चितवनको माडी नगरपालिकामा प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउँदै वातावरणमैत्री विकल्पका रूपमा सालका पातबाट दुना–टपरी उत्पादन गर्ने अभियान अघि बढेको छ। स्थानीय बासिन्दा, महिला समूह तथा सामुदायिक वन उपभोक्ता समितिहरू मिलेर यो कार्यलाई आयआर्जन र वातावरण संरक्षणसँग जोड्दै अघि बढाएका छन्।
माडी नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा दुई वटा मेसिन स्थापना गरी दुना–टपरी उद्योग सञ्चालन गरिएको हो। माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले प्लास्टिकको प्रयोग घटाउन दुना–टपरी उत्पादनमा लगानी गरिएको बताइन्।
“हामीले माडीलाई प्लास्टिकमुक्त घोषणा गर्ने योजना बनाएका छौं। प्लास्टिकको विकल्प दिन सकेमा स्थानीयलाई स्वरोजगारसँगै वातावरणमैत्री नगर बनाउन सहज हुन्छ,” उनले भनिन्, “फालिने सालका पातबाट महिलाहरूले आम्दानीसमेत गर्न थालेका छन्।”
चालु आर्थिक वर्षको सुरुवातदेखि माडी नगरपालिका–८, अयोध्यामार्गस्थित फूलबारी आमा समूह र वडा नम्बर–४ को कार्यालयमा मेसिन स्थापना गरी उत्पादन भइरहेको छ। फूलबारी आमा समूहकी सचिव सोमा देवी पन्तका अनुसार आम्दानीभन्दा पनि वातावरण संरक्षणलाई प्राथमिकता दिँदै उद्योग सुरु गरिएको हो।
“लागत र समय हेर्दा धेरै फाइदा छैन, तर प्लास्टिक निषेध क्षेत्र बनाउन सकारात्मक ऊर्जा मिलेको छ,” उनले भनिन्, “वातावरण संरक्षण पैसासँग तुलना गर्न सकिँदैन।”
यस अभियानबाट विशेषगरी महिलाहरूलाई घरमै बसेर रोजगारी पाउन र अतिरिक्त आम्दानी गर्न सहयोग पुगेको छ।
“पहिले सालका पात खेर जान्थे, अहिले तिनै पातबाट दुना–टपरी बनाएर आम्दानी गर्न सकेका छौं। बजारमा पनि यसको माग बढ्दो छ,” समूहका सदस्यहरूले बताएका छन्। विवाह, भोजभतेर तथा धार्मिक कार्यक्रमहरूमा प्लास्टिकको सट्टा दुना–टपरी प्रयोग गर्ने चलन विस्तार हुँदै गएको छ।
समूहमा ३२ जना सदस्य छन्। उनीहरू नजिकैको मध्यवर्ती सामुदायिक वनबाट पात संकलन गरी सुकाएर मेसिनमार्फत दुना–टपरी उत्पादन गर्छन्। उनीहरूले एउटा टपरी ५ रुपैयाँ र दानाको आकारअनुसार १ देखि ३ रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। दैनिक तीन सयभन्दा बढी दुना–टपरी उत्पादन गर्न सकिने समूहले जनाएको छ।
हाल उनीहरूलाई बिक्रीमा खास समस्या छैन। स्थानीय बजारमै माग बढ्दो रहेको उनीहरूको भनाइ छ।
“अहिले स्थानीय बजारमै बिक्री गर्न भ्याइरहेका छैनौं, माग दिनदिनै बढिरहेको छ,” एक सदस्यले भनिन्।
फूलबारी टोल विकास संस्था माडीको नमुना टोलसमेत हो, जहाँ सरसफाइमा विशेष ध्यान दिइन्छ। सरसफाइ अभियानकै क्रममा आमा समूह गठन गरी मेला–पर्वमा प्लास्टिकको सट्टा दुना–टपरी प्रयोग गर्न थालिएको थियो, जसबाट यस व्यवसायको सुरुवात भएको हो।
मध्यवर्ती सामुदायिक वन क्षेत्र र राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि प्लास्टिकको प्रयोग न्यूनिकरण गर्ने नीतिअनुसार यस्ता वातावरणमैत्री उद्योगलाई प्रोत्साहन गर्दै आएका छन्। कोषका कार्यक्रम अधिकृत ऋषि सुवेदीका अनुसार महिलाहरूलाई आयआर्जनमा प्रोत्साहन गर्न तालिम, उपकरण र बजारीकरणमा सहयोग गरिएको छ।
उनका अनुसार सालका पातबाट बनेका सामग्री जैविक रूपमा सजिलै कुहिने भएकाले वातावरणमा कुनै नकारात्मक असर पर्दैन। यसले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा पनि सहयोग पुर्याउने विश्वास गरिएको छ।
यसअघि नगरपालिकाको कार्यपालिकाले प्लास्टिकजन्य भाँडा (किचन सामग्री) र कालो प्लास्टिक झोलाको बिक्री वितरणमा रोक लगाउने निर्णय गर्दै एक महिनाको समयसीमा दिई सूचना जारी गरेको थियो।
प्रकाशित: ८ चैत्र २०८२ १८:३४ आइतबार





