आन्तरिक र बाह्य पर्यटकको भीडभाड भईरहँदा हिमाली क्षेत्रमा पछिल्लो समय भारी हिमपात भयो। हिमपातले उच्च भेगका पदमार्ग अवरुद्ध भए भने पर्यटकको यात्रा पनि बिचमै अवरुद्ध भयो। हिमपातले गर्दा धेरै पाहुनाले गन्तव्य तय गर्न पाएनन। हिमपातको मारमा परेका पाहुनाका लागि गन्तव्य चुम्ने चाहना अपूरै रह्यो। पाहुनाहरु यात्रा पुरा गर्न नपाउँदा खिन्न बनेर फर्किनु पर्यो।
यो पदयात्राको सिजन हो। नेपालमा यो सिजनमा पदयात्रामा आउनका लागि कतिपय विदेशी पाहुनाले वर्षाैअघि योजना बनाएका हुन्छन। व्यावसायीका अनुसार पदयात्राका लागि उपयुक्त सिजन कुर्नुपर्ने भएकोले यो बेलाका लागि धेरै पाहुना नेपाल भित्रिएका थिए। कतिपय पाहुना भित्रिने तयारीमै थिए। तर, हिमपातले ती पाहुनाको यात्रा सकसपूर्ण बनायो भने कतिपय पाहुना गन्तव्यको नजिकैबाट फर्किनु परेको छ।
‘यो सिजन विदेशीका लागि उपयुक्त हो। तर, धेरै पाहुनाले यो पटक गन्तव्य तय गर्न पाएनन। चल्तीका पदयात्रा क्षेत्रमा भीषण हिमपात हुँदा पर्यटकको यात्रा रोकियो,’ पदयात्रा व्यवासायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्ण आचार्य भन्छन, ‘विदेशी पाहुनाले वर्षाै अघिदेखि योजना बनाएर पदयात्रामा आउँछन। कतिपय पदयात्री गन्तव्यको नजिकै पुगेका थिए। तर, एकाएक परेको हिमपातले पदयात्रीलाई गन्तव्य चुम्न दिएन। गन्तव्यमा पुग्नै नपाई पाहुना फर्किनुपर्यो।’
‘मौसमी चूनौतीले पदयात्रा रोकिएको भएपनि पदयात्राको चाहना पुरा नहुँदा पाहुना दुखि हुनुपर्यो। बिचमै विथोलिएको यात्राले धेरैको यात्रा अपूरो रह्यो,’ आचार्य भन्छन, ‘आन्तरिक पाहुना त फेरि पनि जान सक्छन। तर, ठूलो रकम खर्चेर आउने विदेशी पाहुना दोहोर्याएर नआउन पनि सक्छन।’ बीचबाटै फर्किुनपरेका पाहुना पुन त्यहि रुटमा पदयात्रामा जाने अवस्था नरहन पनि सक्ने उनले बताए।
‘मौसममा अझै सुधार आईसकेको छैन। समुन्द्री सतहदेखि ३५ सय मिटर माथिको पदयात्रा अहिलेका लागि उपयुक्त छैन,’ उनले भने, ‘अझै केहीदिन उच्च भेगको यात्रा सहज छैन। स्थानीय प्रशासनले पनि रोक लगाएको छ।’
उनका अनुसार अन्नपूर्ण क्षेत्रको तिलिचो, थोराङला भञ्ज्याङ, माथिल्लो मुस्ताङ, मर्दी हिमाल लगायतका क्षेत्रमा गएका विदेशी पाहुना गन्तव्यमा पुग्नै नपाई फर्केका थिए। जेनजी आन्दोलनपछि सुस्ताएको पर्यटन आगमनमा पछिल्लो समय केहीदिनदेखि सुधार देखिएको भएपनि मौसमले साथ नदिएको अध्यक्ष आचार्यले बताए।
पदयात्रा व्यावसायी धर्मराज पन्थी पनि कतिपय पाहुना मनाङमै पर्खेर बसेको बताउँछन। ‘थोराङला पासका लागि गएका पर्यटक मनाङमै रोकिएका छन। केहीदिन रोकिएर उकालो लाग्ने भनिएको छ। तर, अझै सहज बनिसकेको छैन,’ पन्थी भन्छन, ‘मौसम विभागले बेलैमा जानकारी गराएकोले पदयात्रामा यो पटक क्षति भने भोग्नुपरेन। तर, पाहुनाको यात्रा लम्बियो। कतिपयले यात्रा नै पुरा गर्न पाएनन्।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि उच्च हिमाली क्षेत्रको पदयात्रामा आएका धेरै पाहुना बिचबाटै फर्किनुपरेको बताएको छ। हिमपातका कारण पाहुनाले गन्तव्य तय गर्न नपाएको एक्यापको भनाई छ। ‘अन्नपूर्ण आधारशिविर हिडेका पाहुना समेत बीचबाटै फर्किनुपरेको छ। धेरै पाहुनाले यो पटक पदयात्रालाई अपूरो राख्नुपरेको छ,’ एक्याप प्रमुख रविन कडरिया भन्छन, ‘पदयात्रामा हिमपातले जोखिम थपिएको छ । सचेत त हुनैपर्छ। बाक्लो जमेको हिउँ पग्लिँदै जाने क्रममा हिमपहिरो समेत झर्ने त्रास हुने भएकोले पनि पाहुनालाई पदयात्रामा जानबाट रोकिएको छ।’
