२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

बाख्रापालनमा जमेका चन्द दम्पती, पाँच लाख आम्दानी

गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका–९ का खेमबहादुर चन्दका दम्पती भने कृषि र पशुपालनमा जमेका छन्।

चन्द दम्पतीले कृषि र पशुपालनमा आफूलाई स्थापित गर्दै लगेका छन्। वडा नं ९ मा खेमबहादुर चन्द र रिजना चन्दले विसं २०७७ देखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म गर्दै आएका छन्। अरुणोदय मावि खैरीफाँटाको आठ बिघा १६ कट्ठा जमिन लिजमा लिएर उनीहरूले बाख्रापालन गरिरहेका छन्। अहिले उनीहरूको खोरमा ७५ बाख्रा छन्। चन्द दम्पतीले बाख्रापालनबाट वार्षिक रु पाँच लाखसम्म कारोबार गर्ने गरेका छन्। यसबाहेक सिजनअनुसारको खेतीपातीबाट समेत आम्दानी हुने गरेको उनीहरू बताउँछन्।

सुरुमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन्। ‘बाख्रापालन गर्दा विगतजस्तो चराउने चरन छैन, बाँधेर बाख्रा पाल्दा बढी मेहनत गर्नुपर्छ,’ खेमबहादुरले भने, ‘सामुदायिक वन उपभोक्ताले संरक्षण थालेपछि बाख्राका लागि चरन अभाव छ। बाँधेर पाल्दा दाना र घाँस बढी चाहिन्छ।’ 

यो पेसाबाट जीवन चलाइरहेका चन्द दम्पतीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि सघाएको छ।

‘हामीजस्ता वास्तविक किसानलाई अनुदान सहयोग हुनुपर्छ। आयोजनाले गरेको सूचनाअनुसार सहयोग लिइरहेका छौं,’ रिजना चन्दले भने, ‘आयोजनाले खोर सुधार, खोर मर्मतमा सघाएको छ। घास काट्ने मेसिन, बोका सहयोग पाएका छौं।’ 

विभिन्न पालिकाले किसानलाई वितरण गर्न यहीबाट बाख्रा लिन थालेपछि उनीहरूले उत्पादन बढाउन थालेका हुन्। बजारको अभाव नभएपछि उनीहरूको ध्यान उत्पादनमा मात्र छ। यतिखेर उनीहरूको फार्म हेर्न स्थानीय कृषकहरू आउने गरेका छन्। लिजमा लिएको यो जमिनमा घाँसखेती र अन्य अन्नबाली लगाउने गरेका छन्। यहाँ भएका बाख्रा स्थानीयस्तरमा पाइने जातकै छन्। बोका भने सिँचाइ आयोजनाले बयर जातको दिएको रिजनाको भनाइ छ।

सुरुमा बाख्रा पाल्दा रोग लाग्दा समस्या झेलेका चन्द दम्पतीले आजभोलि बाख्रा बिरामी हुँदा खुवाउने औषधि र रोग बारे बुझेको बताउँछन्। ‘पशुपालन गर्दा हुने क्षतिबाट जोगिन बाख्राको बिमा गर्ने गरेका छौं, पहिलो वर्ष ज्ञान नहुँदा क्षति बेहोरेका छौं,’ खेमबहादुरले भने, ‘अब त कुन रोग लाग्यो भनेर सामान्यतया अड्कल पनि गरिहाल्छौं, अहिले त सजिलोसँग बूढाबूढी मिलेर काम गरिरहेका छौं।’

यो बाख्रापालन र कृषि कर्मको आम्दानीबाट चन्दका छोरा कृषि विज्ञान स्नातक तह अध्ययन गरिरहेका छन्। बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाएको खेमबहादुरको भनाइ छ। बाख्रापालन गरेर छोराको पढाइ खर्च, घर खर्च सबै सहजै चलेको उनले बताए।

सिँचाइ आयोजनाका पशु प्राविधिक पुष्पराज भारती चन्द दम्पतीले मेहनतअनुसारको फल लिइरहेको बताउँछन्। ‘मेहनत गरेर पेसामा टिकेका छन्,’ उनले भने, ‘बाख्रापालनसँगै खेतीपाती पनि गरिरहेकाले उनीहरूलाई यो पेसामा टिक्न सहज भएको छ।’ 

यस क्षेत्रका महिला पुरुष पछिल्लो समय रोजगारीका लागि भारतको बैंग्लोर जाने गरेका छन्। यसरी जाने परिवारले सामान्यतया मासिक ३०/३५ हजार भारतीय रूपैयाँ कमाउने गरेका छन्। यतिखेर यस क्षेत्रका नेपाली दम्पती सयौंको संख्यामा बैंग्लोरमा गएका छन्। रासस

प्रकाशित: २८ असार २०८२ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App