१ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

खाद्यले दुई लाख क्विन्टल धान खरिद गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दुई लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीले लक्ष्य निर्धारण गरेसँगै कात्तिक दोस्रो साताबाट धान खरिद प्रक्रिया सुरु गरिने भएको छ।

कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार दोस्रो सातादेखि धनगढीबाट धान खरिद प्रक्रिया सुरु हुने छ। त्यहाँ खरिद प्रक्रिया सुरु भएपछि विस्तारै अरू ठाउँबाट पनि खरिद गर्ने तयारी रहेको उनले बताए। उनले भने, ‘धान खरिदका लागि अहिले १३ ठाउँ निर्क्याैल गरिसकेका छौं र यो आवश्यक भएअनुसार थप हुन पनि सक्छन्।’

सरकारले यस वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य ३६२८.३३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भने मोटा धानको मूल्य प्रतिक्विन्टल ३४६३.८१ रुपैयाँ तोकेको छ।

खरिद विभाग प्रमुख पौडेलले यस वर्ष ५० देखि ६० हजार क्विन्टलसम्म धान खरिदका लागि धनगढीलाई कोटा निर्धारण गर्ने तयारी गरिएको बताए। उनका अनुसार धनगढीमा कोटा निर्धारण भएपछि मात्रै अरू ठाउँमा के कति कोटा राख्ने भने विषयमा टुंगो लाग्ने छ। लक्ष्य अनुसार धान खरिद भए ३० देखि ४० प्रतिशत लक्ष्य बढाएर भए पनि धान खरिद गर्ने तयारीमा आफूहरू रहेको उनले बताए।

उनले भने, ‘अहिले हामीसँग चामल स्टक भएको अवस्था पनि छ। अहिले अलिकति स्टक आउट गर्दै त्यही अनुसार कोटा थप्दै लैजान्छौं।’ धानको उत्पादन नै कम भएकाले गर्दा भारतबाट चामल आयात नगर्दासम्म हामीलाई पुग्ने अवस्था अझै नरहेको उनको भनाइ छ।

‘अहिले खुला बजार भएकाले उताबाट आइराख्या छ। नेपालमा जे जति उत्पादन हुन्छ, त्यो यहाँभित्रै खपत हुने हो। त्यसैलै आयात नगरिकन यहाँकैले मात्रै पुग्ने अवस्था छैन। आयात त अनिवार्य नै देखिन्छ’, उनले भने।

गत वर्ष भारतले चामल निर्यातमा आंशिक बन्देज लगाएसँगै कोटा तोकेर मात्रै निर्यात गर्न दिइँदा यहाँ चामल नपुग्ने भएपछि सरकारको समर्थन मूल्यभन्दा बजार मूल्य बढी भएकाले गर्दा गत वर्ष कोटा अनुसार धान खरिद हुन नसकेको उनले बताए।

उनका अनुसार यस वर्ष भारतबाट चामल आयात खुला गरिएकाले गर्दा निजीक्षेत्रका व्यापारी र खाद्यसँग पनि प्रशस्त मात्रामा चामल मौजदात छ। किसानले पनि समर्थन मूल्यमै धान बिक्री गरे भने कोटा अनुसारनै धान खरिद हुने उनले बताए।

गत वर्ष सुरुवाती कोटा तीन लाख भए पनि पछि खाद्यले कोटा बढाउँदै सात लाखसम्म निर्धारण गरेकामा एक लाख १८ हजार आठ सय २१ क्विन्टल धान मात्रै खरिद भएको कम्पनीले जनाएको छ।

गत वर्ष सरकारले मध्यम धानको न्यूनतम समर्थन मूल्य ३४१०.५१ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो भने मोटा धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ तोकेको थियो।  

प्रकाशित: २६ आश्विन २०८२ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App