पछिल्लो समय पोखरामा भारतीय पाहुनाको अधिक भीडभाड छ। भारतीय पाहुनाको यो भीड पोखरामा मात्र नभई हिमाली जिल्ला मुस्ताङसम्म पनि उत्तिकै छ। मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भारतीयका कारण भीडभाड छ। पोखरा र आसपासका सबैतिरका पर्यटकीय क्षेत्रमा अहिले भारतीय पाहुनाको अधिक भीड लाग्दा यहाँका पर्यटन व्यवासायी खुसी छन्।
पाहुना बढ्दा यहाँका होटलको अकुपेन्सी अकाशिएको छ। व्यावसायीका अनुसार अघिल्ला वर्ष यो बेला पोखराका होटलको अकुपेन्सी २० प्रतिशत हाराहारीमा हुन्थ्यो। तर, यो पटक भने पोखराले यतिबेला ९० प्रतिशतसम्म अकुपेन्सी उकास्न सफल भयो। भारतीय पाहुनाको आगमनको यो प्रभावले पोखराको पर्यटन क्षेत्र सुस्ताउने यो समयमा निकै नै उकासिएको उनीहरुको भनाई छ।
भारतीय पर्यटकको आगमन बढेसँगै यहाँ व्यवस्थापनबारे केही गुनासाहरु पनि सार्वजनिक भएका थिए। सामाजिक सञ्जालदेखि सार्वजनिक रुपमा पनि पाहुनाको भीडभाडसँगै व्यवस्थापन अब्बल नभएको व्यावसायीले गुनासो पोख्न थालेका थिए। त्यसबाहेक घुम्न आएका ती भारतीय पर्यटकका गतिविधिलाई लिएर आलोचना समेत बढेको थियो।
पाहुनाका गतिविधिका कारण आलोचना बढन् थालेपछि पर्यटन बोर्डले भारतीय पाहुनालाई लक्षित गर्दै नेपाल यात्रामा गर्न हुने र गर्न नहुने भनेर ‘गाइडलाइन’ नै सार्वजनिक गरेको छ। बोर्डका अनुसार विभिन्न नाकाबाट भित्रिएका पाहुनाले नेपाल यात्रामा अपनाउनुपर्ने सचेतनाबारे उक्त सूचनामा उल्लेख गरेको छ। बोर्डका अनुसार स्थलमार्गबाट आउने पर्यटकले नेपाल प्रवेश गर्दा नेपाल सरकारको भन्सार विभागबाट प्रवेश अनुमति (अनलाइन वा भौतिक) लिनुपर्ने उल्लेख छ। अनुमति लिँदा सवारीसाधनमा रहेका यात्रुको नामावली, उमेर, लिंग, नेपालमा बस्ने अनुमानित दिन संख्या र भ्रमण गर्ने स्थानबारे पनि विवरण दिन बोर्डले आग्रह गरेको छ।
भारतीय नागरिकलाई नेपाल प्रवेशमा भिसा आवश्यक नपरेपनि प्रवेशका लागि वैध कागजात पेश गर्न पनि बोर्डले आग्रह गरेको छ। नेपालका सडक विशेष गरी पहाडी क्षेत्रमा साँघुरा तथा धेरै मोड भएकोले यात्राभरि आफ्नो सवारीसाधन राम्रो अवस्थामा राख्न बोर्डले अनुरोध गरेको छ। नेपालका सडकमा सवारी चलाउने भारतीय चालक अनुभवी हुनुपर्ने र नेपालको भौगोलिक बनावट, जलवायु तथा मौसमबारे राम्रो ज्ञान भएको हुनुपर्ने पनि उल्लेख गरिएको छ।
त्यसबाहेक तीर्थस्थल सफा राख्न, उचाइका कारण हुने स्वास्थ्य समस्याबाट बच्न आवश्यक परे बोतलमा भरिएको अक्सिजन साथमा लैजान बोर्डले पर्यटकलाई अनुरोध गरेको छ। आफुले प्रयोग गरेका कपडा, सामग्री वा फोहोर तोकिएको स्थानबाहेक अन्यत्र फाल्नु नियमविपरीत रहेको र कानुनी कारवाही समेत भोग्नुपर्नेमा पनि बोर्डले पाहुनालाई सजग गराएको छ। आफैं खाना पकाउने योजना भएमा होटल वा सम्बन्धित निकायसँग पूर्वसम्पर्क गरी आवश्यक अनुमति लिन पनि बोर्डले पाहुनालाई अनुरोध गरेको छ।
