१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
अर्थ

असोजदेखि पोखरा-दुबई दैनिक उडान हुने

आगामी असोजदेखि सुरु हुन लागेको पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी र दिगो बनाउन पोखरा महानगरपालिका र एयरलाइन्स कम्पनी फ्लाई दुबईबीच औपचारिक सहकार्य सुरु भएको छ।

उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार दुई निकायबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

पोखरा महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडरिया र फ्लाई दुबईको नेपालस्थित जनरल सेल्स एजेन्ट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईंले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार प्रारम्भिक प्रवर्द्धन अभियानपछि पर्यटन प्रवर्द्धन, गन्तव्यको बजारीकरण र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा निरन्तर सहकार्य गरिनेछ।

समझदारीअनुसार पोखरा महानगरपालिकाले फ्लाई दुबईलाई सहरका सार्वजनिक स्थानहरूमा १५ दिनसम्म निःशुल्क प्रचारप्रसारको व्यवस्था मिलाउनेछ।

साथै, महानगरका आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममार्फत उडानको व्यापक प्रवर्द्धन गरिनेछ। फ्लाई दुबईले भने प्रचार सामग्रीको डिजाइन, छपाइ, ढुवानी र जडानको सम्पूर्ण खर्च व्यहोर्नेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमै फ्लाई दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडानको अनुमति दिएको थियो। सुरुमा एक महिनाका लागि मात्र उडान तालिका सार्वजनिक गरेको कम्पनीले अहिले सन् २०२७ को मार्च २६ सम्मकै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ।

पोखराबाटै २५० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा पहुँच

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछिको यो दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो। यसअघि चीन, भारत र भुटानबाट चार्टर उडानहरू मात्र हुँदै आएका थिए।

विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ मानिने दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा बलियो रूपमा जोड्नेछ। यो उडानमार्फत गण्डकी प्रदेश र आसपासका यात्रुहरू दुबई हुँदै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा सजिलै पुग्न सक्नेछन्।

महानगर प्रमुख आचार्यले यस उडानले पर्यटकीय राजधानी पोखराको पर्यटन, व्यापार र समग्र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

पोखराका पर्यटन व्यवसायीहरूले पनि यस उडानलाई दिगो बनाउन युएईका राजदूत र फ्लाई दुबईका प्रतिनिधिसँग निरन्तर छलफल गरिरहेका छन्।

वैदेशिक रोजगारी, अध्ययन र भ्रमणका लागि जाने यात्रुहरूले अब काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा छ।

प्रकाशित: १८ भाद्र २०८३ १९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App