खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ। कम्पनीले मंगलबारदेखि धनगढीबाट धान खरिद प्रक्रिया सुरु गरेको हो।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले मंगलबारबाट धान खरिद प्रक्रिया सुरु भएको बताए। पश्चिमबाट धान खरिद प्रक्रिया सुरु भएसँगै अब विस्तारै ठाउँ अनुसार खरिद प्रक्रिया सुरु गर्दै लैजाने उनले बताए।
कम्पनीले यस वर्ष १३ वटा खरिद केन्द्रबाट धान खरिद प्रक्रिया सुरु गरेको छ। कम्पनीले खरिद केन्द्र निक्र्यौल गरेसँगै कोटासमेत निर्धारण गरेको छ। कम्पनीले यस वर्ष बिर्तामोडलाई धान खरिदका लागि आठ हजार क्विन्टल कोटा निर्धारण गरेको छ भने क्रमशः विराटनगरलाई १३ हजार क्विन्टल, लाहानलाई सोना मन्सुली धान १२ हजार क्विन्टल र बासमती धान दुई हजार क्विन्टल, जनकपुरलाई १३ हजार क्विन्टल, वीरगन्जलाई १० हजार क्विन्टल र भैरहवालाई पाँच हजार क्विन्टल कोटा निर्धारण गरेको छ।
यसैगरी नेपालगञ्जलाई मध्यम धान पाँच हजार क्विन्टल र मोटा धान १५ हजार क्विन्टल, राजापुरलाई मोटा धान २५ हजार क्विन्टल र मध्यम धान पाँच हजार क्विन्टल, तुलसीपुरलाई पाँच हजार क्विन्टल, जुम्लालाई पाँच सय क्विन्टल र पोखरालाई पाँच सय क्विन्टल कोटा निर्धारण गरेको जनाइएको छ।
यस्तै धनगढीमा सबै भन्दा बढी कोटा निर्धारण गरिएको छ। जसमा धनगढीलाई ३५ हजार क्विन्टल र महेन्द्रनगरलाई पाँच हजार क्विन्टल कोटा निर्धारण गरिएको छ भने खरिद विभागमा २१ हजार क्विन्टल कोटा रिजर्भ (सञ्चय) गरिएको कम्पनीले जनाएको छ। कम्पनीले यस वर्ष एक लाख ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका कार्यालय प्रमुख दिपक थापाले मंगलबारदेखि ६ वटा खरिद केन्द्रबाट आफूहरूले धान खरिद प्रक्रिया सुरु गरेको बताए।
उनका अनुसार धनगढीको मोहनपुर, गौरीगंगा, टिकापुर, सत्ती, भजनी र जोशीपुरबाट धान खरिद प्रक्रिया सुरु भएको छ। आफूहरूले खरिद प्रक्रियाको तयारी सुरु गरेसँगै अब विस्तारै किसानले धान बिक्रीका लागि ल्याउने उनले बताए। आफूहरूलाई निर्धारण गरेको कोटा अनुसार धान खरिद भए थप कोटा निर्धारण हुन सक्ने उनको भनाइ छ।
खाद्य कम्पनीले ढिलोगरी धान खरिद गर्दै कतिपय किसानले सस्तो मूल्यमै व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका थिए भने केही किसानले खाद्य व्यवस्था कम्पनीलाई कुरेर बसेका थिए।
सरकारले यस वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य ३६२८.३३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भने मोटा धानको मूल्य प्रतिक्विन्टल ३४६३.८१ रुपैयाँ तोकेको छ।
प्रकाशित: १२ कार्तिक २०८२ ११:३८ बुधबार