स्थानीय संस्कृति र परम्पराको सम्मान गर्न, स्थानीय संस्कृति, परम्परा र नागरिकको सम्मान गर्न पनि बोर्डले अनुरोध गरेको छ। त्यसैगरि सभ्य र सम्मानजनक भाषा प्रयोग गर्न, शालिन पोशाक लगाउन पनि बोर्डले पाहुनालाई अनुरोध गरेको छ। ‘नेपालको भ्रमण अवस्थाबारे थाहा नहुँदा कहिलेकाँही समस्या हुने गरेको छ। खासगरी भारतीय पर्यटकलाई समस्या परेको छ। त्यसैले पाहुनालाई यात्रा अवधिमा अप्ठेरो नपरोस भनेर सचेत गराइएको हो,’ बोर्डका गण्डकी प्रदेश प्रमुख वरिष्ठ निर्देशक मणिराज लामिछानेले भने।
यो पटक सोचे भन्दा बढि आकारमा भारतीय पाहुना भित्रिएकोले पनि उनीहरुलाई यात्रा दौरान गर्न हुने नहुने भनेर सचेत बनाएको उनले बताए। अहिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचना केही समयमा विमानस्थलमा डिजिटल बोर्ड तथा चोकचोकमा पनि डिस्प्ले गर्ने योजना रहेको लामिछानेले बताए।
‘नेपालको गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गर्नका लागि पनि यो सूचना जारी गरिएको हो। नेपाल भित्रिएका भारतीय पाहुनाले नेपालमा के गर्ने वा नगर्ने भनेर जान्नुपर्छ। यसलाई हिन्दी भाषामा पनि सार्वजनिक गर्ने हो,’ उनले भने, ‘चालकले सडकको अवस्थाबारे जानकारी पाउँदा दुर्घटनाको जोखिम कम हुन्छ। नेपालको बाटोघाटो, वातावरण् बारे चालक पनि सचेत हुनुपर्छ।’
उनका अनुसार अहिले भारतीय पर्यटकले नेपाल घुम्न आउँदा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको भारतीय रकम लिएर आउन पाँउछन्। यो रकम केही समय पहिला २५ हजार रुपैयाँको सीमा थियो। तर, अहिले त्यो रकमको आकार ४ लाख ७५ हजार भारतीय रुपैयाँ (५ हजार डलर) रहेको उनले बताए।
होटल संघ गण्डकी अध्यक्ष हरि शर्मा पनि पाहुना आगमन बढेको भएपनि अब व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँछन। ‘यो पटक भारतीय पर्यटक आगमन हामीले सोचेभन्दा राम्रो भयो। तर, व्यवस्थापन सहज नभएमा त्यसले असर पार्छ। त्यसका लागि ठाउँठाउँमा पूर्वाधार बनाउनुपर्छ,’ उनले भने, ‘पूर्वाधार मात्र बनाएर हुँदैन, नेपाल भित्रिएका पर्यटकले के गर्न हुने र नहुने भनेर पनि जान्नुपर्छ। त्यो जानकारी दिने जिम्मा सरकार, पर्यटन बोर्ड र व्यावसायीको हो।’
अहिलेको आगमनको भीडभाडका कारण आगामि सिजनमा अझ बढ्ने अपेक्षा व्यावसायीको छ। त्यसैले ठूलो संख्यामा नेपाल भित्रिएका ती पर्यटकलाई बोर्डरमै उनीहरुलाई के गर्न हुने र नहुने भनेर सचेत बनाउनुपर्ने उनले बताए। ‘पाहुना पनि सचेत हुनुपर्छ। हामी व्यवासायी पनि सुध्रिनुपर्छ। काुनन पालना गर्नुपर्छ। पर्यटकलाई पनि सही जानकारी दिनुपर्छ। व्यावसाय भयो भनेर मात्र हुँदैन, दायित्वबाट पन्छिन मिल्दैन,’ उनले भने, ‘पर्यटक भित्रिँदा राज्यलाई लाभ भएको छ। त्यसैले व्यवस्थापनमा सहकार्य गनुपर्छ।’
प्रकाशित: २ असार २०८३ १८:०२ मंगलबार





