३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

फाइल।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् उत्पादनमा क्षति पुगेपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ।

भारत सरकारको ऊर्जा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपाललाई संकटको समयमा ऊर्जा सहयोग गर्ने निर्णय भएको औपचारिक जानकारी दिएको हो।

मन्त्रालयका अनुसार यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई दैनिक १८ घण्टा उक्त परिमाणमा विद्युत् उपलब्ध गराइनेछ।

भारतले दुईवटा अन्तरदेशीय प्रसारण लाइनमार्फत यो विद्युत् प्रवाह गर्नेछ। जसअनुसार मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत् नेपाल भित्रिनेछ।

यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले विभिन्न जलविद्युत् आयोजनाका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि मुलुकको राष्ट्रिय प्रसारण प्रणालीमा उत्पादन घटेको थियो।

असहज र कठिन परिस्थितिमा नेपाललाई आवश्यक सहयोग गर्न तथा दुई देशबीचको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउन यस्तो कदम चालिएको भारतीय ऊर्जा मन्त्रालयले जनाएको छ।

यसैबीच, सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातका विषयमा भने आगामी सन् २०२६ को डिसेम्बरमा द्विपक्षीय समीक्षा गरी थप निर्णय लिइने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ भाद्र २०८३ १९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App