२४ श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

पोखरामा ग्यास सकसः ‘सहज हुँदा बेच्ने, अभावमा लुक्ने’

बजार हिस्सा बढि ओट्ने कम्पनिले नै यो अभावमा ग्यास नै दिएनन्ः प्रशासन

पोखरामा ग्यासका लागि पालो पर्खेका उपभोक्ता। तस्बिरः नागरिक

कास्कीमा विभिन्न १९ वटा उद्योगले ग्यास बिक्री गर्छन। ती मध्ये १७ वटाले मात्र नियमित रुपमा ग्यास आपूर्ति गर्दै आएका छन्। पोखरामा ग्यास बिक्री गर्ने मध्ये दुईवटा उद्योग (शक्ति र गृहलक्ष्मी) पोखरामै संचालनमा छन्। पछिल्लो दुईसातादेखि पोखरामा ग्यासको हाहाकार छ।  

एउटा मात्र ग्यास सिलिन्डर हुने उपभोक्तालाई यतिबेला सबैभन्दा बढि सकस छ। कम आयश्रोत हुने र विद्यार्थी वर्ग यस्तो अवस्थामा सबैभन्दा बढि मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यासमा सबैको पहुँच पुर्याउने भन्दै बजार अनुगमनलाई तिब्रता पनि दिएको छ।

प्रशासनले डिलरबाट सिधै उपभोक्तालाई ग्यास बेच्न नपाउने र स्थानीय पसलबाट मात्र बिक्री गर्न पाउने गरि कडाई पनि गरेको छ। किनकी उपभोक्ता सिधै डिलरमा लाम बस्न पुग्दा पसलसम्म ग्यास पुग्नै नपाएको प्रशासनको ठहर छ। तर, पनि अभाव कम भएको छैन।  

सहज अवस्थामा विभिन्न १९ वटा कम्पनिले पोखरामा ग्यास बिक्री गर्दै आएको भएपनि दुईवटा स्थानीय बाहेक अरु कम्पनिले यो बेला पोखराका लागि पर्याप्त आपूर्ति नदिँदा पोखराको अभावलाई हटाउन नसकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। उनका अनुसार पोखरामा धेरै सिलिन्डर बिक्री गर्ने केही कम्पनिले पछिल्लो समय न्यून मात्रामा आपूर्ति गर्दै आएका छन्। त्यसको मार स्थानीय उद्योगमा परेको उनले बताए। पोखरामा बढि ग्यास बिक्री गर्ने कम्पनि बाबा र नेपाल ग्यासले अहिले तुलनात्मक रुपमा कम ग्यास पठाएको उनले बताए।  

‘पोखरामा मासिक ३० हजार हाराहारीमा ग्यास सिलिन्डर बिक्री गर्ने उद्योगले अहिले निकै नै कम संख्यामा पठाएको छ। त्यसले गर्दा आपूर्ति प्रभावित भएको हो,’ उनले भने, ‘सहज हुँदा धेरै भन्दा धेरै ग्यास बिक्री गर्ने र असहज हुँदा आपूर्तिलाई सहजीकरण नगर्दा यो समस्या भएको हो।’ 

उनका अनुसार पोखरामा मासिक हजारौं सिलिन्डर ग्यास बिक्री गर्ने उद्योगले अहिले निकै नै कम संख्यामा सिलिन्डर पठाउँदा बजारको अभाव टर्न नसकेको हो।  ‘अरुबेला झै सबै कम्पनिले ग्यास पठाइदिने हो भने यहाँ अभाव हुने थिएन। केही कम्पनिले त यो बेला ग्यास नै दिएनन। त्यसको मार उपभोक्तालाई परेको छ। कतिपयले त्यही अप्ठेरोका कारण अरु कम्पनिको सिलिन्डर नै खरिद समेत गर्नुपरेको छ,’ उनले भने, ‘सहज हुँदा पर्याप्त बेच्ने, अभावमा लुक्ने गर्दा समस्या भएको हो।’ पोखरामा ग्यास बिक्री गर्नेजति सबै कम्पनिले पर्याप्त ल्याइदिने हो भने कसैका सिलिन्डर रित्तो नरहने र अहिलेको अभाव टर्ने उनले बताए।  

‘बजारको मुख्य हिस्सा ओगटेको कम्पनिले नै सेवा नदिएपछि स्थानीय उद्योग माथि दवाव भएको हो,’ बरालले भने, ‘स्थानीय उद्योगले मात्र पनि मागको दवाव खेप्न नसक्ने अवस्था आएको हो।’ पोखरामा ग्यास बेच्ने सबै कम्पनिलाई प्रशासनले आपूर्ति बढाउन ताकेता गरेको भएपनि अटेर गरेको उनले बताए।

