२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

लेक लागेर ज्यान गुमाउनेमा भारतीय पर्यटक धेरै

लेक लागेर दुईवर्षमा ३८ जनाको ज्यान जाँदा १९ जना भारतीय पाहुना छन्

उच्च हिमाली क्षेत्रमा पर्यटकको सुरक्षाबारे पोखरामा बुधबार आयोजित छलफल। तस्बिरः नागरिक

गत आर्थिक वर्ष (२०८१/८२) अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ जना पर्यटकले ज्यान गुमाए। आर्थिक वर्ष (२०८०/८१) मा लेक लागेर अन्नपूर्ण क्षेत्रमा ज्यान गुमाउने पर्यटकको संख्या २० थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार आर्थिक वर्ष २०८०/८१ मा लेक लागेर ज्यान गुमाएका २० जना मध्ये नेपाली ५, भारतीय ११, बेलायत र युक्रेनका १–१ तथा मलेशियाका २ जना पर्यटक थिए। त्यसैगरि आर्थिक वर्ष (२०८१/८२) मा लेक लागेर ज्यान गुमाएका १८ मध्ये नेपाली ६, भारतीय ८, अमेरिका, कोरिया, जर्मन र स्वीजरल्याण्डका १–१ जना ले ज्यान गुमाएका थिए।  

उच्च हिमाली भेगमा लेक लागेर पर्यटकको ज्यान जाने क्रम बढेपछि पर्यटन क्षेत्रले चिन्ता जनाएको छ। ज्यान गुमाउने पर्यटकमध्ये पनि अधिकांश भारतीय र नेपाली छन। दुइवर्षको अवधिमा ३८ जना पर्यटकको ज्यान जाँदा आधा संख्या (१९ जना) भारतीय पर्यटक रहेको एक्यापको भनाई छ। भारतीयपछि ११ जना नेपाली पाहुनाले पनि दुईवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा लेक लागेर ज्यान फालेका छन।  

उच्च हिमाली क्षेत्रमा जाने पर्यटकमध्ये भारतीय र नेपाली पाहुनाले बढी जोखिम मोल्नुपरेको एक्यापको तथ्यांकले देखाएको छ। व्यावसायीका अनुसार भारतीय र आन्तरिक पाहुनाले अरु विदेशीको तुलनामा बढी जोखिम मोलेर यात्रा गर्ने गरेका छन। जसको कारण ज्यानै जाने जोखिम बढेको उनीहरुको भनाई छ। यही क्रममा उच्च हिमाली क्षेत्रको घुमघाममा पुग्ने पर्यटलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा भएको छलफलमा स्थानीय र पर्यटन व्यावसायीले हतारको यात्राले पर्यटकको ज्यान जाने गरेको बताए। हिमाली क्षेत्रसम्मको हतारको यात्रामा ब्रेक लगाउन पनि उत्तिकै चूनौती रहेको उनीहरुको भनाई छ।

पछिल्ला वर्ष नेपालको तराई र सिमावर्ती भारतीय शहरबाट पर्यटकबाट आएका भारतीय पर्यटक एकैदिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम बढेपछि जोखिम थपिएको उनीहरुको भनाई छ। समुन्द्र सतहबाट एकसय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३ हजार ७ सय १० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नै जोखिमपूर्ण रहेको उनीहरुले बताए।

गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले अन्नपूर्ण क्षेत्रको मूल आधार भनेकै पर्यटन भएकोले पर्यटन क्षेत्र सुरक्षित हुनुपर्ने बताए। उनले पुगेका पाहुना सुरक्षित तरिकाले फर्किने गरि व्यवस्थापन गर्नुपर्ने पनि बताए। ‘अन्नपूर्ण क्षेत्रभित्र गएका पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा पाहुना सुरक्षित हुन्छन।’  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने बताए। भारतीय पर्यटक रातारात मुक्तिनाथ पुगेर फर्किने गरेको उनले बताए।

 ‘मुस्ताङ र पोखरा दुवै ठाउँमा रातै नकाटि फर्कने परिपाटीले उनीहरुमा सुरक्षा जोखिम बढेको हो,’ अध्यक्ष सुवेदीले भने, ‘पाहुनाको बसाई अवधि पनि छोटिएको छ।’ हतारमा यात्रा पुरा गर्नेगरि जोखिम मोल्दा लेक लागेर कतिपय भारतीय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले बताए। ‘हतारको यात्राले नै भारतीय र नेपाली पाहुनाले धेरै संख्यामा ज्यान फालेको हुन्,’ उनले भने।  

होटल संघ नेपालका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई सहीसूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे। यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आवश्यकता समेत रहेको उनले औंल्याए। पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण हुने उनले बताए।  

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्ति बढेको बताए। ‘हतारका यात्रा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ,’ उनले भने, ‘यसमा व्यावसायी पनि इमान्दार बन्नुपर्छ। हतारको यात्रा प्रवृत्तितालाई रोक्नै पर्छ। भारतीय र नेपालीले यात्रामा बढी हतार गर्छन। तर, तेश्रो मुलुकका पाहुनाले यात्रामा अलि सचेतना अपनाउँछन।’

हतारको यात्राले आन्तरिक र भारतीय पर्यटकले ज्यान गुमाउने यस्ता घटनाक्रबाट सिंगो पर्यटन क्षेत्र प्रभावित हुने पनि उनले बताए। ‘आउन चाहेका पर्यटक पनि तर्सिएर नआउन सक्छन वा अन्यत्र मोडिन सक्छन। गन्तव्य सुरक्षित नभएको सन्देश प्रवाहित हुन सक्छ,’ उनले भने। बोर्डरबाटै भित्रिएदेखि भारतीय पर्यटकलाई मुक्तिनाथसम्म पुर्याएर फर्काउने गरि व्यवासायीले नै मनलाग्दी गरिरहेको उनले बताए।  

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट झन्डै २८ सय मिटर माथिको उचाईमा पुग्नु जोखिमपूर्ण हुने बताए। ‘हतारको यात्राले निम्त्याउने जोखिमबारे धेरै पर्यटकले थाहा नपाएको हुन सक्ने भएकोले पनि पाहुनालाई बेलैमा सूचना दिनुपर्छ,’ उनले भने, ‘पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्छ। तराइको समथर ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला भन्ने खालको सोच राख्ने गरेको उनले सुनाए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए। एक्याप क्षेत्रमा २ हजार ४ सय ५० होटल रहेको तथ्यांक दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाई राखे। अन्नपूर्ण क्षेत्र साहासिक पर्यटकीय क्षेत्र भएकोले पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवाला मिलेर काम गर्नुपर्ने उनले बताए।  

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेनामूलक पुस्तिका वितरण गर्ने र आवश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव दिए। पदयात्रा व्यवासायीको छता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षालाई निश्चित गरिनुपर्ने सुझाव राखे।  

प्रकाशित: ४ भाद्र २०८२ १८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App