१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अर्थ

होमस्टेबाट ‘ब्रान्डिङ’ भएको गाभर भ्याली

कुनै समय बाँकेको चिसापानी गाउँमा सामान्य कृषिकर्म मात्रै गरिन्थ्यो। २०७० सालमा जब यहाँ होमस्टे सञ्चालन गर्न थालियो, गाउँको स्वरूप नै परिवर्तन भयो।

होमस्टेबाट चिनिन थालेको गाभर भ्यालीले देश तथा विदेशमा अहिले आफ्नो ‘ब्रान्ड’ नै बनाइसकेको छ। स्थापनाको १२ वर्ष पुग्दा अहिले यहाँ २६ वटा होमस्टे सञ्चालनमा छन्। गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समिति सक्रिय रहेको छ। यहाँ दिन–प्रतिदिन नयाँ ठाउँका पाहुना आइरहेका छन्।

गाभर भ्यालीमा रहेका ‘२६ युनिट’ ले दैनिक चार सय जना पाहुनालाई बास बसाउन सक्छन्। उक्त होमस्टे बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित छ। ‘प्रकृति संस्कृति र कृषि गरी तीन वटा विषयवस्तुमा पाहुनाका लागि सिकाइको केन्द्रका रूपमा रहेको छ’, गाभर भ्याली होमस्टेका संस्थापक कृष्ण चौधरी भन्छन्, ‘गाभरभ्याली होमस्टेका बारेमा बुझ्न चाहनेहरूका लागि यो खुला विश्वविद्यालय जस्तै स्थापित सिकाइ केन्द्र हो।’

प्रकृतिसँगको सामिप्यतामा रहेर विभिन्न क्रियाकलाप सञ्चालन गरी गाभर भ्यालीमा मनोरञ्जन लिन सकिने यहाँका व्यवसायी बताउँछन्।

‘जिम्मेवार बाघ पर्यटन’

पाटेबाघ संरक्षणमा यस क्षेत्रका स्थानीयले विशेष जोड दिइरहेको बताएका छन्। पाटेबाघबाटै आय, आर्जन पनि गरेका छन्। जिप सफारी, जंगलवाक, चुरे हाइक, मत थेरापी, जंगल बाथिङ, फिस मसाज, नाइट क्याम्पिङ लगायतका क्रियाकलाप गराइन्छ। यस्तै सांस्कृतिक रीतिरिवाज, परम्परा, चालचलन, नाँचगानबारे पाहुनालाई जानकारी गराइन्छ।

यसैगरी होमस्टेमाआउने पाहुनालाई समुदाय–विशेष खानपान गराउने गरिन्छ। कृषि, जैविक विविधता संरक्षणमा समुदायलाई सहभागी गराउने, रैथाने अन्नबाली संरक्षण र प्रवर्द्धन गर्दै किसानलाई प्रत्यक्ष लाभ पुर्‍याउने गरी सामुदायिक जिन बैंक स्थापना गरिएको छ। जस अन्तर्गत अन्नबालीहरूको अनुवांशिक स्रोत, घाँसेबालीको अनुवांशिक स्रोत, पशुपंक्षीहरूको अनुवांशिक स्रोत, जलीयअनुवांशिक स्रोत, सूक्ष्म जीवाणु अनुवांशिक स्रोत लगायत गरी ६ प्रकारका अनुवांशिक स्रोतको संरक्षण र प्रवर्द्धन गरिएको छ।

‘यो अभ्यास नेपालको पहिलो हो, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पछिल्लो समय बीउ बैंक लगायतविभिन्नअनुवांशिक स्रोतको संरक्षण गर्ने गरी जिन बैंक स्थापना गरेको छ, जसअन्र्तगत गाभरमा पनि पहिलो जिन बैंक स्थपना भएको छ,’ चौधरीले थपे। गामर भ्याली होमस्टेमा वार्षिक आन्तरिक र बाह्य गरी ३० हजार पाहुना आउने गरेका छन्।

आफ्नो क्षेत्रमा रहेको पर्यटकीय स्थलको स्थानीय सरकार बैजनाथ गाउँपालिका कार्यालयले पनि प्रवद्र्धन गर्दै आएको छ। गाउँपालिकाले यहाँका पर्यटकीय स्थलको गुरुयोजना समेत निर्माण गरेको छ। भ्याली सामुदायिक होमस्टे प्रवर्द्धन गर्न सडक, बत्ती, पार्क निर्माणमा जोड दिएको छ।

यस्तै गाभर भ्यालीसहित मिनी गाभर सामुदायिक होमस्टे, सुतैया (कन्वाताल), मानसरोवर स्मारक पार्क, थारु भिलेज ग्राम, गिद्देनीताल, सिम्रहवाताल लगायतका धार्मिक, सांस्कृतिक स्थलको प्रवर्द्धनमा अग्रसरता देखाएको छ।

बैजनाथ गाउँपालिका १ का वडाध्यक्ष रूपबहादुर मल्ल गाभर भ्याली होमस्टेले बैजनाथकै पहिचान दिएको बताउँछन्। ‘गाभर भ्यालीले हाम्रो गाउँपालिकाको पहिचान दिएको छ, यसको प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारले आआफ्नो तर्फबाट लगानी गरिरहेका छन्’, उनले भने।

बैजनाथ गाउँपालिकाका कार्यपालिका सदस्य एवम् वन तथा वातावरण समितिका संयोजक मञ्जु ओली बैजनाथको पर्यापर्यटनका लागि विशेषगरी वन र वन्यजन्तु संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक रहेको बताउँछिन्। ‘वन र वातावरण संरक्षण भएपछि मात्र वन्य जन्तुको संख्या बढ्ने हो, वन्यजन्तु हेर्नकै लागि पर्यटकहरू बैजनाथमा घुम्न आउने हुन्,’ उनले भनिन्। गाउँपालिकाले पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम गरिरहेको बताइन्।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाभर भ्याली होमस्टेसहित बैजनाथ क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए। ‘गाभर भ्यालीले आफ्नो ब्रान्ड नै बनाइसकेको छ, यो ठाउँमा अहिले स्वदेशी र विदेशी पर्यटक आउँछन्,’ उनले भने।  

प्रकाशित: २७ आश्विन २०८२ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App