१ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

मनास्लु क्षेत्रमा विदेशीः कोरोनाको असर बिर्साउने आकार

आर्थिक वर्ष २०८१/८२ मा १२ हजार २ सय ४८

मनास्लु क्षेत्रमा पुगेका विदेशी पर्यटक खाना खाँदै। तस्बिर सौजन्यः एमक्याप

कोरोना भाइरसको प्रभाव बिर्साउने गरि गोरखाको मनास्लु क्षेत्रको भ्रमणमा विदेशी पदयात्री पुगेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार कोरोना भाइरस संक्रमण अघिको भन्दा झन्डै दोब्बर संख्यामा विदेशी पाहुना मनास्लु क्षेत्रको पदयात्रामा पुगेका छन्।  

एमक्यापका प्रमुख सन्तोष शेरचनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सबैगरि १२ हजार २ सय ४८ जना विदेशी पर्यटक मनास्लु क्षेत्रमा पुगेका छन। यो संख्या कोरोना संक्रमण सुरु हुनुअघि आर्थिक वर्ष २०७६/७७ मा जम्मा ७ हजार ६ सय थियो।

‘कोरोना संक्रमणले सर्वत्र असर पार्दा पर्यटन क्षेत्र पनि जोगिन सकेको होइन, तर, कोरोना ताका ओरालो लागेको पर्यटन पछिल्लो समय तिब्रगतिमा उकालो लागेको छ,’ शेरचनले भने, ‘मनास्लु क्षेत्रमा पर्यटकीय गतिविधिमा कोरोना अघि भन्दा निकै नै सुधार भएको छ।’ मनास्लु हिमाल आरोहण र पदयात्राका लागि भनेर विदेशी पर्यटक भित्रिन्छन। आन्तरिक र सार्क मुलुकका विदेशी भन्दा पनि तेश्रो मुलुकका पाहुनाको आकर्षण मनास्लु क्षेत्रमा बढी छ।’

अन्नपूर्ण क्षेत्रमा भारतीय पर्यटकको आकर्षण बढी भएपनि मनास्लु क्षेत्रमा भने भारतीय पर्यटक निकै नै कम संख्यामा जान्छन। आर्थिक वर्ष २०८१/८२ मा मनास्लु क्षेत्रमा पुगेका मध्ये जम्मा २ सय ५३ जना भारतीय पर्यटक थिए। बाँकी सबै तेश्रो मुलुकका विदेशी आएको शेरचनले बताए। भारतीय पर्यटक पदयात्रामा कमै जाने भएकोले पनि मनास्लु क्षेत्रमा तेश्रो मुलुकका पाहुनाको आकार बढी देखिएको उनले बताए।  

अन्नपूर्ण क्षेत्रमा भारतीय धार्मिक पर्यटक जाने भएकोले अन्नपूर्णमा भारतीयको आकार ठूलो हुने गर्छ। अन्नपूर्ण क्षेत्रमा पर्ने मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न ठूलो संख्यामा भारतीय पर्यटक आउँछन। 

शेरचनका अनुसार मनास्लु क्षेत्र अन्नपूर्णको तुलनामा बढी साहसिक पनि छ। त्यसबाहेक मनास्लुको माथिल्लो क्षेत्रमा जाँदा विदेशी पर्यटकले नियमित प्रवेश शुल्क बाहेकको अतिरिक्त शुल्क पनि तिर्नुपर्छ।  

एमक्यापका अनुसार कोरोनाका प्रभावका कारण आगमनमा गिरावट आउँदा मनास्लु क्षेत्रमा आर्थिक वर्ष २०७७/७८ मा जम्मा १ सय ९४ जना विदेशी पर्यटक पुगेका थिए। त्यो संख्या आर्थिक वर्ष २०७८/७९ मा २ हजार २ सय ८२ जना पुगेका थिए। आर्थिक वर्ष २०७९/८० मा भने मनास्लु क्षेत्रमा जाने विदेशीको संख्या ७ हजार ७ सय ५ पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा भने आगमन अझै बढेर ९ हजार ७ सय ८३ पुगेको एमक्यापको भनाई छ। कोरोना अघिको आगमनको आकार दुईवर्ष अघि नै नाघिसकेको पनि शेरचनले बताए।  

एमक्याप प्रमुख शेरचनका अनुसार मनास्लु क्षेत्र जाने विदेशी पर्यटकमध्ये केहीले पदयात्रा मात्र गर्छन भने कतिपयले मनास्लु हिमाल आरोहण पनि गर्छन। मनास्लु हिमाल आरोहण गर्न आउने पर्यटकको संख्या पनि अधिक नै हुने उनले बताए। उनका अनुसार पदयात्रामा आएका विदेशीहरुमध्ये कतिपयले मनास्लु क्षेत्रको पदयात्रा पुरा गरेर फर्किन्छन भने कतिपयल मनास्लुको पदयात्रा पुरा गरेर अन्नपूर्ण पदमार्गमा भेटिने गरि मनाङको धारापानी निस्क्छन।  

मनास्लु क्षेत्रमा चुम भ्याली र नुब्री भ्यालीको पदयात्रा हुन्छ। शेरचनका अनुसार नुब्री भ्यालीको पदयात्रामा गएका पर्यटकहरु लार्केपास गरेर मनाङको धारापानी ओर्लिन्छन। मनास्लु क्षेत्रका दुुइवटै उपत्यकाको पदयात्रा अवधि एक–एकसाता रहेको पनि उनले बताए। ‘दुइसाताको पदयात्रा गर्ने हो भने समग्र मनास्लु क्षेत्र पुरा हुन्छ। तर, कतिपय क्षेत्र अर्ध निषेधित क्षेत्रमा पर्ने भएकोले पनि पर्यटकले एउटा मात्रै रुटको पदयात्रा गर्ने पनि हुन्छन्,’ शेरचनले भने।

एमक्याप प्रमुख शेरचनका अनुसार मनास्लु क्षेत्रमा बढीमात्रामा जर्मनी र फ्रेन्च पर्यटक पदयात्राका लागि जान्छन। मनास्लु क्षेत्रमा पदयात्रामा जाँदा विदेशी पर्यटकले दुई तरिकाबाट प्रवेश अनुमति लिन सक्छन। काठमाडौं वा पोखराबाट अनुमति लिँदा सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति १ हजार र अरु तेश्रो मुलुकका विदेशीले भने प्रतिव्यक्ति ३ हजार रुपैयाँ तिर्नुपर्छ। तर, मनास्लु क्षेत्रमै पुगेर अनुमति लिएमा सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति २ हजार र अरु तेश्रो मुलुकका पर्यटकले ६ हजार रुपैयाँ तिर्नुपर्छ।  

प्रकाशित: ६ श्रावण २०८२ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App