९ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

निषेधित क्षेत्रको पदयात्रामा जाँदा समूह नचाहिने

गाइड लिएर एक्लै पनि पदयात्रामा जान पाइन्छः विभाग

एकजना गाइडले सातजना भन्दा बढि लैजान नपाइने

उपल्लो मुस्ताङ क्षेत्र। तस्बिरः नागरिक

हिमाली जिल्लाका निषेधित क्षेत्रमा अबदेखि एक्लै पनि पदयात्रामा जान पाइने भएको छ। तर, एक्लै जाँदा पनि साथमा गाइड भने अनिवार्य हुनुपर्नेछ। यसअघि साथमा गाइड भएपनि एक्ला पदयात्री निषेधित क्षेत्रको पदयात्रामा जान पाउँदैनथे। निषेधित क्षेत्रमा समूहमा जानैपर्ने यसअघिको बाध्यकारी नियमले कम्तिमा दुईजना पर्यटक मिलेर पदयात्रामा जाने गरेका थिए।  

एकल रुपमा पदयात्रामा जान चाहने पदयात्रीले अनिवार्य रुपमा पदयात्रा साझेदार खोज्नुपर्ने हुँदा असहज भएको र पर्यटन प्रवद्र्धनमा समेत असर परेको भन्ने गुनासो पर्यटन क्षेत्रबाट आएपनि अध्यागमन विभागले एकजना पदयात्रीलाई समेत पदयात्रा अनुमति प्रदान गर्नेगरि निर्णय गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

‘समूहमा जानैपर्ने बाध्यता अब हटेको छ। अब जो कोही पर्यटक साथमा गाइड लिएर एक्लै पनि पदयात्रामा जान सक्छन। यसअघि साथमा गाइड भएपनि कम्तिमा दुईजना पर्यटक हुनुपर्ने थियो। दुईजनाको साझेदारीलाई समूह भनेर भन्ने गरिएको थियो,’ उनले भने। उनका अनुसार एक्लै पदयात्रामा जाँदा अनिवार्य रुपमा एजेन्सीमार्फत आवेदन दिनुपर्ने, पर्यटकसँग जाने गाइड तोकिनुपर्ने, उद्धार गर्नुपरेमा त्यसको जिम्मेवारी एजेन्जीले लिनुपर्नेगरि निर्णय भएको छ।  

‘समूह भनेर पहिला दुईजनासम्मको अनिवार्य सहभागितालाई भनिएको थियो। तर, समूहमा अधिकतम कति संख्यामा हुने भनेर तोकिएको थिएन,’ उनले भने, ‘एक्लै जान नपाउँदा कतिपय पर्यटक निषेधित क्षेत्रमा जाने इच्छा हुँदाहुँदै पनि रोकिने गरेका थिए। अब त्यो अवस्था रहन्न। साथमा गाइड लिएर एक्लै पनि जान पाइनेछ।’ पर्यटकहरु एक्लाएक्लै पनि नेपाल आउने र निषेधित क्षेत्रमा पदयात्रामा जान इच्छा जनाउने अवस्था रहँदारहँदै पनि समूहमा जानैपर्ने बाध्यता रहेको उनले बताए।

‘समूहमा जानैपर्ने बाध्यताले कतिपय पर्यटकले अपरिचित व्यक्तिसँग साझेदार गर्नुपर्ने हुन्थ्यो। त्यसले यात्रालाई असहज बनाएको थियो,’ तिवारीले भने, ‘तर, अब भने त्यो समस्या टरेको छ। गाइड लिएर एक्लै पदयात्रामा जान पाउने भएपछि निषेधित क्षेत्रमा पर्यटकको संख्या थपिनेछ।’

तिवारीका अनुसार व्यावसायीले कृत्रिम रुपमा समूह खडा गरेर पाहुनालाई पदयात्रामा पठाउने गरेका थिए। ‘फरक व्यावसायीले फरक मुलुकका पाहुनालाई एकै समूहमा गाभेर पठाउँदा देखावटी रुपमा मात्र समूह बन्ने गरेको थियो। कागजमा समूह बनाएपनि कतिपय पर्यटक भिन्दाभिन्दै तरिकाले जाने गरेका थिए,’ तिवारीले भने, ‘यसले पर्यटन क्षेत्रमा सुशासन कायम हुन सकेको थिएन। तर, अब भने सुशासन कायम हुनेछ। यसले पर्यटन प्रवर्द्धन  पनि हुनेछ।’

विदेशी पाहुना एक्लै पनि जान पाउने अवस्थामा पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जना हुने उनले बताए। ‘हिजोका दिनमा समूह बनाउँदा एकजना गाइडको भरमा ३÷४ जना पर्यटक पनि जान्थे। तर, अब समूहमा हिड्न नचाहने पर्यटकले भिन्दाभिन्दै गाइड लिएर जान सक्ने भएका छन,’ उनले भने, ‘यसले पदयात्राका गाइड र सहयोगी कर्मचारीलाई काम दिलाउनेछ। अहिलेसम्म समूहको नाममा जर्बजस्ती कम्तिमा दुईजना पठाउने गरिएको थियो। कागजमा समूह देखाएर जाने बेला एक्लै हुने प्रवृत्ति हटनेछ।’

