१८ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मुड्केचुला गाउँपालिका-४ इलामा बिहीबार आयोजित एक विशेष समारोहमा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघीय, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व एवं लगानीमा अघि बढेको यो आयोजना कर्णाली प्रदेशकै ऊर्जा र आर्थिक विकासका लागि कोशेढुङ्गा साबित हुने बताए।

ऊर्जा सचिव सरिता कुमारी दवाडीले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै सम्बद्ध निकायहरूबाट आवश्यक सहजीकरण हुनुपर्नेमा जोड दिइन्।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण भइरहेको यस आयोजनाको मुख्य भौतिक निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ।

कम्पनीले यसबाहेक अर्को १२४.३५ मेगावाट क्षमताको जगदुल्ला-ए आयोजनाको पनि विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न गरिसकेको छ।

विद्युत् उत्पादनसँगै यस आयोजनाले डोल्पाको भौतिक पूर्वाधार विकासमा ठूलो योगदान पुर्‍याएको छ। कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, पहुँच मार्ग र १० वटा बेली पुल निर्माण गरिसकेको छ। जसका कारण नेपालगञ्जबाट डोल्पा पुग्न लाग्ने तीन दिनको यात्रा अहिले एकै दिनमा सम्भव भएको छ।

परियोजनाको कुल ऋण लगानी करिब १६ अर्ब ६६ करोड रुपैयाँ नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल लगायतका स्वदेशी बैंक तथा वित्तीय संस्थाको सहलगानीबाट जुटाइएको छ।

यस आयोजनामा सरकारी पक्षको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहनेछ। जसमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत र प्रसारण लाइनको ‘राइट अफ वे’ भित्र पर्ने जग्गाधनीका लागि थप ३ प्रतिशत सेयर सुरक्षित गरिएको छ।

आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा कर्णाली प्रदेश सरकार र स्थानीय तहले जनही करिब ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ। यसले रारा, शे-फोक्सुण्डो र जगदुल्ला ताल क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत दीर्घकालीन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १८ असार २०८३ २१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App