खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले ५ सय क्विन्टल चामल बिक्री नभइञ्जेलसम्मका लागि छुटसहितको मूल्यलाई कायम राख्ने भएको छ।
कार्यालयका सूचना अधिकारी जलान्धरप्रसाद यादवका अनुसार आइतवारसम्ममा ३ सय १९ क्विन्टल चामल छुटसहितको मूल्यमा बिक्री भइसकेको छ। अब बाँकी १ सय ८१ क्विन्टल चामल बिक्री भइञ्जेलसम्म सुपथ मूल्यको छुट बजार कायम रहने यादवले जानकारी दिए।
पाँच सय क्विन्टल चामल छुटसहितमा बिक्री भइसकेपछि कार्यालयले फेरि साविक मूल्यमै चामल बिक्री गर्ने यादवले बताए। कार्यालयले अहिलेसम्म सोना मन्सुली १ सय २० क्विन्टल बिक्री गर्दा ६० हजार रुपैयाँ छुट दिएको छ। यादवका अनुसार कुल ७ लाख ६८ हजार मूल्य बराबरको चामल बिक्री गर्दा ६० हजार छुट दिई ७ लाख ८ हजार रुपैयाँ आम्दानी बाँधिएको छ।
उता १ सय ९९ क्विन्टल स्टिम जिरा बिक्री गर्दा १७ लाख ९१ हजार ५ सय रुपैयाँ हुनुपर्नेमा ९९ हजार ५ सय रुपैयाँ छुट दिई १६ लाख ९१ हजार ५ सय रुपैयाँ आम्दानी बाँधिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले जनाएको छ।
कार्यालयले स्टिम जिरा मसिनो चामल ९ हजार रुपैयाँ प्रति क्विन्टल र सोना मन्सुली चामल ६ हजार ४ सय रुपैयाँ प्रति क्विन्टलमा बिक्री गर्दै आएको छ। छुट सहितको सुपथ मूल्य बजार कायम हुँदा दुवै प्रकृतिका चामलमा प्रति क्विन्टल ५ सय रुपैयाँ छुट दिएर बिक्री हुन्छ। खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य बजारमा छुट सहितको मूल्य सार्वजनिक गरेको थियो।
कार्यालयले आव २०८१।८२ मा कुल १ करोड ५५ लाख ८७ हजार ४ सय ५० रुपैयाँको चामल बिक्री गरेको बताएको छ।
प्रकाशित: १६ कार्तिक २०८२ १३:२३ आइतबार




-600x400.jpg)