‘स्थानीय उद्योगले अटेर गरेमा प्रहरी नै पनि खटाउन सकिन्छ। तर, बाहिरी जिल्लाबाट आपूर्ति गर्ने उद्योगले यो बेला ग्यास ल्याइदिएनन। हामीले बारम्बार ताकेता गर्दा पनि अटेर गरेका छन। अब, सम्बन्धित जिल्ला प्रशासनमार्फत समन्वय गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘सहज हुँदा बजार बिस्तार गर्ने, तर, अभावका बेला लुक्ने गर्दा यो समस्या भएको हो। सहज हुँदा पर्याप्त ग्यास दिए, अहिले अभावका बेला सम्पर्कमै आउन चाहेनन।’

एलपी ग्यास बिक्रेता संघ कास्कीका नारायण दाहालले पनि कतिपय कम्पनिले पोखरामा तुलनात्मक रुपमा कम आपूर्ति गर्दा अहिलेको अभाव टर्न नसकेको बताए। उनक अनुसार पोखरामा धेरै ग्यास बिक्री गर्ने बाबा कम्पनिले अहिले अरुबेलाको तुलनामा कम आपूर्ति दिएको छ। त्यस्तै नेपाल ग्यास कम्पनिले पनि थोरै मात्र ग्यास पठाएको छ।  

‘सहज हुँदा ती कम्पनिले पोखरामा धेरै भन्दा धेरै सिलिन्डर ग्यास बिक्री गरे। अहिले अभावका बेला आपूर्ति कम भएकै हो,’ उनले भने, ‘ती कम्पनीले पर्याप्त ग्यास पठाएको भए बजारमा अभाव हुने थिएन। तर, सहज हुँदा पर्याप्त बिक्री गरे। ती कम्पनिका हजारौं सिलिन्डर अहिले खालि रहन जाँदा अभाव निम्तिएको हो।’ बजारको मुख्य हिस्सा ओगट्ने कम्पनिले अभावका बेला आपूर्ति नदिएपछि अभाव टर्न नसकेको उनले बताए। ‘अहिले केही सहज हुँदै गएको छ। अबको एकसातामा अभाव टर्ने अपेक्षा छ,’ उनले भने।  

पोखराकै एक ग्यास उद्योगका उच्च अधिकारीले पनि बाहिरबाट आयात गर्ने कम्पनिले यो बेला पोखराका लागि ग्यास नदिँदा त्यसको दबाव स्थानीय उद्योगमाथि थपिएको बताउँछन्। पोखरामा १७ वटा कम्पनिले नियमित रुपमा ग्यास बिक्री गरेको भएपनि सबै कम्पनिले अरु समयमा जस्तो माग अनुसार पोखरामा ग्यास नपठाएको उनले बताए।  

‘सहज हुँदा पोखरामा बजार बिस्तार गरेका कम्पनिले अहिले अभावका बेला ग्यास ल्याइदिएनन,’ उनले भने, ‘त्यसले गर्दा उपभोक्ताको दवाव स्थानीय दुईवटा उद्योगमाथि थपिएको छ। १७ वटै कम्पनिले केही समयका लागि पोखरामा पर्याप्त ग्यास आपूर्ति गरिदिने हो भने अहिलेको अभाव टर्छ।’ 

मागेको बेला ती कम्पनिको ग्यास नपाएपछि स्थानीय उद्योगमाथि दवाव थपिएको उनले बताए। ‘अभावका बेला पनि सहजीकरण गरिदिनुपर्छ। यति ठूलो बजारमा अभाव बेला आपूर्ति घटाएर भन्दा पनि सहज बनाउने हो। सहज हुँदा मात्र सेवा दिएर हुँदैन, अभावमा पनि सहजीकरण गर्नुपर्छ,’ उनले भने।  

पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति कम्पनिले लेखनाथ क्षेत्रमा आफ्नै प्लान्टमार्फत पोखरामा ग्यास भरेर बजारमा पठाउँछन। यी बाहेक अरु कम्पनिले पनि पोखरामा ग्यास बिक्री गर्छन। पोखरामा जाडोको बेला मासिक डेढलाख र गर्मीको बेला मासिक १ लाख ४० हजार हाराहारीमा ग्यास सिलिन्डर खपत हुन्छ। पर्यटकीय क्षेत्र लेकसाइडमा सबैभन्दा बढी संख्यामा ग्यासको खपत हुन्छ।

प्रकाशित: २४ श्रावण २०८३ १७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App