जुम्लामा कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण सुरु गरिएको छ। परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि, श्रम अभाव व्यवस्थापन तथा बाँझिँदै गएका खेतबारी पुनः उपयोगमा ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ जुम्लाले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनिटिलर) उपलब्ध गराउन थालेको हो।
कार्यालय प्रमुख खेमराज शाहीका अनुसार चालु आर्थिक वर्षमा ४६ वटा कृषि समूह, सहकारी, कृषि फर्म तथा उद्यमी छनोटमा परेका थिए। तीमध्ये ४३ जनासँग सम्झौता सम्पन्न भइसकेको छ भने हालसम्म १८ जना कृषकले हाते ट्याक्टर लगिसकेका छन्। कार्यक्रमअन्तर्गत पाँच हर्सपावर पेट्रोल इन्जिन, सात हर्सपावर पेट्रोल इन्जिन र सात हर्सपावर डिजेल इन्जिनयुक्त मिनिटिलर वितरण गरिनेछ।
यो कार्यक्रम जुम्लाका आठवटै स्थानीय तहसँगै कालिकोटको रास्कोट नगरपालिका र तिलागुफा नगरपालिकामा समेत विस्तार गरिएको छ। यसका लागि १२ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ।
हिमाली भूगोल, श्रम अभाव तथा परम्परागत खेती प्रणालीका कारण जुम्लामा खेतीयोग्य जमिन बाँझिँदै गएको छ। खेत जोत्न गोरु पाल्नुपर्ने, मल व्यवस्थापन कठिन हुने र युवा विदेश पलायन हुँदा कृषिमा श्रमिक अभाव बढ्दै गएको छ। यही समस्यालाई सम्बोधन गर्न कृषि यान्त्रीकरणलाई आवश्यक कदमका रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ।
सूचना अधिकारी पदमराज कार्कीका अनुसार हिमाली क्षेत्रमा आधुनिक कृषि उपकरणको प्रयोग अझै न्यून छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाको ३८ हजार ४ सय ८६ हेक्टर खेतीयोग्य जमिनमध्ये १२ हजार ५१ हेक्टर जमिन बाँझो रहेको छ। कृषि यान्त्रीकरणले उत्पादन वृद्धि, श्रम व्यवस्थापन र कृषिलाई व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १७:१३ शुक्रबार