त्यससँगै विभागले एकजना गाइडले बढिमा सातजना पर्यटकलाई मात्र साथमा लिएर पदयात्रामा जान पाउने गरि संख्या पनि तोकिदिएको छ। यसअघि एकजना गाइडको भरमा ठूलो संख्यामा पर्यटकलाई निषेधित क्षेत्रमा पदयात्रामा लैजाने समेत गरिएको थियो। तर, अब भने बढिमा सातजना पर्यटकलाई मात्र एकजनाले गाइड गर्न पाउनुपर्नेगरि विभागले संख्या तोकिदिएको महानिर्देशक तिवारीले जानकारी दिए।  

‘एउटै गाइडले ५१ जनासम्म पर्यटक संख्यालाई निषेधित क्षेत्रमा लगेको जानकारी विभागसँग छ। एकजना गाइडको भरमा मात्र त्यत्ति धेरै जाँदा पर्यटनमा समस्या हुन्छ। पर्यटकले अप्ठेरा पर्दा सुरक्षा पाउँदैनन,’ उनले भने, ‘तर, अब भने बढिमा सातजना मात्र साथमा हुँदा व्यवस्थापन गर्न पनि गाइडलाई सहज हुनेछ।’  

एकजना गाइडको भरमा एउटै समूहमा धेरै संख्यामा पदयात्रीहरु निषेधित क्षेत्रको पदयात्रामा जाँदा पदयात्रीको सुरक्षामा ध्यान नपुग्ने, पदयात्रीका गतिविधिमा निगरानी गर्न असहज हुने भएकोले बढिमा सातजनाको संख्या तोकेको तिवारीले जानकारी दिए। ‘यो प्रावधानले गाइडको संख्या बढाउँछ। सातजना भन्दा बढी संख्यामा पाहुना भएमा त्यही अनुसार गाइड संख्या बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘एकजनाको भरमा अब धेरै पाहुना निषेधित क्षेत्रमा पठाउन पाइँदैन।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र मुस्ताङको उपल्लो मुस्ताङ क्षेत्र र मनाङको नार र फू निषेधित क्षेत्रमा पर्छन। नेपालमा यस्ता निषेधित क्षेत्र विभिन्न १३ जिल्लामा छन्। एक्याप प्रमुख रविन कडरियाका अनुसार सन् २०२५ मा मुस्ताङको निषेधित क्षेत्रमा मात्र ४ हजार ४ सय ८६ जना विदेशी पाहुना गएका थिए। 

त्यस्तै मनाङको निषेधित क्षेत्रमा भने जम्मा १ हजार ८ सय ४७ जना पर्यटक गएका थिए। ‘विषेश अनुमति लिनुपर्ने भएकोले पनि पर्यटक जान पाएका थिएनन। साथमा गाइड अनिवार्य र अतिरिक्त शुल्क तिरेर मात्र जानुपर्ने भएकोले पनि कतिपय पर्यटक ती क्षेत्रमा जानबाट हच्किने गरेका थिए। अब त्यो समस्या रहन्न,’ कडरियाले भने।  

एक्याप जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताका अनुसार विभागको निर्णयसँगै अब निषेधित क्षेत्रमा भारतीय पर्यटकको संख्या बढ्नेछ। ‘समूहमा जानैपर्ने बाध्यताले भारतीय पाहुनाले बढि प्रभावित भएका थिए। तर, अब भने भारतीय पाहुना पनि सहज जान सक्ने भएका छन। प्रवेश शुल्क मात्र नभई गाइडको प्रावधान र समूहमा जानैपर्ने बाध्यता अब पर्यटकलाई पर्दैन,’ उनले भने, ‘आगामि वर्ष निषेधित क्षेत्रमा जाने पाहुनाको संख्या अहिले भन्दा दोब्बर बढ्ने अपेक्षा छ।’ उनका अनुसार उपल्लो मुस्ताङ पर्ने निषेधित क्षेत्रमा वर्षमा औसतमा ४ हजारको दरले पाहुना पुग्ने गर्छन।  

गत मंसिरमा सरकारले निषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ घुम्न जाने विदेशी पाहुनाले प्रतिदिन ५० अमेरिकी डलरका दरले शुल्क तिर्नुपर्ने गरि नयाँ व्यवस्था लागु गरेको थियो। त्यसअघि विदेशी पाहुनाले कम्तिमा १० दिनको एकमुष्ठ ५ सय डलर तिर्नुुपर्ने बाध्यता थियो। तर, पछिल्लो समय पाहुनाले आफुले बस्न चाहेको दिन अनुसार प्रतिदिन ५० डलरका दरले शुल्क तिरे पुग्ने व्यवस्था गरिएको थियो। दशदिनको अनुमति लिनैपर्ने र एकमुष्ट ५ सय अमेरिकी डलर तिनुपर्ने बाध्यताले विदेशी पाहुना माथिल्लो क्षेत्रमा जान रुचाउँदैनथे।  

पदयात्रा व्यवासायीको छाता संस्था ट्रेकिङ एजेन्जीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थी विभागको निर्णयसँगै निषेधित क्षेत्रको पदयात्रामा जाने एकल पर्यटकको संख्या बढ्ने बताउँछन। ‘अहिलेसम्म समूहमा मात्र जानैपर्ने बाध्यता थियो। तर, अब एकलाएक्लै जानेको संख्याप नि बढ्नेछ। यसले रोजगारी सिर्जनमा पनि सघाउनेछ,’ उनले भने, ‘एकमुष्ठ तिनुपर्ने शुल्कलाई पनि दिनको आधारमा तिर्नपाउने र एक्लै पनि जान पाउने भएपछि यसले पदयात्रा पर्यटनमा राहत दिनेछ।’  

प्रकाशित: ९ चैत्र २०८२ १८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App