उनले पनि धेरै पाहुनाको पदयात्रा अपूरो रहेको बताए। एक्यापले तीनिदन अघि नै उच्च हिमाली भेगमा हिमपातका कारण जोखिम बढ्न सक्ने भनेर पदयात्रामा नजान पाहुनालाई अनुरोध गरिसकेको थियो। ‘पदयात्राका लागि भनेर पहिल्यै अनुमति लिएर बसेका छन। उनीहरुमध्ये केहीले त पदयात्रा थालेका पनि थिए। तर, गन्तव्यमा पुग्नै पाएनन,’ उनले भने, ‘जोखिम बढ्नसक्ने त्रास छ। घटना हुनुभन्दा पहिल्यै सचेत हुन सके क्षति कम हुन्छ। स्थानीय प्रशासन पनि यसबारेमा योपटक अलि बढी नै सचेत छ।’
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल तिलिचो र थोराङला भञ्ज्याङ पदमार्गमा पदयात्रा अझै सुरु नभएको बताउँछन। ‘मनाङबाट पाहुनालाई माथि पठाइएकै छैन । ना–फू जानेलाई कोतोमै रोकिएको छ। तिलिचो र थोराङला पदमार्गमा त जाने बाटो नै छैन,’ प्रजिल पौड्यालले भने, ‘तिलिचो र थोराङलाको पदमार्ग नै हिउँले पुरिएको छ। पदमार्ग नै पहिचान गर्न सकिन्न।’ उनले तिलिचो पदमार्गको पदयात्रा तत्कालै सम्भव नभएको बताए।
‘तिलिचो बेसक्यापसम्म पनि जान सकिन्न। तत्कालै तिलिचोको यात्रा सम्भव छैन हिउँ पग्लेपछि मात्र तिलिचो खुल्छ। अधिक हिउँ परेपछि तिलिचो बेसक्याम्प पनि रित्तिएको छ,’ उनले भने।
थोराङलातिरको पदमार्गमा भने व्यावसायी र गाइड मिलेर खुलाउने तयारी रहेको उनले बताए। उनका अनुसार अहिले पनि थोराङला पदमार्गमा जाने भनेर विदेशी पर्यटक मनाङमा पर्खेर बसेका छन। थप हिउँ नपरेको खण्डमा व्यावसायी र गाइड मिलेर बाटो खुलाएर भएपनि ती विदेशीलाई थोराङला पार गराउने तयारी रहेको उनले बताए।
‘मनाङपट्टि मात्र बाटो खुलेर भएन। थोराङला भञ्ज्याङ पार गरेपछि मुस्ताङ ओर्लिन पनि सक्नुपर्छ। हामी मुस्ताङ प्रशासनसँग पनि समन्वय गर्छाै,’ उनले भने, ‘मनाङ र मुस्ताङ दुवैतिर सहज भएपछि मात्र पाहुनालाई पदयात्रामा जान अनुमति दिइन्छ।’ उनका अनुसार अहिले पनि मनाङमा सबैगरि ५ सय जना विदेशी पाहुना पदयात्राको पर्खाइमा छन। करिब डेढसय पाहुना पदयात्रा रोकिएपछि गन्तव्यमा पुग्नै नपाई फर्केको पनि प्रजिअ पौड्यालले बताए।
‘कतिपयको त अन्नपूर्ण क्षेत्र घुम्नका लागि लिएको अनुमतिको म्याद पनि सकिने अवस्था छ। हतार हुनेहरु बीचबाटै फर्केका छन। तिलिचो भन्दा थोराङलातिर उक्लिने विदेशीको आकार बढी छ,’ प्रजिअ पौड्यालले भने, ‘मनाङ र पिसाङतिरै रोकिएका पाहुनाहरु मौसममा सुधार र बाटो खुलाको पर्खाइमा छन।’ उनका अनुसार मनाङमा रहेका कतिपय विदेशी पर्यटकहरु थोराङला भञ्ज्याङ पार गर्नेगरि पदयात्रा खोल्नुपर्छ भनेर एक्यापको चेकपोष्टमा पुगेको भएपनि बाटो सहज नभएकोले उनीहरुलाई मनाङबाट अगाडि बढ्न अनुमति दिइएको छैन।
प्रकाशित: १५ कार्तिक २०८२ १७:३१ शनिबार





