५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम साढे ७ अर्ब नजिक

बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार बढेपनि सोमबार र मंगलबार घटेको नेप्से बुधबार भने २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.७६, फ्लोट इण्डेक्स १.७६ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंकले बढेको पनि समग्र नेप्सेमा सुधार देखियो ।  

मंगलबार साढे ६ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज भने झण्डै साढे एक अर्ब बढीको कारोबार भएको छ । ३१६ स्टकको ६२ हजार ८८४ पटकको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।  

आज बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.२१ प्रतिशतले र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको राधी विद्युत कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको साढे ३६ करोडभन्दा बढीको र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम ३५ करोड नाघेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ४.४१ प्रतिशतले घटेको छ।  

१३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।  

बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत, लगानी उपसमूहको परिसूचक १ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब १ प्रतिशतले वृद्धि भएको छ । वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य प्रतिशतले घटेको हो।

प्रकाशित: २५ असार २०८२ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App