत बिमा पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसका साथै सरकारले वित्तीय समावेशिताको नीति अघि बढाएपछि ग्रामीण क्षेत्रका नागरिकसमेत बिमा सेवातर्फ आकर्षित भएका छन्।
समीक्षा अवधिमा कुल बिमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.५३ प्रतिशतले बढी हो।
दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले २२ अर्ब २१ करोड रुपैयाँ बिमा शुल्क संकलन गर्दै १७.४९ प्रतिशतको वृद्धि हासिल गरेको छ। एलआइसी नेपालले १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गर्दै तेस्रो स्थान कायम राखेको छ। हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय १५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने राष्ट्रिय जीवन बिमा कम्पनीले १० अर्ब ६२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ।
त्यस्तै सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड रुपैयाँ, एसियन लाइफले आठ अर्ब ७१ करोड रुपैयाँ तथा सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।
व्यवसाय वृद्धिदरका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले उल्लेखनीय वृद्धिसहित ६ अर्ब १० करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ तथा मेट लाइफले पनि दोहोरो अंकको वृद्धिदर कायम गरेका छन्।
ग्रामीण तथा न्यून आय भएका वर्गलाई लक्षित गरेर सञ्चालन गरिएका लघु जीवन बिमा कम्पनीहरूको व्यवसायमा पनि सुधार देखिएको छ।
समीक्षा अवधिमा सञ्चालनमा रहेका तीन लघु जीवन बिमा कम्पनीहरूले कुल एक करोड ६६ लाख ५५ हजार ४८३ वटा बिमालेख बिक्री गरेका छन्।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ३८ करोड २१ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ३७ करोड ७८ लाख रुपैयाँ तथा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ३० करोड ४५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।
विशेषगरी न्यून आय भएका परिवार, किसान, मजदुर तथा ग्रामीण समुदायलाई लक्षित गरी सञ्चालन गरिएका लघु बिमा कार्यक्रमले बिमा पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएको प्राधिकरणको भनाइ छ।
जीवन बिमा जोखिम व्यवस्थापनको माध्यम मात्र नभई बचत तथा दीर्घकालीन वित्तीय योजनाको उपकरणका रूपमा समेत विकसित भएको छ। बिमित व्यक्तिको मृत्यु भएमा परिवारले आर्थिक सुरक्षा प्राप्त गर्छ। यसले आश्रित परिवारलाई तत्काल आर्थिक संकटबाट जोगाउन सहयोग पु¥याउँछ। कतिपय योजनामा गम्भीर रोग उपचार, दुर्घटना सुरक्षा तथा अतिरिक्त स्वास्थ्य सुविधा पनि समावेश हुने भएकाले जीवन बिमाले बहुआयामिक सुरक्षा प्रदान गर्छ।
जीवन बिमा योजनाले नियमित बचत गर्ने बानीको विकास गर्नुका साथै भविष्यका आवश्यकता पूरा गर्न दीर्घकालीन कोष निर्माणमा मदत गर्छ। बालबालिकाको शिक्षा, विवाह, सेवानिवृत्ति तथा अन्य आर्थिक योजनाका लागि समेत जीवन बिमा उपयोगी माध्यम बन्दै गएको छ।
बिमाको रकम बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोका रूपमा समेत प्रयोग गर्न सकिने भएकाले यसले वित्तीय पहुँच बढाउन सहयोग पु¥याउँछ। नेपालमा बिमा पहुँच विस्तार भए पनि अझै पनि ठूलो जनसंख्या बिमा सेवाबाट बाहिर रहेको देखिन्छ। प्राधिकरणका अनुसार पछिल्ला वर्षहरूमा बिमा पहुँच क्रमशः बढ्दो अवस्थामा छ।
जीवन बिमा कम्पनीहरूले जारी गरेका एक करोड १७ लाखभन्दा बढी बिमालेखलाई आधार मान्दा देशभर बिमा सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिए पनि एउटै व्यक्तिले एकभन्दा बढी बिमा योजना खरिद गरेको हुन सक्ने भएकाले बिमालेखको संख्या र वास्तविक बिमित व्यक्तिको संख्या समान हुँदैन।
प्रकाशित: १२ असार २०८३ १०:४९ शुक्रबार





